नेपाली महिला टिमको ऐतिहासिक उपलब्धि, यु-१९ विश्वकपमा छनोट
काठमाडौं । नेपाल पहिलोपटक आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ। बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन्। साबित्री धामीले १२ रन बनाइन्।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै, रिनिथा रञ्जितले २० रन बनाइन् भने ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए।
नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्। उनले कप्तान धर्निधरका साथै ३ खेलाडीलाई एकै ओभरमा आउट गरिन्। नेपालका रिया शर्मा र सीमा केसीले २-२ विकेट लिँदा, रचना कुमारी चौधरीले १ विकेट लिइन्।
यस जितसँगै नेपालले आईसीसी यु-१९ महिला टी-२० विश्वकपको लागि पहिलोपटक छनोट प्राप्त गरेको छ, जुन नेपाली महिला क्रिकेटको लागि ठूलो उपलब्धि हो।
यु १९ महिला विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ ।