पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा यसरी गरियो सरस्वती पूजा

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा आइतबार सामूहिक सरस्वती पूजा गरिएको छ।
फ्रुटभिल पाइकमा रहेको कराते हलमा अस्थायी मन्दिर स्थापना गरी सरस्वती पूजा गरिएको हो। गुरु पुरोहित हेम धिताल र डिल्ली तिमिल्सिनाले विधिवत् रूपमा सरस्वतीको मूर्तिमा पूजा अर्चना गरेका थिए।
सरस्वतीलाई विद्याकी देवीको रूपमा पूजा गरिन्छ। सरस्वती पुजाको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ।
पूजामा बालबालिकाहरूको बाक्लो उपस्थिति रहेको थियो। बालकालिकाहरुलाई नेपाली अक्षर लेख्न पनि सिकाइएको थियो। यसै गरी अमेरिकामा जन्मिएका तथा हुर्किएका बालबालिकाहरूले संस्कृति र नेपालीमा सरस्वती वन्दना पाठ गरेका थिए । यस्तै उनीहरूलाई सरस्वतीको महिमाको बारेमा जानकारी गराइएको थियो।

बालबालिकाहरू सरस्वतीको प्रार्थना समेत गरेका थिए। साथै बालबालिकाहरूले नृत्य तथा गायन प्रस्तुत गरेका थिए।

सरस्वती पूजा आयोजक मध्येका एक ल्यानक्यास्टरका व्यवसायी तथा समाज सेवी ओम घिमिरेका अनुसार संस्कृतिको जगेर्ना गर्न सामूहिक पुजाको आयोजना गरिएको हो।
‘हामीले हरेक वर्ष यसरी नै सरस्वती पूजा आयोजना गर्दै आएका छौ, हाम्रो धर्म र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन यस्ता कार्यक्रम उपयोगी भएको हामीले पाउँदै आएका छौ।’ उनले भने।
घिमिरेले गत वर्षको भन्दा यस पटकको सरस्वती पूजामा धेरै सहभागी भएको बताए।
‘दुई सय भन्दा धेरै सहभागी भए, यो गत वर्षको भन्दा धेरै हो, अभिभावक भन्दा पनि बालबालिका अत्यन्त उत्साहित भएको हामीले पायौ ।’ कार्यक्रम पछि घिमिरेले समाज टाइम्सलाई भने, ‘हामीले जुन सोच र लक्ष्य लिएर विगत वर्षहरूमा सरस्वती पुजाको आयोजना गरेका थियौ त्यसले सार्थकता पाएको छ, आगामी वर्षहरूमा पनि निरन्तरता दिन्छौ।’
पुजाका थप तस्बिरहरु