क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा राहदानी शिविर शुरु

सान् फ्रान्सिस्को, (क्यालिफोर्निया)/ नेपाली राजदूतावास वासिङ्टन डिसिको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर शुरु भएको छ ।
नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) र गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा आयोजित शिविर पाँच दिन चल्ने छ।
डिसीबाट ६ घण्टाको हवाई दुरीमा रहेको सान् फ्रान्सिस्कोमा जनवरी १४ मा खुला गरिएको राहदानी नवीकरण आवेदन २ घण्टमा भरिएको थियो ।
पाँच दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दूतावासका कार्यवाहक राजदूत एवं डेपुटी चिफ अफ मिसन शरदराज आरणले जानकारी दिए।
‘दूतावासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठिक गरियो भन्ने लागेको छ’ आरणले संक्षिप्त उद्घाटनका क्रममा उनले भने ।

घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुसरण गर्दै शिविर सञ्चालन गरिएको उनको भनाई थियो । स्थानीय आयोजकको सहयोग एवं प्रयासबाट दूतावासले यहाँ सेवा दिन सम्भव भएको उनले बताए ।
राहदानी नवीकरणका लागि खोलिएको समय दुई घण्टामै सकिएको उल्लेख गर्दै अझै पनि सेवा ग्राही सयौँ भएको हुनाले शिविरको समय थप हुने जानकारी उनले दिए।

स्थानीयको अनुरोधलाई ध्यान दिँदै दुई, तीन थपेर भए पनि सेवा दिने जानकारी दिए । ‘सबैलाई सेवा पुर्याउन परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन छ’ आरणले भने – ‘यहाँको कठिनाइ संवोधन गर्न दूतावासको टिम प्रतिबद्ध छ ।’
त्यस्तै क्यालिफोर्नियाका अवैतनिक महा वाणिज्य दुत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूतावासले शिविर सञ्चालन गरेको जानकारी दिए । यसअघि लस एञ्जलसमा भएको शिविरमा पनि सान् फ्रान्सिस्कोबाट राहदानीका लागि मानिस पुगेको उल्लेख गर्दै शिविरबाट धेरैलाई लाभ पुगेको बताए ।

स्थानीय आयोजक संस्था नास्नका अध्यक्ष प्रितेश कार्कीले पाँच दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरे। यसअघि सन् २०२२ को नोभेम्बरमा भएको शिविरमा ७ सय ४६ ले सेवा पाएको जानकारी दिँदै दूतावासमार्फत सरकारलाई धन्यवाद दिए ।
त्यस्तै अर्का आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाले दूतावास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गरे ।
राहदानीका साथै वारेसनामा लगायतको सेवा पनि सुचारु भइरहेको छ । शिविरको पहिलो दिन २ सय जनाले सेवा लिएका छन् ।
