‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिकन भिषाको सेरोफेरो
काठमाडौँ । अमेरिकाको भिषा लागेको रेशम र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको ’फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक सिनेमाको ३ मिनेट ७ सेकेन्डको टिजरले सिनेमा हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।
ट्रेलर हेर्दा झन्डै १० वर्ष अगाडि रिलिज भएको सिनेमाको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । सिनेमाले त्यति बेला हरिया पात्रलाई लोकप्रिय बनाएझैँ यस पटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यस पटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना ट्रेलरले दिएको छ । संमग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झन्डै तीन दर्जन बढी पात्रको सेरोफेरोमा घुम्ने सिनेमाको परिस्थितिजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलर देखाएको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको पनि अभिनय छ ।
सुसन प्रजापतिको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।