पुस्तकमा स्वरसम्राट नारायण गोपाल

गण्डकीपुत्र
स्वरसम्राट नारायण गोपाल पढ्दै छु । बाहिर निस्कने अवस्था छैन । जाडोको राज छ । बाहिर जाँदा पनि कहाँ जाने । सबै आफ्नै दुनियाँमा व्यस्त छन् । आफ्नै धुनमा मस्त छन् । साहित्यको या कुनै विषयमा गफ गरौँ, साथीहरू फोन रिसिभ गर्न नभ्याउने गरी काममा छन् । मेरो लागि यो शहर मृत प्राय लाग्छ । कहिले पुस्तक हेर्यो । कहिले टिकटकमा गएर सुर न तालका गीत सुन्यो । कहिले चुपचाप बस्यो ।
काम नगर्नु अमेरिकामा अघोषित घरमै नजर बन्द हुनु हो । अचेल स्वास्थ्य पनि त्यति अनुकूल छैन । रक्सी खाएर मस्त सुतौँ जस्तो लाग्छ तर घरमा त्यो वातावरण पनि छैन । मानसिक रूपमा स्वास्थ्य हुन सकिएन भने मन उदास निरास हुने रहेछ । मलाई लाग्छ म नितान्त एक्लो हुदैछु । हिजो कवि ज्योति जङ्गलसङ्ग फोन भयो । योग गर, ध्यान गर, मनमा सकारात्मक चिन्तन गर, मृत्यु बारे सोच, मर्दा पछुतो नहोस् यस्तै के के कुरा गरिन । उनी अलि आत्म केन्द्रित छिन । मनभित्रै ज्ञानको प्रकाश खोजिरहेकी कुनै ध्यानमा मग्न भिक्षुणी जस्तो । बाहिरको त्यति चासो छैन उनलाई । मैले फोन नगरेको भए उनले फोन गर्ने थिइनन् । मलाई केही पुस्तक पठाई दिन्छिन् कि नेपालबाट भनेर फोन गरेको थिएँ । उनको विदेश भ्रमणको समय परेछ । सम्भव भएन भनिन । फोन राखी दिएँ ।
नारायण गोपाल पढ्दा लेखकलाई पनि सँगसँगै पढिँदो रहेछ । प्रकाश सायमी पहिले कवि त्यसपछि सिनेमाको डाइरेक्टर । त्यसपछि अरू परिचय । स्तम्भकार । गीत सङ्गीतको अन्वेषक । कार्यक्रम प्रस्तोता । साहित्यकारलाई परख गर्न सक्ने अध्येता । मंसिर महिनाको काठमाण्डौको कुनै एक चिसो रात । रेडियो सगरमाथामा एउटा दमदार आवाज सुने । प्रस्तुत छ अतीतका गीतहरूको एउटा विशेष कार्यक्रम अजम्बरी गीत सङ्गीत प्रकाश सायमीका साथमा । २०५५ साल जस्तो लाग्छ । गायक, सङ्गीतकार र गीतकारको इतिहास र वर्तमानको कथा । नितान्त फरक शैली । उद्घोषण गर्दाको शब्द चयन । विषयको गहनता । एफ एम रेडियो खुले देखि नै छेउ न टुप्पाको अङ्गेजी लवज सुनिरहेको मलाई त्यो कार्यक्रमले तान्यो । अब म नियमित भावक भए त्यो कार्यक्रमको । एक दिन एउटा कविता पठाए ।
म सगरमाथाको
फेदमा पल्टिएर
सुनिरहेको छु अजम्बरी गीतहरू
गीत नमर्ने रहेछ
नमासिने रहेछ
त्यो त दुबो भएर
पुनः उढ्ने रहेछ

पुनः मौलाउने रहेछ । यस्तै भाव थियो । सायमीजीले मलाई मन परेको कविता भनेर वाचन गरे । झोराहाट छोडेर काठमाडौँ हिडेपछी छोडिएको कविता लेखनले पुनः एक पटक सिर उठाउने चेष्टा गर्यो । अजम्बरी गीत सङ्गीतको भावक भएपछि । अब हामी काठमाडौँमा हुने साहित्यिक कार्यक्रमको नियमित दर्शक र श्रोता हुन थाल्यौँ । थुप्रै अग्रज साहित्यकारहरूसँग भेटघाट र परिचयको क्रम थपियो । गायकहरूसँग चिनजानले उनीहरूका गीत खोजाखोजी सुन्न थालियो । कतिपय कार्यक्रममा वक्ता हुने अवस्था निर्माण भयो । दिउँसो कार्यक्रममा गयो बेलुका आरजु बिष्ट सल्यानीले गरेको रिपोर्ट सुन्यो । उनको रिपोर्ट गर्ने शैली बिबिसी नेपाली सेवाका रिपोर्टरको जस्तो प्रस्ट हुन्थ्यो । यसरी नेपाली गीत, सङ्गीत र त्यसका सर्जक प्रति प्रेम र सम्मान बढ्दै गयो ।
