फ्रेब्रुअरीको कठ्याङग्रीदो चिसो, चिनियाँ नयाँ वर्ष र नेपाली पोशाकमा नृत्य

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ झन्डै तीन साता सम्म हिउँको सिरक ओडेको ल्यानक्यास्टरमा जमिन देखिन थालेको केही दिन मात्र भएको छ । दुई खेप गरी परेको हिउँले जनवरीको तीन साता ल्यानक्यास्टर सेताम्मे बन्यो। अघिल्ला वर्षको तुलनामा ल्यानक्यास्टरलाई यस पटक हिउँले अलिक बढी समय ढाक्यो।
शुक्रवार र शनिवारको मौषमले ल यो पटक जाडो त चाडै सकियो क्यार भन्ने भान भएको थियो। तर आइतबार ठिक उल्टो भयो। दिन घमाइलै भए पनि चिसो मुटु छुने खालको थियो।
पेन्सिल्भेनियाको ल्यानक्यास्टर सिटी अमेरिकाकै पुरानो मध्येको एक हो। चार वर्ष पछि तेस्रो शताब्दी मनाउने तयारी गरेको ल्यानक्यास्टरलाई आमिस काउन्टी पनि भनिन्छ। सन् १७२९ मा बनेको ल्यानक्यास्टर गृह युद्धको समयमा एक दिनका लागि अमेरिकाको राजधानी समेत बनेको इतिहास छ।
अमेरिकाका १५ औ राष्ट्रपति जेम्स बुकाननले देह त्याग गरेको ल्यानक्यास्टर सिटीको मध्य भागमा केही वर्ष यता चिनियाँ नयाँ वर्ष लुनारको अवसर पारेर विषेश कार्यक्रम गरिँदै आएको छ। र पछिल्लो तीन वर्ष देखि त्यहाँ नेपाली कला र संस्कृतिले पनि प्रवेश पाएको छ। र यस पटक पनि त्यसलाई निरन्तरता दिने कार्यक्रम थियो।
फ्रेब्रुअरीको कठ्याङग्रीदो चिसोको बेपर्बाह गर्दै सिटी लाइबेरीको अगाडि काउन्टी गभर्मेन्ट भवनको स्टेजमा एक पछि अर्को कार्यक्रम हुँदै थियो।
त्यही बिचमा छिट्को गुन्यो, कम्मरमा निलो पटुकी, कालो रङ्गको मखमली चोलो, घलेक ओडेका र नौगेडी माला लगाएका तीन बालिका स्टेजमा आए। डाउन ज्याकेट लगाएका दर्शक जाडोले कापी रहेका थिए। तर स्टेजमा गुरुङ पोशाकमा सजिएका नेपाली भाषी बालिकाहरू बेजोडले आफ्नो प्रस्तुति दिँदै दिए।
‘हात खुट्टाले केही फिल नै गरेको छैन’ ११ वर्षकी जेनिसा ढकाल नृत्य पछि दर्शक दीर्घामा रहेका आफ्ना अभिभावक समक्ष आउँदै भन्दै थिएन । तर उनको अनुहारमा मुस्कान प्रस्ट देखिन्थ्यो।
चिसोको सेकाइ भन्दा पनि उनलाई पहिलो पटक धेरै दर्शकको अगाडि नृत्य गर्न पाउँदाको खुसी मिठो थियो।
जेनिसाकी दिदी १४ वर्षीय जेसिकाले पनि जाडो भए पनि दर्शकले रमाइलो मानी आफ्नो प्रस्तुति हेरिदिएकोमा खुसी भएको बताइन ।
‘मैले थोरै थोरै दर्शक भएको ठाउँमा मात्र नाच्दै आएकी थिए, यति धेरै मान्छेका अगाडि नाच्न पाउँदा खुसी लाग्यो, त्यो भन्दा खुसी अर्को समुदायलाई हाम्रो संस्कृति देखाउन पायौ त्यसले गर्दा जाडो भूले।’ जेसिकाले भनिन्।

जेसिका र जेनिसाका पिता गजन ढकालले पनि चिसो बिर्सिएर छोरीहरूको प्रस्तुति हेरेको बताए।
‘यी दुवै जनाले यस्तो ठूलो ठाउँमा नृत्य गरेको पहिलो पटक हो, सबै भन्दा खुसी मल्टीकल्चरमा हामीले स्थान पायौ, हाम्रो संस्कृति अर्को समुदायलाई देखाउनु नै गौरवको कुरा हो। ‘समाज टाइम्स सँग गजनले भने, ‘उनीहरूले हामीलाई अवसर दिनु पनि अर्को ठूलो कुरा हो। यस्तोमा मौषम, तातो चिसो भन्ने बिर्सिइँदो रहेछ। ‘
नेपाली बासी बालबालिकाहरूलाई कार्यक्रम आयोजक सँग सम्पर्क गराउने स्थानीय व्यवसायी तथा समाजसेवी ओम घिमिरेले आफूहरूको उपस्थित गर्व लायक भएको बताए।
‘मौषम खराब भए पनि कार्यक्रम राम्रो भयो, सहनै गाह्रो हुने चिसो थियो, तर साना नानीहरूले प्रस्तुति दिएरै छोडे।‘घिमिरेले भने,’हाम्रो उपस्थिति राम्रो भयो, अन्य समुदायले नेपाली संस्कृतिको बारेमा बुझ्न पाए, ए यहाँ पनि नेपालभाषीहरु छन् भन्ने सन्देश गयो।‘
उनले बालिकाहरूको प्रस्तुति पछि धेरैले नेपाल र नेपाली संस्कृतको बारेमा चासो राखेको बताए।
‘हामीलाई ऊर्जा दिएको छ, हामी बसेको सिटीमा हाम्रो उपस्थिति देखाउने यो एउटा राम्रो अवसर भन्दै गएको छ र भविष्यमा पनिमा पनि हामी यसलाई निरन्तरता दिन्छौ।’ घिमिरेले भने।
उनले मिलर्सभिल युनिभर्सिटीमा आयोजित एक सांस्कृतिक कार्यक्रममा लुनार आयोजक सँग भेट भएको र त्यस पछि आफूहरूले निरन्तर सहभागिता जनाइरहेको बताए।
चिनियाँ नयाँ वर्ष लुनारको अवसरमा आयोजित विषेश कार्यक्रममा मुख्यगरि चिनियाँ कला र संस्कृति झल्कने नृत्य तथा गायन प्रस्तुत गरिएको थियो।