भीभीआईपीको विदेश भ्रमणमा विमानस्थलमा हुने भीड घट्ने
काठमाडौं । गृह मन्त्रालयले ‘अति तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१’ लागू गर्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीजस्ता अति विशिष्ट र विशिष्ट व्यक्तिहरूको विदेश भ्रमणका क्रममा विमानस्थलमा हुने भीडभाड घटाउने व्यवस्था गरेको छ।
यो संशोधनले उच्चस्तरीय व्यक्तिहरूको विदेश भ्रमणमा बिदाइ र स्वागतका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुने व्यक्तिहरूको सङ्ख्या कटौती गरेको छ।
राष्ट्रपति विदेश जाँदा वा फर्किँदा अब उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, प्रधानसेनापति, सचिवहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख मात्र विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुन पाउनेछन्।
उपराष्ट्रपति को भ्रमणमा पनि सीमित व्यक्तिहरूलाई मात्र उपस्थिति अनुमति दिइएको छ।
प्रधानमन्त्री को भ्रमणमा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, र अन्य चुनिएका पदाधिकारीहरू मात्र उपस्थित हुन पाउनेछन्।
गृह मन्त्रालयले संशोधित कार्यविधि लागू गर्नुको उद्देश्य अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमणको स्वागत र बिदाइ कार्यक्रमलाई व्यवस्थित, छरितो र भीडभाडरहित बनाउनु रहेको जनाएको छ। यसले सुरक्षा चुनौतीलाई समेत कमी गर्ने अपेक्षा गरिएको छ।
यसअघि, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू, सांसद, सचिवहरू लगायतको ठूलो टोलीले विमानस्थलमा उपस्थिति जनाउने गर्थे, जसका कारण भीडभाड बढ्ने र व्यवस्थापनमा समस्या पर्ने गरेको थियो।
यो नयाँ कार्यविधिले अति विशिष्ट व्यक्तिहरूको विदेश भ्रमण व्यवस्थापनलाई थप व्यवस्थित बनाउने गृह मन्त्रालयको दाबी छ।
* फाइल तस्वीर