अमेरिकामा रहेका कागज पत्र विहीन आप्रवासीलाई स्व-निर्वासन अभियान चलाइने
पेन्सिल्भेनिया/ अमेरिकाले कागज पत्र विहीन आप्रवासीलाई स्व-निर्वासन अभियान चलाउने घोषणा गरेको छ।
अमेरिकी गृह सुरक्षा (डीएचएस) मन्त्री क्रिस्टी नोएमले सोमवार सो घोषणा गरेकी हुन्। उनले कागज पत्र विहीन आप्रवासीले आफै अमेरिका छोडे पुन वैधानिक रुपमा अमेरिका आउने सम्भावना जीवितै रहने भन्दै चेतनामूलक विज्ञापन अभियानको घोषणा गरेकी हुन्।
डीएचएस अन्तर्गत सार्वजनिक मामिला कार्यालयद्वारा सोमवार जारी विज्ञप्ति अनुसार बहु-मिलियन डलरको विज्ञापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने छ।
‘अवैध विदेशीहरूलाई स्व-निर्वासन र बाहिर रहन चेतावनी दिँदै राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय विज्ञापन अभियानको घोषणा गरिएको छ।‘विज्ञप्तिमा भनिएको छ।
मन्त्री क्रिस्टीले अवैध रुपमा अमेरिका नआउन र कागज पत्र विहीन अवस्थामा अमेरिकामा रहेकालाई फर्कन चेतावनी दिँदै त्यस्तो विज्ञापनको गरिएको जनाइन्।
अन्तर्राष्ट्रिय विज्ञापनमा आपराधिक, अवैध विदेशीहरूलाई अमेरिका नआउन र यसको कानून नतोड्न भनिने छ। विज्ञापनहरूको श्रृंखला रेडियो, प्रसारण र डिजिटल माध्यमबाट प्रकाशन तथा प्रशारण गरिने छ।
‘धेरै देशहरू र क्षेत्रहरूमा विभिन्न भाषामा विज्ञापन गरिने छ। ‘विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापनहरू सामाजिक सञ्जाल मार्फत अमेरिकाको भित्री भागमा रहेका अवैध आप्रवासीहरूका साथै अन्तर्राष्ट्रिय रूपमा पुर्याइने छ।‘
“राष्ट्रपति ट्रम्पको स्पष्ट सन्देश छ: यदि तपाईँ यहाँ अवैध रूपमा हुनुहुन्छ भने, हामी तपाईँलाई खोज्नेछौँ र देश निकाला गर्नेछौं। तपाईँ कहिल्यै फर्कनुहुनेछैन।‘ मन्त्री क्रिस्टीले भनिन्, ’तर यदि तपाईँ अहिले नै जानुभयो भने, तपाईँसँग फर्कने र हाम्रो स्वतन्त्रताको आनन्द लिने र अमेरिकी सपना बाँच्ने अवसर हुन सक्छ।‘
उनले अवैध रुपमा अमेरिका प्रवेश गर्ने र अपराधीलाई नछोड्ने बताइन।
“यदि तपाईँ अवैध रूपमा अमेरिका प्रवेश गर्ने विचारमा वा अपराधी विदेशी हुनुहुन्छ भने: यसको बारेमा सोच्नु पनि पर्दैन। यदि तपाईँ यहाँ आउनुभयो र हाम्रो कानून तोड्नुभयो भने, हामी तपाईँलाई खोज्नेछौँ। अमेरिकामा अपराधीहरूलाई स्वागत छैन।” मन्त्री क्रिस्टीले भनिन्।