‘विकास गाउँतिर जाने मान्छे जति सहरतिर आउने परिस्थिति बन्यो’

काठमाडौँ । पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले विकास गाउँतिर जाने र मानिस जति सहरतिर आउने दुखद परिस्थिति निर्माण भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित ‘अब के नेपाली बैङ्क वित्तले सहकारीको नियति भोग्नुपर्ने अवस्था आउँदै हो ?’ पूर्व गभर्नरहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा पनि सोच्नुपर्ने परिस्थितिहरू निर्माण भएको बताए ।
उनले भने,‘सरकारले विकास र निर्माणको काम गाउँतिर लैजानुपर्छ भनेको छ । फालिएको न्यूनतम गाउँ विकास समितिमा पनि ३०–४० करोड भन्दा कम पुगेको छैन भन्ने छ । रकम पर्याप्त मात्राका गइरहेको छ तर दुःखको कुरा के छ भने विकास गाउँतिर जाने मान्छे जति सहरतिर आउने परिस्थिति बनेको छ ।’ उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताए ।
त्यस्तै उनले राजनीतिक अस्थिरताको कारणले दिगो रूपमा व्यवसाय गरेर अगाडि बढ्नका निमित्त अनुकूल वातावरण नबनेको बताए ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार निर्माणमा ढिलाइ हुँदा पर्यटन क्षेत्र गतिशील नभएका कारण आर्थिक अवस्था खस्किएको बताए । उनले व्यापार बढाउने भन्दा पनि कर असुल्ने रणनीति गलत भएको बताए ।