बाना अध्यक्षमा हिरा गुरुङको फेरि उम्मेदवारी
बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) आगामी नेतृत्वका लागि हिरा गुरुङले पुन दावेदारी प्रस्तुत गरेका छन्। बानाका पूर्व वरिष्ठ उपाध्यक्ष हिरा गत निर्वाचनमा अध्यक्ष पदमा सुबोध विलास पन्त सँग पराजित भएका थिए।
तत्कालिन संस्थापन समूहबाट विद्रोह गरेका हिरालाई त्यस समय नेपाली मुलका पहिलो अमेरिकन डेलिकेट ह्यारि भण्डारी, र साथी बाल्टिमोरका पूर्व अध्यक्ष रमेश भट्टको साथ रहेको थियो। रोचक कुरा यस पटक भण्डारीका सहोदर भाइ कोशिस भण्डारी र रमेशकी भाइटिका लगाउने दिदी लक्ष्मी भारती आफै अध्यक्षका उम्मेदवार छन्।
लक्ष्मीले गत चुनावमा हिराकै टिमबाट वरिष्ठ उपाध्यक्ष जितेकी थिएन्।
लामो मौनता साधेका हिराले शनिवार सामाजिक सञ्जाल मार्फत पुन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुने। यो सँगै बानाको निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नेको संख्या चार पुगेको छ। बानाको भावी अध्यक्षका लागि सबै भन्दा पहिला जीतेन्द्र गुरुङले उम्मेदवारी घोषणा गरेका थिए।
अप्रिल ६ तारिख हुने बाना निर्वाचनका लागि फेब्रुअरी २३ तारिख मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। बानामा अहिले पाँच हजार भन्दा धेरै सदस्य छन्।
हिराले बानालाई एकताबद्ध बनाउन अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।
‘संस्थालाई अझ व्यापक,गोलबद्ध,एकताबद्ध र सबै संघस्स्थाहरूलाई मिलाएर सशक्त अगाडी बढाउनको लागि लामो समय संस्थाको अनुभवको आधारमा बानाको आगामी नेतृत्वको लागि उम्मेदवार दिने घोषणा गरेको छु।’ हिराले सामाजिक सञ्जालमा लेखेका छन्।
स्रोतका अनुसार हिरा यस पटक संस्थापन पक्षको आधिकारिक उम्मेदवार हुन प्रयासरत रहेका छन्। तर अघिल्लो निर्वाचनमा एक पटक वरिष्ठमा नै दोहोराउन अनुरोधलाई लत्त्याएका हिरालाई पुन आधिकारिक उम्मेदवार बनाउन संस्थापन पक्षले हिचकिचाहट गरिरहेको छ।
‘हामीले एक पटक कुरौँ अर्को पटक तपाई नै हो भनेका थियौ तर खै को कसले उचाले उहाँ सुबोध पन्त सँग चुनाव लड्नु भयो र हार्नु भयो, हिजो हामी विरुद्ध उहाँलाई जो जसले उचाले आज तिनीहरूले आ आफ्नो उम्मेदवार बोकेका छन्। ‘ नाम उल्लेख नगर्ने शर्तमा संस्थापन पक्षका एक नेताले समाज टाइम्स सँग भने, ‘हामीले हिराजीलाई हिजो जो जसले तपाईँलाई उचालेका हुन यस पटक सबै भन्दा पहिला तिनीहरूको समर्थन ल्याउनुस् हामीलाई आपत्ति छैन भनेका छौ।’
ती नेताले भने, ‘हिरा जीले हाम्रो कुरा सुनिदिएको भए न त त्यो बेला चुनाव हुन्थ्यो न त अहिले उहाँलाई कसैले रोक्न सक्थ्यो। गल्ती उहाँ कै थियो।’