हामीसँग नजिक हुने गीतकार, सङ्गीतकार र गायकहरूमा राष्ट्रकवि माधव घिमिरे, मञ्जुल, तुलसी दिवस, श्रीओम श्रेष्ठ रोदन, युवराज नयाँघरे, किरण खरेल, राममान त्रिशीत, रत्नसम्सेर थापा, अमर गुरुङ, न्ह्यु बज्राचार्य, राम थापा, गणेश पराजुली, यशोदा पराजुली लगायत थुप्रै श्रष्ठा र सर्जक थिए।
प्रकाश सायमीको नेतृत्वमा भावक अभियान नेपाल अजर अमर गीत, गीतकार, गायक र संगीतकारको खोजबिनामा लाग्यो । दीप अधिकारी, गण्डकीपुत्र, दिवाकर बाशिष्ठ, राजेश प्रधान, नवीन खतिवडा, अमित रिजाल, मोहन पहाडी, माया मितु न्यौपाने, सृजना दाहाल, अप्सरा खकुरेल, छोइसाङ लोप्चन, आरजु बिष्ट सल्यानी, चन्द्रमान माली, बिष्णुहरि घिमिरे लगायत करिब तीन सयभन्दा बढी भावकहरु अभियानमा सक्रिय थिए ।
कुपण्डोल स्थित भावक अभियान नेपालको कार्यालयमा म आफैले ती सबैको फोटो र ठेगाना सहित उल्लेख गरेर नाम दर्ता गरेको थिएँ । गायिका कोइली देवी लाई हामी आफैँ गएर भेटेका थियौँ । उनको चर्चा र परिचर्चामा अजम्बरी गीत सङ्गीत कार्यक्रममा प्रस्तोता प्रकाश सामयीले धेरै समय खर्चिएका थिए । यो एउटा स्तुत्य कर्म थियो । त्यसपछि शङ्कर लामिछानेको बारेमा काम भयो । अत्यन्त प्रखर र सशक्त निबन्धकार एवम् कथाकार शङ्कर लामिछानेका निबन्ध र कथाको अर्को संस्करण ननिस्किएको तीस वर्ष भएको रहेछ । पुस्तक पसलमा पुस्तक नपाइने रहेछ । प्रकाश सामयीकै अगुवाइमा भावक अभियान नेपालले उनका सबै कृतिको पुन : प्रकाश गर्यो र नेपाल प्रज्ञाप्रतिष्ठानको सभा हलमा भव्य कार्यक्रम बिच राष्ट्रकवि माधव घिमिरेको हातबाट विमोचन गरियो ।
स्वर सम्राट् नारायण गोपाल पढ्दै गर्दा भावक अभियानका ती अत्यन्तै उत्साही दिनको स्मृति ताजा भएर आयो । किनकि अजम्बरी गीत सङ्गीत सुन्दा यहाँ उल्लेख गरिएका धेरै पात्र र घटना त्यति बेला पनि प्रसङ्गवश चर्चामा आइरहन्थे । कवि दुर्गालाल श्रेष्ठ, भूपी शेरचन , रत्न सम्सेर थापा , प्रेम ध्वज प्रधान , माणिक रत्न , शङ्कर लामिछाने , अमर गुरुङ , गोपाल योञ्जन , कर्म योञ्जन , नरेन्द्र थापा , दिलमाया खाती , अरुणा लामा , अगम सिं गिरी , किरण खरेल , फत्तेमान , रञ्जित गजमेर , शान्ति ठटाल , गंगा राणा , रुबि जोशी , हरिभक्त कट्वाल , रत्नदास प्रकाश , तारादेवी आदि । मेरो लागि पुस्तक स्वरसम्राट नारायण गोपाल एउटा सुन्दर अतीत तिर फर्केर हेर्न उत्प्रेरित गर्ने साधन पनि बन्यो ।
स्वरसम्राट नारायण गोपालको जीवनी लेखिएको यो पुस्तकले नेपाली गीत सङ्गीत र गायकको मात्र होइन , सिनेमाको इतिहासलाई पनि उजागर गरेको छ । थ्री इन वन भनेजस्तो एभ्रीथिङ इन वन भएको छ पुस्तक । नेपालका कलाकार, दार्जिलिङका कलाकार, कोलकता र मुम्बइमा सङ्घर्षरत र चर्चित कलाकारहरको कुनै न कुनै रूपले प्रसङ्ग जोडेर परिचय दिने प्रयास गरिएको छ । नेपाली गीत सङ्गीत मात्र होइन त्यस समयमा रङमञ्चको अवस्था र स्थितिलाई पुस्तकले समेटेको छ । नेपाली कलाको स्वर्णिम युगको इतिहास सर्लक्क पुस्तकमा उतारिएको छ ।
