कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेस कृष्णमान डंगोल विजयी
काठमाडौं । देशभर भएका ४१ स्थानमा भन्दा सबैको केन्द्रमा रहेको काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो जित जोगाउन सफल भएको छ। आइतबार सम्पन्न उपनिर्वाचनको अन्तिम मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५,३३४ मतसहित विजयी भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी, नेकपा माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जन,ले ४,५५५ मत प्राप्त गरे। निर्वाचनको सुरुमा दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर अन्तिम मतगणनामा पछि तेस्रो स्थानमा झरे। उनले ४,३३७ मत प्राप्त गरे।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन, जसलाई धरानका मेयर हर्क साम्पाङको समर्थन थियो, चौथो स्थानमा रहे। उनले २,०३६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसले यो पदमा जित हासिल गरेको थियो। त्यसबेला कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले ९,०४३ मत प्राप्त गरेका थिए।
त्यतिबेला एमालेका केश रत्न बज्राचार्य ५,५५७ मतसहित दोस्रो स्थानमा रहेका थिए, भने माओवादी केन्द्रले यसपटकझैँ शिवशरण महर्जनलाई उम्मेदवार बनाएको थियो। उनले ४,०९० मत ल्याएका थिए।
यसपटकको उपनिर्वाचनमा कांग्रेसले फेरि आफ्नो जितलाई निरन्तरता दिँदै नगरपालिका प्रमुख पदमा कब्जा जमाउन सफल भएको छ।