कूटनीतिक नियोगहरू नहुँदा अफ्रिकामा नेपालीहरूले दुःख पाइरहेका छन् : हिक्मत थापा
आकांक्षा धामी
हिक्मत थापा विगत दुई दशकदेखि अफ्रिकाको नाइजेरियामा बसेर व्यवसाय गर्दै आइरहेका छन् । लेखक एवम् साहित्यकार साथै सामाजिक अभियन्ताको समेत परिचय बनाएका थापा गैर आवासीय नेपाली संघ(एनआरएन)लाई अफ्रिका महादेशमा विस्तार गर्न, समस्या परेका नेपालीको उद्धार गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न साथै प्रत्यक्ष वैदेशिक लगानी स्वदेश भित्र्याउने काममा समेत सक्रिय छन् । हालै नेपाल आएको मौकामा नेपाल न्युज बैंकले अफ्रिकामा नेपालीको अवस्थाबारे कुराकानी गरेको छ ।
लामो समयदेखि अफ्रिकामा हुनुहुन्छ । त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ ? कसरी जीवन निर्वाह गरिरहेका छन् ?
१९ वर्षदेखि अफ्रिकामा बसोबास गरिरहेको छु । १० हजार भन्दा बढी नेपालीहरू अफ्रिकामा बसोबास गर्छन् । धेरैजसो नेपालीहरू विभिन्न सेक्टरमा विज्ञको रूपमा काम गरिहरेका छन् । दक्ष जनशक्तिका रूपमा क्रियाशील छन् । डाक्टरदेखि लिएर इन्जिनियर, एकाउण्टेनहरु, सेफ, सेल्स मार्केटिङका विज्ञहरू र सेक्युरिटीमा थुप्रै नेपालीहरू काम गरिरहेका छन् । अपेक्षाकृत रूपमा अफ्रिका राम्रो छ । पछिल्लो समयमा मानव तस्करहरूले अफ्रिकालाई बाटो बनाएर बिच्चली बनाएको समाचारहरू आइरहेका छन् । मानव तस्करहरूले अफ्रिकाका कतिपय देशहरूमा नेपाली चेलीहरूलाई रेष्टुरेण्टहरुमा अवैध रूपमा नृत्य गर्न लगाइरहेका छन् । यो नयाँ समस्याको रूपमा आइरहेको छ । त्यस बाहेक सबै नेपालीले राम्रो गरिरहेका छन् । धेरै नेपालीहरू आफ्नै बिजनेसमा व्यस्त छन् । कसैले उद्योग कसैले आफ्नै कम्पनी खोलेर व्यापारमा स्थापित हुने क्रम बढिरहेको छ ।
नेपालीहरूको रोजाइमा अफ्रिकाका कुन देश प्राथमिकतामा छन् ?
पछिल्लो समय सेसेल्समा बढी नेपालीहरू बसोबास गरिरहेको अवस्था छ । बेसेल्स भनेको अफ्रिकाको सैभन्दा सानो देश हो । जहाँ एक लाख जनसंख्या छ । साथै सम्पन्न देश पनि हो । यसै गरी दक्षिण अफ्रिकामा पनि नेपालीहरूको बसोबास राम्रो छ । नाइजेरियादेखि केन्या, युगान्डा अन्य थुप्रै देशमा नेपालीहरू छन् ।
अफ्रिका र नेपालबीचको कूटनीतिक, व्यापारिक र सांस्कृतिक सम्बन्ध कस्तो छ ?