हाम्रो नेपाली समाज बल्ल गायकलाई सम्मान गर्ने ठाउँमा आउँदै छ । नभए गायकको समाजमा त्यति मान सम्मान थिएन । नारायणगोपालले कति कार्यक्रममा अतिथिको रूपमा उपस्थित भएर भूमिका निभाए । तर फर्कने बेला आफ्नी जीवन सङ्गिनी पेमलासङ्ग हार्मोनियम बोकेर बढो कष्टका साथ फर्किनु पर्ने स्थिति बनेको कुरा पुस्तकमा पढ्दा हिरा नचिन्नेले हिरा नचिने पनि उसले आफ्नो चमक जीवित राख्छ भन्ने भनाई पाठकले संझिन्छन । नारायण गोपालको जीवनकालमा अनेक उतार चढाव आए । तर उनी आफ्नो गायनकलाबाट कहिले पछाडि फर्किएनन् । एउटै ध्येय एउटै उद्देश्य नेपाली गीतसङ्गीत जनजनका मनमनमा पुर्याएर नेपाली गीतसङ्गीतको भण्डार उज्यालो बनाउनु थियो ।
यिनी कतै उदारमना त कतै कठोर लाग्छन् घाम र छायाजस्तो । स्वाभिमानी नारायण गोपाल कसैको अपमान गर्दैन थिए र कसैले आफूलाई अपमान गर्न खोजे जाइ लाग्थे । गीति नाटक मालती मङ्गलेका प्रसङ्गमा सायमी लेख्छन् । गीति नाटक मालती मङ्गले मा नारायणले गाएका गीतहरू सर्वाधिक रुचाइए । एक बेला दुई किनार भएर बग्दै गरेका अमर गुरुङ र नारायण गोपालको पुनः दोस्तीले नयाँ जीवन पायो । यस कार्यमा राष्ट्रकवि माधव घिमिरेको भूमिका रहेको थियो । सांस्कृतिक संस्थानको एक घटना पछि तारादेवी र नारायण गोपाल बिच पनि बोलचाल थिएन । यी दुई स्वरको आलोक बोकेका कलाकारले नबोली नबोली गीति नाटकमा नायक र नायिकाको निम्ति स्वर दिए र मान्छेको मन जिते नाटकलाई अमर बनाए ।
नेपाली सुगम सङ्गीतको फाँटमा लगभग एक सय छत्तिस जति गीत गाएका नारायण गोपाल नेपाली गीत गाउने र सुन्ने मान्छे रहुन्जेल सदा यो धर्तीमा अमर रहने नेपाली गायक हुन । उनले आफ्ना समकालीन मात्र होइन अनुज पुस्तालाई प्रोत्साहित गर्न तिनका गीत र सङ्गीतमा पनि स्वर दिएका छन् । नारायण गोपालको चलचित्रको पार्श्व गायन चलचित्र परिवर्तनबाट अनौठो ढङ्गले सुरु भएको कथाको चर्चा छ पुस्तकमा । चेतन कार्कीको शब्द र भि बलसाराको सङ्गीतमा नायकका लागि गाइएको त्यो गीत मलाई पनि मन पर्ने नारायणगोपालले गाएको गीतमा पर्छ ।
बुझ्नै सकिनौ तिमीले
आँखाको भाका मेरो
हजार अर्थ अरूले
लाएर के गरूँ। माथीनै उल्लेख गरेँ । पुस्तकमा नारायण गोपाल एक्लै आएका छैनन् । उनले आफ्ना साथ थुप्रै ज्ञात अज्ञात महान् सर्जकहरूलाई साथमा आफूसँगै परिचय दिन लिएर आएका छन् । प्रकाश सायमीको यो सुझबुझ सहितको लेखनीलाई सलाम गर्छु र पुस्तक पढ्ने हरेक पाठकले त्यो अनुभूत गर्ने छ । यो मेरो ठम्याइ हो ।
नारायण गोपालका बारेमा जे लेखिएको छ यो पुस्तकमा सबै एक एक गरेर यो लेखमा समेट्न सम्भव छैन । स्वर्णिम सन्ध्याको नारायणगोपलको एकल गायन र त्यसको भव्यताका बारेमा लेखक सायमीजीले शब्द चित्र उतार्नु भएको छ । पढ्दै गर्दा पुस्तकमै नारायण गोपालको भावभङ्गीमा चलचित्र जस्तो सदृश्य देखा पर्छ ।
नेपाली गायन क्षेत्रका यी अमर गायक नारायण गोपालको जीवनी लेखेर प्रकाश सायमीले यी सङ्गै अरू थुप्रै कलाका महान् प्रतिभाहरूलाई पाठकका सामु प्रस्तुत गरेर एक ऐतिहासिक र बन्दनिय कार्य गर्नु भएको छ । लेखक प्रकाश सायमीको यो पुस्तक हरेक कला प्रेमी पाठकले एक पवित्र र महान् काव्यको रूपमा ग्रहण गर्ने छन् । लेखक प्रकाश सायमी लाई बधाई ।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
र यो पनि..