घले नेतृत्वको उच्चस्तरीय समितिको दोस्रो बैठक सोमबार !
काठमाडौं । डा. शेष घले नेतृत्वको गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिको दोस्रो बैठक आह्वान गरिएको छ । घलेले आउँदो सोमबार काठमाडौंमा रहेको सचिवालयमा बस्ने गरी दोस्रो बैठक आह्वान गरेको एक सदस्यले समाजटाइम्सलाई जानकारी दिए ।
यसअघि नोभेम्बर १९ तारिखमा समितिको पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा डा. बद्री केसी र भवन भट्टमात्रै अनुपस्थित थिए । पहिलो बैठक एनआरएनएको सचिवालयमा बोलइएकोमा त्यसदिन कार्यालय बन्द भएपछि एक होटेलमा बसेको थियो । पहिलो बैठकले आगामी ६ महिना अर्थात मे (जेठ) भित्र एकताको अधिवेशन गर्ने निर्णय सर्वसम्मत गरेको थियो ।
यसैगरी बैठकले एकताको महाधिवेशन सहजीकरणका लागि प्रतिनिधि पठाउन परराष्ट्र र कानुन मन्त्रालयलाई पत्र लेख्ने, महाधिवेशन गर्नका लागि कार्य विधि बनाउन सहजीकरणका लागि परराष्ट्रलाई अर्को छुट्टै पत्र लेख्ने निर्णय गरेको थियो । पहिलो बैठकका निर्णयहरु कार्यान्वयनका सन्दर्भमा दोस्रो बैठकमा छलफल हुने छ ।
पहिलो बैठकमा भौतिकरुपमा संयोजक घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, विनोद कुँवर, रविना थापा र जानकी गुरुङ भौतिक रूपमा उपस्थित थिए । यसैगरी, जीवा लामिछाने, देवमान हिराचन,कुमार पन्त, कुल आचार्य, रामप्रताप थापा र उमेश कुमार पुडासैनी भने भर्चुअलरुपमा जोडिएका थिए ।
भौतिक र भर्चुअल दुवै माध्यमबाट सहभागीहरुले एनआरएनएमा एकताको विकल्प नभएको भन्दै सबैलाई मिलाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
एनआरएनएको दशौं अधिवेशनका बेला विवाद भएपछि त्यतिबेलाको ८१ औं बैठकले घल नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । समितिमा पनि सहमति नहुँदा दशौं अधिवेशनमा दुई समूहमा अनौपचारिकरुपमा विभाजित भएको थियो ।
घले समूहले विनोद कुँवरलाई अध्यक्ष बनाएको थियो भने बालुवाटारबाट काम गर्ने समूहले तीन जन अध्यक्ष (कुल आचार्य, रविना थापा र वद्री केसी)लाई बनाएको थियो ।
दशौं अधिवेशनको आधिकारिकता दावी गर्दै कुँवर समूहले दायर गरेको रिटमा सर्वोच्चले उच्चस्तरीय समिति बनाएर ६ महिना भित्र एकताको अधिवेशन गर्नका लागि गत चैत २१ गते आदेश दिएको थियो । सोही आदेश अनुसार उच्चस्तरीय समितिमा १३ सदस्यीय समिति बनेको हो ।
*फाइल तस्वीर