वास्तवमा भन्ने हो भने नेपाल र अफ्रिका जोडिएको छैन । नेपालका दुई वटा दूतावास छन् इजिप्टमा । महेन्द्र सरकारको पालामा मुख्य रूपमा इजिप्ट देश थियो । विशेष गरी त्यति बेला त्यो दूतावासले अरब देशहरूलाई हेर्ने गर्दथ्यो । साउथ अफ्रिकामा भर्खरै दूतावास खुलेको छ । नेपालमा अरू अफ्रिकन देशहरूको दूतावास इजिप्ट बाहेक छैनन् । अरू दिल्लीमा छन् । ती देशहरूसँग दोहोरो व्यापार वा दोहोरो पर्यटन प्रवर्द्धन खासै प्रभावकारी रूपमा भएको छैन । अहिले केही अफ्रिकन विद्यार्थीहरू काठमाडौँमा पढिरहेका छन् । सामान्य व्यापार छ । नेपालको पनि अफ्रिकासँग खासै राम्रो व्यापार छैन । तर अब नेपालीहरूका लागि अफ्रिका रोजाइमा परिरहेको छ । यसबाट चाहिँ व्यापार र व्यवसाय बढ्छ भन्नेमा आशावादी हुन सकिन्छ ।
आउजाउमा नेपालीहरूलाई कतिको सहज छ ?
सजिलो त पक्कै छैन । किनभने सिधै अफ्रिका जाने फ्लाइट छैन । नेपालीहरूले भारतबाट जानुपर्ने अवस्था छ । पहिलेभन्दा धेरै कुरा परिवर्तन भएकाले भिसामा चाहिँ सहजता छ ।
नेपालीहरूको सांस्कृतिक परम्परा र जीवनशैली अफ्रिकी समाजसँग कसरी घुलमिल भएको छ ?
दक्षिण अफ्रिकामा त दोस्रो पुस्ताका नेपालीहरू छन् । ४० वर्ष भन्दा बढी वर्षका नेपालीहरू स्थायी रूपमा अफ्रिका बसेका छन् । नेपाली संस्कृति दशैं, तिहार कसैले बिर्सेका छैनन् । अरू देशमा पनि नेपाली पर्वहरूको बेला सबै मिलेर मनाउने चलन छ । यसै गरी अफ्रिकामा पनि नेपाली कलाकारहरू जाने चलन सुरु भएको छ । नेपाली संस्कृतिलाई पनि फैलाउने प्रयासहरू भइरहेका छन् । अफ्रिकन समाज भनेको काला जातिका मानिसहरुमात्र बसोबास गर्ने समाज हो । उनीहरू पनि प्रायः धेरै आदिवासी छन् । नेपाली जस्तै संस्कृति, खानपान र रमाउने प्रवृत्ति उनीहरूमा पनि छ । उनीहरू पनि हाम्रो संस्कृतिसँग धेरै नै घुलमिल भएका छन् । हाम्रो संस्कृति झल्काउने विषयमा कुनै असहज छैन । भाषा अंग्रेजी बोल्दा हुन्छ । त्यसैले अफ्रिकन समाजसँग घुलमिल हुन कठिनाइ छैन । त्यहाँको समाजमा संस्कृति र खानपानसँग घुलमिल हुन नेपालीहरूलाई अलिक गाह्रो छ । त्यहाँका सांस्कृतिक पर्वहरू अप्ठ्यारो हुन्छन् । तर उनीहरू हामीसँग घुलमिल हुन रुचाउँछन् ।
यति बेला त्यहाँका नेपालीहरूले भोग्नु परिरहेको समस्या र चुनौतीहरू के के छन् ?
सबैभन्दा ठुलो चुनौती भनेको दूतावासको अभाव हो । अफ्रिकामा ५४ वटा देश छन् । पासपोर्टको समय सकियो भने या नयाँ पासपोर्ट लिनुपर्यो भने, श्रम स्वीकृति लिनुपर्यो भने दूतावास नहुँदा नेपालीहरूले धेरै समस्यासँग जुध्नु परिरहेको छ । पिर मर्का पर्दा अरू देशका नागरिकहरूलाई दूतावासले सहयोग गर्दा नेपालीहरूलाई सहयोग गर्ने कोही हुँदैन । त्यहाँका देशहरूमा नेपाली जनसंख्या बढ्दै गइरहेको छ । अब बिस्तारै समस्याहरू बढ्दै जान्छन् । त्यसैले नेपाल र अफ्रिकामा नेपाली र अफ्रिकी दूतावासहरू खोल्न आवश्यक छ । अफ्रिकामा दुई वटा मात्र छन् तर नेपालमा एउटा पनि छैन । यसका लागि हामीले आवाज उठाउँदै आइरहेका छौँ । नाइजेरिया, केन्यालगायतका देशहरूमा एम्बेसी खोल्न ढिला भइसक्यो । यसले नेपाली व्यक्तिलाई मात्र सहज हुने होइन व्यापारका सम्भावनाहरू पनि बढ्दै जान्छन् । पर्यटनका सम्भावनाहरू पनि थुप्रै छन् । आर्थिक हिसाबमा थुप्रै देशहरू अगाडि बढी रहेका छन् । यसै गरी नेपाली उत्पादित बस्तुहरू पनि आयात निर्यात गर्न सजिलो हुन्छ र अर्थतन्त्र बढाउन सकिन्छ । कूटनीतिक सम्बन्धबाट दुवै देशले समन्वय गर्यो भने नेपाललाई धेरै कुरामा फाइदा हुन्छ ।
अफ्रिकामा रोजगारी पाउन नेपालीहरूलाई कतिको सहज छ ?
