पार्टीको आगामी बैठकले विश्वभरिका जनसम्पर्क समितिको चुनाव मिति घोषणा गर्छ: किरण पौडेल

बाल्टिमोर मेरील्याण्ड/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेलले पार्टीको केन्द्रीय कमिटीको आगामी बैठकले विश्वभरिका जनसम्पर्क समितिका निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्।
हाल अमेरिका भ्रमणमा रहेका पौडेले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिका, मेरिल्यान्ड च्याप्टरद्वारा आइतबार बाल्टिमोरमा आयोजित अन्तर्क्रियाका अमेरिका सहित सबै जनसम्पर्कहरू निर्वाचन एकै पटक हुने बताएका हुन्।
पछिल्लो दश वर्ष देखि जनसम्पर्क समिति अमेरिकाको चुनाव हुन सकेको छैन। पौडेलले यस्तो समस्या अन्य देशहरूमा पनि रहेकाले पार्टीले सबै देशमा एकै नीति लिने बताए।
उनले अमेरिकामा आनन्द विष्ट अध्यक्ष रहेको कमिटीले नै आगामी चुनाव गराउने ठोकुवा गरे।
अर्को प्रसङ्गमा पौडेलले नेपालको खराब शिक्षा नीतिले विदेश जाने युवाहरूको संख्या बढिरहेको दाबी गरे।
यस्तै पौडेलले नेपाली मिडियाहरू माथि पनि गम्भीर आरोप लगाएका छन्। ‘नेपालका न्युज मिडिया दलालका पृष्ठ पोषण गर्ने खालका मात्र छन्।‘ पौडेलले भने।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आफ्नो कारणले चुनाव नरोकिएको दाबी गरे।
सन् २०१४ यता नेपाली जनसम्पर्क समिति अमेरिकाको चुनाव हुन सकेको छैन। विधानतः हरेक तीन तीन वर्षमा जनसम्पर्क समितिको चुनाव हुन पर्छ।
कांग्रेसको १४ औँ महाधिवेशन अगाडि पार्टी सभापति शेर बहादुर देउवाले जनसम्पर्क समिति अमेरिकाको अधिवेशनको उद्घाटन गरेका थिए। तत्कालिन समयमा आपसी समझदारीमा १४ जना महाधिवेशन प्रतिनिधि गएका थिए। सो बेला काठमाडौँबाट फर्किए पछि अधिवेशनका बाँकी काम सुचारु गरिने भनिएको थियो। तर तीन वर्ष बितिसक्दा पनि स्थगित अधिवेशन अगाडि बढाइएको छैन।
कार्यक्रममा बागलुङबाट नेपाली कांग्रेस महासमिति सदस्य जगदीश शर्मा, नेपाल महिला संघ बागलुङकी सभापति तथा पार्टी महासमिति सदस्य शकुन्तला शर्मा उपाध्याय, नेपाल महिला संघ पर्वतकी सभापति तथा पार्टी महासमिति सदस्य मुना शर्मा लामिछाने, गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) डा. अर्जुन बन्जाडे लगायतले आ आफ्नो धारणा राखेका थिए।
नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टर सभापति राजेन्द्र सेन्चुरीको सभापतित्वमा भएको कार्यक्रम च्याप्टर महासचिव नेत्र केसीले सञ्चालन गरेका थिए।
कार्यक्रममा थप तस्विरहरु: