भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने
काठमाडौँ / सन् १९९० को दशकमा भुटानबाट विस्थापित शरणार्थीको कथामा आधारित रहेर चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ जस्ता चलचित्र निर्देशन गरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित निर्देशक नरेशकुमार केसीले उक्त चलचित्र निर्देशन गर्ने छन्।
चलचित्रको पटकथा समीप्याराज तिमिल्सेनाले लेखेका छन्। निर्देशक केसीले भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द ‘ल्हो–छाम्पा’ मा केन्द्रित भएर चलचित्रको विषयवस्तु तयार गरिएको जानकारी दिए ।
“भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई चलचित्रमा प्रस्तुत गर्नेछौँ ।” केसीले भने, ” यसमा स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथासँगै आप्रवासनका आयामलाई पनि समेट्का छौँ ।”
चलचित्रलाई नक्षत्र लाइभ म्युजिकमार्फत तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहनुभएका अर्जुन सुवेदीले निर्माण गर्ने छन्। निर्माता सुवेदीले आफ्नो भोगाइलाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको जानकारी दिए ।
उनले भने, “भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलचित्र निर्माण गर्दैछौँ । यो मनोरञ्जनमा मात्र सीमित हुनेछैन ।”
चलचित्रको छायाङ्कन आगामी वैशाखदेखि गरिने छ । चलचित्रका गीतमा अर्जुन पोखरेलले सङ्गीत दिने छन् ।