खासै त्यस्तो गाह्रो छैन । तयारी र योजना अनुसार काम गर्न सक्नुपर्छ । आफ्नो काममा सीप हुनुपर्छ । जुनसुकै पेसा भए पनि त्यो पेसामा दक्ष हुनपर्यो । जुनसुकै पेसामा पनि दक्षहरूलाई काम पाउन गाह्रो छैन । आफैँ खोजेर अथवा हायरिङ् एजेन्सीहरूमार्फत काम पाउन सकिन्छ ।
सुरक्षाको अवस्था चाहिँ कस्तो छ ?
नेपालीहरूलाई सुरक्षाको समस्या छैन । अफ्रिकामा ५४ वटा देशहरू छन् कुनै देश सम्पन्न छन् भने कुनै देश धेरै गरिबीमा छन् । कुनै देशमा तीव्र गतिमा विकास भइरहेको छ, कुनैमा अझै पनि लडाई छ । युद्धग्रस्त क्षेत्रमा नेपालीसँगै त्यहाँको नागरिकलाई पनि समस्या हुन्छ । नत्र भने सुरक्षा राम्रो नै छ । विगतमा युद्धको समयमा केही नेपालीहरूले ज्यान गुमाउनु परेको थियो । यस्ता घटना कहिले काहीँ हुन्छन् । नभए त्यस्तो खतराको अवस्था छैन ।
तपाईँको अनुभवमा नेपाल र अफ्रिकाबिच के कस्तो भिन्नता पाउनुभयो ?
धेरै देशहरू छन्, जसमध्ये कुनै धेरै राम्रा छन् । कुनै नेपालको जस्तै ढिलो विकास, भ्रष्टाचार, राजनीतिक व्यवस्था राम्रो नभएका देशहरू पनि छन् । राम्रो देशको उदाहरण हेर्ने हो भने नेपालले सिक्ने धेरै कुराहरू छन् । २०–२५ वर्ष अगाडि हाम्रो देशजस्तै द्वन्द्वमा फसेका अझ नेपाल भन्दा पनि नराम्रो अवस्थामा रहेका, नेपालभन्दा गरिब देश अहिले एकदमै तीव्र गतिमा अगाडि बढिरहेका छन् । नेपालको तुलनामा धेरै कम कच्चा पदार्थ भएका देशहरू पनि अगाडि लागेका छन् । त्यसैले हामीले सिक्ने कुराहरू धेरै छन् ।
अफ्रिकामा रहेका नेपाली युवाहरुहरुलाई स्वदेशमै फिर्ता गर्न सकिन्छ ? के चाहन्छन् उनीहरू ?
