पानी जहाजबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने १३ चिनियाँ नागरिक सहित १५ जना पक्राउ
फ्लोरिडा,अमेरिका/ पानी जहाज मार्फत अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने १३ जना चिनिया नागरिक सहित १५ जनालाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी भन्सार र सीमा सुरक्षा (सीबीपी) एयर एन्ड मरिन अपरेसन (एएमओ) मरिन इन्डिक्शन एजेन्टहरूले दक्षिण फ्लोरिडाको तटमा पुग्ने प्रयास गरिरहेको पानी जहाजमा चेकजाँच गर्दा १३ जना कागजपत्र विहीन चिनिया आप्रवासीहरू फेला पारेको जनाइएको छ।
सीबीपीले जारी गरेको विज्ञप्ति अनुसार नोभेम्बर १५ तारिख साँझ लगभग ८:४0 बजे, समुद्री चेकजाँचमा रहेका सुरक्षाकर्मीले बत्ती नबाली अमेरिका तर्फ आउँदै गरेको पानी जहाज देखे पछि सो जहाजलाई रोकिएको जनाएको छ।
विज्ञप्तिमा जनाइए अनुसार जहाज, २५-फिट सेतो ट्वीन-इन्जिन कुडी केबिन रहेको थियो।
‘सुरक्षाकर्मीले जहाजलाई रोक्न लगाए, जहाज सुरक्षित गरेपछि, एजेन्टहरूले जहाजमा धेरै व्यक्तिहरू भेट्टाए त्यसमा १३ जना कागजपत्र विहीन चिनियाँ नागरिक थिए।‘विज्ञप्तिमा भनिएको छ।
मरिन इन्डिक्शन एजेन्टहरूले जहाजमा ९ वयस्क पुरुष, ३ वयस्क महिला, १ नाबालिग भेटेको जनाएका छन्।
कागजपत्र विहीन सबै चिनियाँ नागरिक, दुई संदिग्ध तस्कर सहित कूल १५ जनालाई पक्राउ गरिएको जनाइएको छ ।