शेष घलेका विश्वास पात्र सोनाम लामा यूएनडीओको अध्यक्षमा निर्वाचित, अब एनआरएनएको के हुन्छ?

पेन्सिल्भेनिया / न्यु योर्क निवासी सोनाम लामा युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को पहिलो निर्वाचित अध्यक्ष बनेका छन्।
डिसेम्बर २८ र २९ तारिख काठमाडौँमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनले सोनामलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। यस अगाडि उनी तदर्थ समितिको अध्यक्ष थिए।
महासचिवमा भने अष्ट्रेलियाका कुशल केसी चयन भएका छन् । उनी यसअघिको तदर्थ समितिमा कोषाध्यक्ष थिए ।
उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् ।
२९ सदस्यीय कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रीय सदस्य मनोनीत गरिने जनाइएको छ।
यूएनडीओ गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग असन्तुष्टहरूले स्थापना गरेको संस्था हो। मार्च २०२२ मा यो संस्था स्थापना भएको थियो। तर परराष्ट्र मन्त्रालयले दर्ता गर्न नमाने पछि सरोकारवालाहरू अदालत गएका थिए।
सन् २०२३ जुलाईमा सर्वोच्च अदालतले युएनडीओलाई दर्ता गर्न आदेश गरेको थियो।
महाधिवेशनबाट सर्वसम्मत निर्वाचित सोनामको कार्यकाल तीन वर्षको हुने भनिएको छ। सोनाम लामा एनआरएनएका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक शेष घले निकट हुन्।
शेष घलेलाई सर्वोच्चको एक फैसलाले एनआरएनएको एकताको चुनाव गराउन भनेको छ। निकै ढिलो गरी उच्चस्तरीय समितिको बैठक बसालेका घलेले आगामी मेमा एनआरएनएको चुनाव गराउने निर्णय गराएका छन्।
तर तीनै घले निकट सोनाम लामा अहिले युएडीओको अध्यक्ष निर्वाचित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
एनआरएनएमा आफू ११ औ महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै आएको डा. बद्री केसी समूहले शेष घले नेतृत्वको समितिको औचित्यमा प्रश्न उठाउँदै आएको छ।
साथै बद्री समुहले एनआरएनए एकतामा युएनडीओको भुमिकामा पनि शंका मान्दै आएको छ।