न्यु योर्कमा एक नेपालीले लेखेको इतिहास
क्वीन्स, न्यु योर्क/ उनी प्रस्ट बोल्छन्, त्यस कारण आलोचकहरू उनलाई रुचाउँदैनन्। देखेको कुरा फ्याट्ट भनिहाल्ने।
उनको अर्को बानी छ, उनी सपना देख्छन्। अझ भनौँ न आँट गर्छन्। हो त्यही आँट गर्ने कराते प्रशिक्षक शिहान शान्त थोकर अमेरिकाको न्यु योर्कमा फेरि इतिहास लेख्न सफल भएका छन्।
के इतिहास लेखियो भन्नका लागि कम्तीमा १७ वर्ष अगाडि फर्कनै पर्छ।
अमेरिका आए पछि फेरि शून्यबाट जीवन शुरु गर्नु पर्छ। नेपालमा जुनसुकै ओहोदामा होस, अमेरिकामा त्यसको अर्थ राख्दैन। नेपालमा दशकौँ अभ्यास गरेको चिकित्सक डाक्टरले पनि यहाँ फेरि परीक्षा दिनु पर्छ।
भनेको नेपालमा जतिसुकै पढेको किन नहोस् अमेरिका फेरि पढ्नु पर्छ। नेपाली खेलकुदमा उलेख्य फड्को मारेकाहरू पनि अमेरिका आएका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, ती खेलाडी उत्पादन गर्ने प्रशिक्षक एक पछि अर्को गर्दै न्यु योर्क थुप्रँदै थिए।
नेपालमा शान्त थोकर भन्दा करातेमा खारिएकाहरू पनि न्यु योर्कमा थिए। उनीहरूलाई लाग्दो हो, नेपालमा त हामी हौ नि करातेमा ‘शान्त थोकरको के हैसियत’।
करातेमा नेपालमा हैसियत बनाएकाहरू, न्यु योर्कमा एलो क्याप र उबरमा भविष्य देख्न थाले। तर त्यो भिडमा शान्त अलिक फरक देखिए। उनले आँट गरे कराते स्कुल खोल्ने।
‘हेरौँ न कति दिन चलाउँछ।‘सन् २००७ मा न्यु योर्क विक्न्सको ज्याक्सन हाइटमा शान्तले कराते स्कुल खोल्दा, डाइभर्सन प्लाजाको वरिपरि रहेको रेस्टुरेन्टका वेसमेन्टमा कागजको गिलास उचाल्नेहरू पनि थिए।
उनीहरू नेपालमा करातेमा शान्त थोकरको हैसियत नाप्दै हुन्थे। यता शान्त थोकर नाम जस्तै शान्त रहे र अगाडि लम्कँदै गरे।
यो बिचमा न्यु योर्कमा धेरै उथल पुथल भयो। आफ्नो पहिलो स्कुल आफ्नै चेलालाई बेचे र अलिक पर अर्को स्कुल खोले आइएमए निहोन कराते डो युएसए । अहिले उनले न्यु योर्कको क्वीन्सस्थित उडसाइड र फरेष्ट हिलमा गरी दुई वटा स्कुल चलाइ रहेका छन्।
शान्तले सपना देख्न छोडेनन्। स्कुल खोलेको अर्को वर्ष देखि नै देख्दै आएको त्यो सपना डिसेम्बर ८ तारिख आइतबार पुरा गरेरै छोडे। न्यु योर्कमा कराते च्याम्पियनसिप आयोजना गर्ने पहिलो नेपाली बनेर।
क्वीन्सको नरदनबुलेभर्डस्थित एल्मकोर सेन्टरको हलमा भएको आइएमए कराते च्याम्पियनसिपमा सात मुलुकका दुई सय ५० खेलाडीले आ आफ्नो कौशल देखाए। ३५ जना रेफ्रीले दिन भर पाँच वटा म्याटमा निरन्तर खेल सञ्चालन गरी रहे।
पाँच देखि ४५ वर्ष उमेर समूहका खेलाडीहरू भिडिरहेका थिए। फ्याराफिटमा दर्शकहरू पनि खचाखच दिए।
काता र कुमुते गरी एक सय ३२ स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खेलाडीले एक सय ३२ रजत र तीन सय ६४ काश्यका लागि खेले।
