आज सोनाम ल्होछार, धूमधाम मनाइँदै

काठमाडौँ । आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सोनाम ल्होछार, तामाङ लगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।
सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
‘सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु’, राष्ट्रपति पौडेलले भनेका छन् ।
सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।
यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।