नेपाल ओलम्पिक कमिटीको चुनाव रोकियो
काठमाडौं । गृह प्रशासनले अदालतको आदेशको अवज्ञा गर्दै अघि बढाइएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को चुनावी प्रक्रिया रोकेको छ।
निर्वाचन तालिका अनुसार सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको थियो। तर, सोमबार बिहानैदेखि प्रशासनले एनओसी परिसर सातदोबाटोमा प्रहरी परिचालन गर्दै गेट बन्द गरिदिएको छ, जसका कारण कसैलाई प्रवेश गर्न दिइएको छैन। प्रशासनको यो कदमले निर्वाचन प्रक्रिया स्थगित भएको छ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रशासनले अदालतको आदेश पालन गर्न चुनाव रोकेको बताए। उनले भने, “अदालतको आदेश अनुसार चुनावी प्रक्रिया अघि बढ्ने अवस्था छैन। यो विषय अदालतको हो, र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी यसमा हस्तक्षेप गर्दैन।”
अदालतले विधान संशोधन रोक्न आदेश दिए पनि एनओसीले विधान संशोधन गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको थियो। यस कदमको कारण अदालतको आदेशको अवज्ञा भएको ठहर गर्दै राष्ट्रिय खेलकुद परिषद्ले चुनाव रोक्न निर्देशन दिएको थियो।
अदालत र खेलकुदको कार्यकारी निकायको निर्देशनलाई बेवास्ता गर्दै अघि बढाइएको निर्वाचन प्रक्रिया रोक्न प्रशासनले हस्तक्षेप गरेको हो। ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको अवज्ञा गर्दै विधान संशाेधन गरेर फेरि अध्यक्ष बन्ने लक्ष्य लिएका छन् ।