दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
साइबर अपराधको आरोपमा पक्राउ परेका प्रसाईंलाई म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको थियो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनकै निवासबाट जिल्ला प्रहरी परिसर भक्तपुरबाट २५ जनालाई नियन्त्रणमा लिएको थियो। १५ जनालाई भने गए राति नै छाडेको छ ।
ब्युरोले अबेरमात्रै प्रसाईंलाई बुझेपछि नभ्याएको भन्दै मंगलबार अदालतमा पेस गरेको थिएन। कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले ती व्यक्तिलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् अपुष्ट ‘प्रमाण’ प्रसाईंले सार्वजनिक गरेका थिए । यो प्रकरणमा प्रेस काउन्सिलले ९ वटा युट्युव च्यानललाई पनि कारबाही प्रक्रिया अघि बढाएको छ ।