नेपालीलाई अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर डिपोर्ट गर्न सक्छ : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकामा रहेका नेपालीहरू धमाधम नेपाल फर्काउन सक्ने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले त्यहाँ रहेका नेपालीलाई अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर डिपोर्ट गर्न लागेको बताएका हुन् ।
उनले भने, ‘विश्वको जुनसुकै कुनामा बसेको भए पनि बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबै नागरिकले उपयोग गर्न पाउनुपर्छ । तर अमेरिकाले भारतीय नागरिकहरूलाई हात खुट्टामा नेल, हतकडी र जन्जिर लगाएर मर्यादाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता अर्थात् डिपोर्ट गर्ने कार्यले अमेरिकाको घोर अमानवीय मानव अधिकारको विरोध हर्कत हो ।’
‘नेपालका कयौँ नागरिक गैर कानुनी रुपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकाले नेल, हतकडी र जन्जिर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्न सक्छ । त्यसैले यदि अमेरिकामा गैर कानुनी तवरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले यसबारेमा सरकारको बेलैमा ध्यान जान जरुरी रहेको बताए । उनले यसमा सरकारको ध्यान नगए नेपालको प्रतिष्ठामाथि प्रश्न उठ्ने बताए ।