आयोजक आइएमए निहोन कराते डो युएसए कुल ४४ पदक सहित पहिलो भयो। निहोनले १० स्वर्ण १४ रजत र २१ कास्य पदक जिते।
यस्तै २४ पदक सहित ड्रुक इन्टरनेशनल सितोरियो कराते एसोसिएसन (डिस्का) दोस्रो स्थानमा रह्यो। डिस्काले सात स्वर्ण ६ रजत र ११ कास्य जित्यो।
लिनब्रुक अल्टिमेट मार्शलर्ट्स तेस्रो भयो। लिनब्रुकले पाँच स्वर्ण, सात रजत र ८ कास्य गरी २० पदक जित्यो।
युएसए सितोरियो कराते डो एसोसिएसन (इस्का ) १९ पदक सहित चौथो स्थानमा रह्यो। इस्काले समान ६ स्वर्ण र रजत तथा सात कास्य जित्यो।
हिराल्डोको काई शोतोकन पाँचौँ स्थानमा रह्यो। हिराल्डोले तीन स्वर्ण आठ रजत र दुई कास्य सहित १४ पदक जित्यो।
जेन्युकान कराते डो पनि १४ पदक सहित छैटौँ स्थानमा रह्यो। जेन्युकानले दुई स्वर्ण दुई रजत र दश कास्य जित्यो।
‘यो पटक हामीले १४ सय डलर नगद पुरस्कार वितरण गर्यौ।’ च्याम्पियनसिप आयोजक प्रमुख थोकरले समाज टाइम्स सँग भने। थोकरका अनुसार एडभान्स तर्फका स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कार नै दिइएको थियो।
‘यो हामी नेपाली भाषी करातेकर्मीहरुका लागि उत्सव नै हो।’ भर्मणबाट न्यु योर्क आएका ड्रुक इन्टरनेश्नल सितोरियो डो एसोसिएसन (डिस्का) का अध्यक्ष तथा कराते रेफ्रि डा. हेमन्त घिसिङ भन्दै थिए।
‘न्यु योर्कमा मैले वर्षौँ देखि कराते प्रतियोगिता खेलाउँदै आएको छु, यस अगाडिका च्याम्पियनसिपहरूमा नेपाली भाषीको बाहुल्यता भएको प्रतियोगिता देखेकै थिएनौ। ‘आइएमए च्याम्पियनसिप पछि समाज टाइम्स सँग घिसिङले भने, ‘यस अगाडि हामी अल्पमतमा थियौ, यस पटक हामीले आफ्नो महशुस गर्न पायौ। ‘
‘मान्छेहरू टाढा टाढाबाट पनि न्यु योर्क आए, ओहायो, पेन्सिल्भेनिया, भर्मणबाट पनि खेल्न आए, यो अवसर शान्त थोकरले गरिदिनु भयो उहाँ हाम्रो अग्रज पनि हो, सिनियर पनि हो। यो च्याम्पियनसिपलाई मैले ऐतिहासिक उत्सवको रूपमा लिएको छु। ‘डा. घिसिङले भने।
च्याम्पियनसिपका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका महासचिव रामहरि अधिकारीले पनि च्याम्पियनसिप भव्य भएको प्रतिक्रिया दिए।
‘नेपाली कम्युनिटी सदस्यले इतिहासमा पहिलो पटक ठुलो कार्यक्रम आयोजना गरिएको छ, यो नेपाली समुदायका लागि गर्व महशुस हुने कुरा हो, म एनआरएनए अमेरिकाको तर्फबाट शान्त थोकरलाई धन्यवाद दिन चाहन्छु।‘अधिकारीले भने।
१७ वर्षको पर्खाइ र ६ महिनाको नियमित तयारी पछि च्याम्पियनसिप आयोजना गर्दा शिहान थोकरले खुसी व्यक्त गरे।
‘खुसी लागेको छ, कराते जीवनको यात्रामा आफैले आयोजना गर्न पाउँदा, च्याम्पियन सफल भयो।‘
फ्याट्ट बोलिहाल्ने बानी परेका थोकरले थपे ‘च्याम्पियनसिप आयोजना गर्दा धेरै कमी कमजोरी रहेको छ, अनुभवका कारण पनि पनि आगामी वर्ष सुधार गर्छौ।‘
च्याम्पियनसिपका थप तस्बिरहरु
च्याम्पियनसिपका हाइलाइट (भिडियो)
र यो पनि…