‘मैले चुनाव जित्नु भनेको नेपाली भाषी भूटानीको आवाज वासिङ्गटन डिसी पुग्नु हो’ : जस्टिन डग्लस, फर कंग्रेस
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिलभेनियाको १० औँ कंग्रेसियल ड्रिस्टिकमा डेमोक्रेटिक प्राइमरी चुनावका उम्मेदवार जस्टिन डग्लसले आफूले चुनाव जित्नु भनेको नेपाली भाषी भूटानी समुदायको आवाज वासिङ्गटन डिसीमा पुग्नु भएको बताएका छन्।
डाउपीन काउन्टी कमिश्नर बोर्ड अध्यक्ष समेत रहेका डग्लसले आइतबार ह्यारिसबर्गमा आयोजित फण्ड रेज तथा अन्तरक्रिया कार्यक्रममा आफूले नेपाली भाषी भूटानी समुदायको समस्या राम्रो सँग बुझेको दाबी गरे ।
‘पछिल्लो एक वर्ष र केही महिनादेखि यो प्रशासनको मातहतमा देशमा जे भइरहेको छ, त्यो स्वीकार्य छैन र यो अमेरिकी भावना विपरीत छ।’ डगलसले भने, ‘परिवारहरू छिन्नभिन्न भएको देख्नु, कानुनी प्रक्रिया पालना नभएको देख्नु, र शरणार्थीका रूपमा हाम्रो देश आएका व्यक्तिहरूलाई देश निकाला गर्ने धम्की दिइनु हृदयविदारक छ।’
डग्लसले प्रशासनबाट भइरहेको गतिविधि गलत हो भन्न सक्ने नेता चाहिएको पनि बताए ।
‘उनीहरूलाई त्यस्तो देशमा फिर्ता पठाइँदै छ जहाँबाट उनीहरू ज्यान जोगाउन भागेका थिए। हामीलाई यस्ता नेताहरू चाहिन्छ जसले यो गलत हो भन्न सकुन्। हामीलाई यस्ता नेताहरू चाहिन्छ जो आफ्नै समुदायका मानिसहरूको पक्षमा उभिन सकुन्।’
उनले वासिङ्गटन डीसीमा नेपाली भाषी भूटानी समुदायको बारेमा लडिने प्रतिनिधि नभएकोमा आफूलाई चिन्ता लागेको बताए ।
‘गत वर्षको गर्मी महिनामा जब मैले यो पदका लागि चुनाव लड्ने निर्णय गरेँ, तब मेरो मन र मस्तिष्कमा तपाईँको समुदाय थियो। किनकि मलाई चिन्ता थियो कि वाशिंगटन डीसीमा तपाईँको अधिकारका लागि लडिदिने कुनै प्रतिनिधि हुनेछैन।’
डग्लसले आफू काम गर्ने र चुनाव जित्ने नेता भएको दाबी गरे ।
‘यो चुनावमा म डेमोक्रेटिक पार्टीबाट अनुभव भएको एक्लो उम्मेदवार हुँ। मैले १०० वर्षभन्दा बढी समयदेखि रिपब्लिकनहरूले जित्दै आएको काउन्टीमा चुनाव जितेर देखाएको छु। मेरो काम गर्ने तरिका र मतदानको रेकर्डले नै म कसरी जनताको प्रतिनिधित्व गर्छु भन्ने देखाउँछ। म जुन दृढताका साथ यहाँ भ्रष्टाचार विरुद्ध लडिरहेको छु, त्यही दृढता म वाशिंगटन डीसीमा पनि लैजानेछु।’ उनले भने ।
डग्लसले विभिन्न समुदायले आफ्नै परम्परा र संस्कृति अनुसार समस्याहरू भोगिरहेको र त्यो आवाज डीसीमा पनि सुनिनु पर्ने बताए ।
‘म चाहन्छु कि मेरो कंग्रेसको उम्मेदवारीले भुटानी र नेपाली समुदायमा गर्व र शक्तिको भावना पैदा गरोस्। यहाँ ‘शक्ति’ को अर्थ अरूमाथि शासन गर्नु होइन, बरु आफ्नो आवाजको महत्त्व बुझ्नु हो। तपाईँको आवाज यहाँ स्थानीय स्तरमा मात्र होइन, वाशिंगटन डीसीमा पनि सुनिनुपर्छ।’
उनले आफूले चुनाव जितेमा आफ्नो टिममा नेपाली भाषी भूटानी समुदायबाट कर्मचारी नै नियुक्ति गर्ने बताए ।
‘धेरै मानिसहरूलाई आप्रवासीहरूको वास्तविक कथा र संघर्ष थाहा छैन। म वाशिंगटन गएर त्यो कथा सुनाउन चाहन्छु। म त्यहाँका ४३५ सदस्यमध्ये एक हुनेछु र म एक्लैले सबै कुरा परिवर्तन गर्छु त भन्दिनँ, तर म तपाईँको लागि इमानदारीपूर्वक लड्नेछु।’ डग्लसले भने, ‘म कडा परिश्रम गर्नेछु। र, म मेरो टिममा नेपाली समुदायका व्यक्तिहरूलाई पनि कर्मचारीको रूपमा राख्नेछु, किनभने मलाई लाग्छ कि सही प्रतिनिधित्व हुनु निकै जरुरी छ।’
कार्यक्रममा भूटानी मानव अधिकारवादी नेता तथा व्यावसायी विश्व क्षेत्री, भूट्नीज कम्युनीटी अफ ह्यारिसबर्ग बीसीएचका संस्थापक अध्यक्ष टिका ढुङ्गाना, बीसीएचका निवर्तमान अध्यक्ष तिलक निरौला, ग्लोबल भूट्नीज हिन्दु अर्गनाइजेशन (जीबीएचओ) का बोर्ड चेयर नारद अधिकारी, महिला नेत्री माया दुलाल र फर्मासिस्ट मनोज प्रधानले डग्लसले काउन्टी कमिश्नर बोर्ड अध्यक्षको रुपमा नेपाली भाषी भूटानी समुदायलाई उल्लेख्य सहयोग गरेको भन्दै मे १९ मा हुने निर्वाचनमा उनलाई मतदाता गर्न अपिल गरेका थिए ।
मे १९ तारिख हुने प्राइमरीमा डेमोक्रयाटिक पार्टीमा डग्लस र जनिल स्टेल्सन बीच प्रतिस्पर्धा हुँदै छ । पूर्व टेलिभिजन पत्रकार जनिल यस अगाडिको चुनावमा रिपब्लिक उम्मेदवार स्कट पेरीसँग मात्र १% मतले पराजित भएकी थिइन्।
मे १९ को प्राइमरीमा जित्ने उम्मेदवारले आगामी नोभेम्वरमा हुने आम चुनावमा स्कट पेरी सँग प्रतिस्पर्धा गर्ने छन।
स्कट पेरी आठौँ कार्यकालका लागि चुनावी मैदानमा छन् । जनिलले पनि यस अगाडि नेपाली भाषी समुदाय सँगको टाउन हलमा उपस्थित भएकी थिइन ।

र यो पनि …

















