उपनिर्वाचनको नतिजाले माओवादी बन्यो उत्साहित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनमा पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको दाबी गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमतका आधारमा पार्टीले उपलब्धिमूलक परिणाम हासिल गरेको बताएका छन्।
प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भने, “हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा नयाँ संकल्पको रुपमा लिएको थियो। खासगरी, सरकारका सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको भावी दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रूपमा यसलाई लिएका थियौं। परिणाम स्वरूप उत्साहजनक सफलता प्राप्त भएको छ।”
प्रचण्डले उपनिर्वाचनमा विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई पार्टीले चिर्न सफल भएको उल्लेख गरे। उनका अनुसार, यसले माओवादी केन्द्रको एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको प्रमाणित गर्छ।
प्रचण्डले आगामी दिनमा सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका मूल एजेण्डामा केन्द्रित रहेर निर्वाचित जनप्रतिनिधिलाई जनताको सेवामा पूर्ण रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउँदै भने, “यो उपनिर्वाचनबाट प्रकट भएको अभिमतलाई पार्टीले आफ्नै एजेण्डा र पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त भएको जनादेशका रूपमा लिन्छ।”
प्रचण्डले जनताले माओवादी केन्द्रप्रति देखाएको अपार विश्वासलाई अझ सुदृढ बनाउँदै जनताको आकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उपनिर्वाचनको परिणामबाट माओवादी केन्द्रले आफ्नो सुशासन र समृद्धिका एजेण्डाप्रति जनताको सकारात्मक समर्थन देखिएको ठहर गरेको छ।