एनआरएनए उच्चस्तरीय समितिको भर्चुअल बैठक महाधिवेशनका लागि उप समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि दुई वटा उपसमिति गठन भएका छन्। सोमबार शेष घले नेतृत्वको एनआरएनए एकता सम्बन्धी उच्चस्तरीय समितिको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न उपसमिति बनाउने निर्णय गरेको हो।
बालुवाटारस्थित एनआरएनएको सचिवालयमा बैठक बस्ने भनिए पनि अन्तिम समयमा भर्चुअल बैठक बसेको एक सहभागीले जानकारी दिए ।
पहिलो बैठक सचिवालयमा बस्न जाँदा कार्यालय बन्द गरिएको थियो । पछिल्लो समय सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले बैठक बस्ने वातावरण बनाउन पत्राचार नै गरेकाे छ । तर सोमबार घले नेतृत्वको बैठक भर्चुअल बसेको हो ।
बैठकले एकताको वातावरणका लागि समन्वय गर्न पूर्वअध्यक्ष जीवा लामिछाने, रामप्रताप थापा, भीम उदास, र कुमार पन्त सम्मिलित एक समिति गठन गरेको छ। साथै, कार्यविधि (टीओआर) निर्माणका लागि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त, विनोद कुँवर र परराष्ट्र तथा कानुन मन्त्रालयका प्रतिनिधिहरू सम्मिलित अर्को समिति बनाइएको छ।
सचिवालयलाई थप व्यवस्थित बनाउन रविना थापा र जानकी गुरुङसँगै कुल आचार्य र कुमार पन्तलाई पनि थपिएको छ। यसअघि सचिवालयको जिम्मेवारी रविना थापा र जानकी गुरुङलाई दिइएकोमा सोमबार दुई जना थप गरिएको हो।
दुई हप्ताभित्र कार्यविधि तयार गरी अर्को बैठकमा पेस गर्ने निर्णय भएको छ। समन्वय समितिले सबै पक्षसँग संवाद गरी एकताको महाधिवेशनका लागि उपयुक्त वातावरण तयार गर्नेछ।
उच्चस्तरीय समितिका संयोजक शेष घलेले पहिलो बैठकमा भएका निर्णयहरूको समीक्षा गर्दै कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
घले नेतृत्वको उच्चस्तरीय समितिले उप समिति गठन गरे पनि अहिले बालुवाटारबाट सचिवालय सञ्चालन गरिरहेको डा बद्री केसी समूहले भने २०२५-२०२७ को अधिवेशनका लागि सदस्यता आह्वान सोमबार मात्रै गरेको छ ।