अफ्रिका मात्र होइन संसारभर नै रहेका पहिलो पुस्ताका नेपालीहरू नेपाल नै फर्कन चाहन्छन् । तर दोस्रो पुस्ता उतै जन्मेको हुनाले उनीहरूलाई उतै राम्रो लाग्छ । सबैको नेपाल आउने सोच हुन्छ तर नेपालमा बस्ने, रोजगारी दिने वातावरण नै छैन । त्यो वातावरण बनेको भए हुन्थ्यो । नेपालमा बस्न पाए हुन्थ्यो भन्ने सबैको धारणा छ । नेपालमा पछिल्लो दिनमा केही सकारात्मक कामहरू भइरहेका छन् । यस्तै हुने हो भने सबै आउन चाहन्छन् ।
तपाईँ लामो समयदेखि एनआरएनएको अभियानमा हुनुहुन्छ । यति बेला यो संस्थाको अवस्थालाई कुन रूपमा हेरिरहनु भएको छ ?
म लामो समय एनआरएनएमा रहेर काम गरेँ । अफ्रिकाका थुप्रै देशहरूमा एनआरएनएका शाखाहरू विस्तार गर्न मैँले पहल गरेको हुँ । एनआरएनएको दुई वटा काम हो । एउटा बाहिर भएका नेपालीहरूलाई अप्ठ्यारोमा सहयोग गर्ने र नेपाली साहित्य, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने हो । अर्को कुरा भनेको नेपालको समृद्धिका लागि एक अंशका रूपमा काम गर्ने हो । आफूले कमाएको पैसा मात्र होइन ज्ञान, अनुभव सबै नेपालमा लगानी गरेर नेपाललाई पनि समृद्धिको बाटोमा लाने हो । एनआरएनएको उद्देश्य पनि त्यही हो । एनआरएनए सही बाटोमा थियो । संस्था ठुलो भएपछि, सम्पन्न भएपछि गलत नियत भएका मान्छेहरूले आफ्नो व्यक्तिगत पैसा र राजनीतिक शक्ति प्रयोग गरेर संस्थामा आउन खोजे । जसले गर्दा राम्रो मनसाय लिएर काम गरिरहेकाहरू पछाडि परे ।
यसमा दुई नम्बरका तस्करहरू जसले मानवदेखि आर्थिक तस्करी गरिरहेका छन् । राजनीतिमा लागेका मान्छे अगाडि आउन खोज्दा झन् समस्या हुँदै गयो । जसका कारण गलत प्रवृत्ति संस्थामा भित्रियो । त्यसपछि संस्था अहिले तीन, चार वटा समूहमा विभाजित छ । दुःख लाग्छ एनआरएनए भनेर गर्वका साथ हिँड्ने हामीहरू निराश छौँ । हामी चाहन्छौ, प्रयास पनि जारी छ–एनआरएनए नेपालीका लागि बलियो बन्नुपर्छ । हुन्छ पनि होला, सधैँ गलतको मात्र विजय हुँदैन ।
संस्थालाई जोगाउन र सबैको साझा बनाउन के विधि अपनाउनुपर्छ होला ?
अदालतले पनि एउटा निकास दिन खोजिरहेको छ । तर विशेष रूपमा एनआरएनएका नेतृत्वहरुले जसले संस्था स्थापना गरेको थिए उहाँहरूले आफ्नो व्यक्तिगत स्वार्थ अथवा नेपालको राजनीति जस्तै मेरो कब्जामा हुनुपर्यो अथवा मेरो मात्र नाम र फ्रेम हुनुपर्छ भन्ने छ तर त्यसरी हुँदैन । संस्था सबै नेपालीको हो । गैर आवासीय नेपालीले जे आर्जन गरे त्यसलाई नेपालको समृद्धिको लागि लगानी गर्नुपर्छ ।
यस्तै संस्था स्थापना गरेका अध्यक्षहरूले गलत तथ्यहरूलाई हातमा नलिने हो भने संस्था राम्रो भएर जान्छ । त्यो बाटोमा पनि गएको छ, राम्रो हुन्छ भन्ने आशा र विश्वास पनि छ । हामीले हाम्रो तर्फबाट गर्ने काम गरिरहेका छौँ ।
नेपाल–अफ्रिका कूटनीतिक र व्यापारिक सम्बन्धलाई सुधार गर्नको लागि के के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?
