हिरासतमा रहेका रविको तस्वीर सार्वजनिक भएपछि…

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सुतीरहेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले छानविन गर्ने बताएको छ ।
रास्वपाका समर्थक डा. निकोलस भुसालले आफूले उक्त तस्वीर सार्वजनिक गरेको स्वीकार गरिसकेका छन् । वुधवार तस्वीर सार्वजनिक भएपछि चौतर्फी व्यक्तिगत गोपनियता हनन भएको रुपमा टिप्पणी भइरहेका बेला कास्की प्रहरीले विहीबार एक विज्ञप्ति निकालेर घटनाबारे अनुसन्धान गर्ने बताएको छ । गृहमन्त्री रमेश लेखकलले पनि तस्वीर सार्वजनिक भएको प्रकरणमा छानविन गर्न आफूले प्रहरीलाई निर्देशन दिएको बताएका थिए ।
कास्की प्रहरीका डिएसपी बसन्तकुमार शर्माले प्रकाशित गरेको विज्ञप्तिमा “सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण” जस्ता मुद्दालाई प्रभावित गर्ने उद्देश्यले उक्त तस्बिर डा. निकोलस भुषालको पेजबाट सार्वजनिक भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, गोपनीयतालाई कायम राख्नुपर्ने विषयमा प्रहरी संवेदनशील रहेको र अनुसन्धानलाई गोप्य राखी अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ गरिएको थियो। उनीमाथि अनुसन्धान सकिएपछि पुस १ गते जिल्ला प्रहरी कार्यालय कास्कीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
प्रतिवेदनमा ५१ जनालाई प्रतिवादी बनाइएको छ ।