विशेषत दूतावासलाई नै बढाउनुपर्छ । अफ्रिकासँग धेरै कुराहरूमा सहकार्य गर्न सक्छौ । लगानी, उद्योग, कृषि र विशेष गरी पर्यटनका विषयमा, कूटनीतिक उपस्थिति बढाउनुपर्छ र उनीहरूको कूटनीतिक उपस्थिति नेपालमा बढाउनुपर्छ ।
नेपालमा उत्पादित सामग्रीहरू धेरै मात्रामा अफ्रिका गएको थाहा छैन । हाम्रा उत्पादनहरू के हुनसक्छ भनेर सोच्नुपर्छ । जस्तै भारत र चीनबाट धेरै कुराहरू अफ्रिकामा गएको हुन्छ । नेपाली कच्चा पदार्थ, नेपाली हर्बलहरूदेखि थुप्रै सम्भावनाहरू छन् । तिनीहरूलाई लान सक्नुपर्छ अथवा अफ्रिकाबाट पनि नेपालमा सोझै व्यापार हुने व्यवस्था गर्नुपर्छ । अहिले सबै भारत हुँदै ल्याउनुपर्ने अवस्था छ । साथै आयात र निर्यात गर्दा व्यापार पनि बढ्छ । यसका लागि सबैले पहल गर्नुपर्छ । एनआरएनएका तर्फबाट पनि पहल गरिरहेका छौ । अफ्रिकामा केही नेपाली कम्पनीहरू खोल्न सुरु पनि भएका छन् । मैँले पनि ठुलो लगानी ल्याउन खोजी रहेको थिए ।
अन्य कम्पनीहरू पनि नेपालमा आउन खोजिरहेका छन् । त्यसको लागि लगानीमैत्री वातावरण राज्यले बनाउनुपर्छ । सरकार सहयोगी र लगानीमैत्री छैन । यसमा ध्यान दिनुपर्छ । विदेशी प्रविधि, पुँजी ल्याउनै पर्छ । त्यसका लागि वातावरण बनाउनुपर्छ ।
राज्यले प्रत्यक्ष रूपमा लगानी गर्ने वातावरण पनि बनाउनुपर्छ । देशको आर्थिक सुधार नै व्यापार र उद्योगले हुन्छ भन्ने कुरा सरकारले बुझ्नुपर्ने हुन्छ ।
अन्त्यमा, तपाईँले देखे–भोगेको अफ्रिका र अरूले भन्ने गरेको अफ्रिकामा के फरक छ ?
भन्ने र सुन्ने गरेको अफ्रिकामा विल्कुलै फरक छ । एकदमै गरिबी, भोकमरी, युद्ध र द्वन्द्व मात्र छ भनेर बुझ्ने गरिन्छ । तर देखेको र भोगेको अफ्रिका फरक छ । अहिले धेरै परिवर्तन आइसकेको छ । द्वन्द्वबाट पनि अगाडि बढिसकेको छ र समृद्धिमा पनि धेरै अगाडि बढेको छ । अफ्रिकामा सम्पन्न मानिसहरू पनि छन् । आर्थिक समृद्धि नै देश र नागरिकलाई चाहिने पहिलो कुरा हो भन्ने त्यहाँका धेरैजसो सरकारले बुझेका छन् । प्रयास गरिहरेको छन् । जुन हाम्रोमा छैन । हाम्रोमा मात्र राजनीति कलह र सत्ता कुर्सी मात्रै छ । भिजन नै छैन । आर्थिक समृद्धिको उपाय बाटोको निम्ति प्रतिबद्धता अथवा त्यसका लागि सोच्दै सोचेको छैनौँ ।
आर्थिक समृद्धि पहिलो कुरा हुनुपर्छ । हामीसँग स्रोत छ साधन छ, सबै छ । अप्ठ्यारोबाट सिकेको पाठ मैले पनि त्यही हो । सम्भव हुँदो रहेछ । हाम्रो भन्दा बढी द्वन्द्व भएको ठाउँ वा बढी मानिस मारिएको ठाउँमा वा बढी गरिबी, कम स्रोत, साधन भएको ठाउँमा पनि सहज आर्थिक समृद्धि सम्भव छ । मैले सिकेको पनि यही हो ।
नेपाल न्युज बैङ्क