डोनाल्ड ट्रम्पको क्याबिनेटमा को-को अटाउँदैछन् त ?
पेन्सिल्भेनिया । अमेरिकामा नोभेम्बर ५ मा भएको निर्वाचन पछि जनवरी २० मा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्ने छन् । चुनाव जितेसँगै उनको क्याबिनेटबारे आम चासो रहेको छ ।
उनले अहिलेसम्म विभिन्न पदमा नियुक्त गर्ने व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेका छन् । उनले आफ्नो क्याविनेटमा धेरै नयाँ अनुहारलाई अवसर दिएका छन् । जसमा व्यापारी एलन मस्क, उद्यमी तथा आफैसँग प्राइमरी चुनावमा भिडेका विवेक रामास्वामी र न्यूज एन्कर पिट हेग्था जस्ता व्यक्तिलाई समेट्दै आफ्नो दोस्रो कार्यकाल सुरु गर्ने तयारीमा छन् ।
उनको टिममा को कोले पाउँदै छन् जिम्मेवारी ?
नव निर्वाचित राष्ट्रपति ट्रम्पले न्युज एङ्कर (समाचार वाचक)लाई रक्षामन्त्री (अमेरिकामा मन्त्रीलाई सचिव भनिन्छ) को जिम्मेवारी दिने भएका छन् । ट्रम्पले फक्स न्यूजका एन्कर पिट हेग्थालाई रक्षामन्त्री बनाउने घोषणा गरेका हुन् । यसैगरी स्टिभन विटकफलाई मध्यपूर्वको प्रतिनिधि नियुक्त गरेका छन् । उनीसँग इराक र अफगानिस्तान युद्धको अनुभव पनि भएकाले यो जिम्मेवारी सुम्पिएको अनुमान गरिएको छ ।
पिट हेग्थालाई रक्षा सचिवको रूपमा मन्त्रिपरिषद्मा नियुक्त गरेको घोषणा गर्न पाउँदा गर्व लागेको ट्रम्पले बताए । ट्रम्पले आफ्नो नयाँ टोलीमा विशेष साथी एलन मस्क र उद्योगी विवेक रामास्वामीलाई महत्वपूर्ण भूमिका दिएका छन् । मस्क र रामास्वामीले सरकारी दक्षता विभाग नेतृत्व गर्ने छन् । यो नयाँ बनाइएको विभाग हो । यसले सरकारी कर्मचारीतन्त्रको बारेमा अध्ययन गर्ने छ भने फजुल खर्च नियन्त्रणका लागि का मगर्ने छन् ।
रोयटर्सका अनुसार ट्रम्पले साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमलाई नयाँ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी नियुक्त गरेका छन् । क्रिस्टी नोएम सन् २०१८ मा साउथ डकोटाको पहिलो महिला गभर्नर पनि बनेकी थिइन् । गभर्नरको हैसियतमा उनले कोभिडको समयमा मास्क लगाउने आदेश कार्यान्वयन गर्न अस्वीकार गरेकी थिइन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा नोएमले टम होमनसँग काम गर्ने छिन् । उनीहरुले देशको सीमा सुरक्षा नीति र अध्यागमन सम्बन्धी मामिलामा काम गर्ने छन् ।
यसैगरी ट्रम्पले नेशनल इन्टेलिजेन्सका पूर्व निर्देशक जोहान रेटक्लिफलाई केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) को निर्देशकमा नियुक्त गरेका छन् ।
त्यस्तै ट्रम्पले विलियम जोसेफ म्याकगिन्लेलाई ह्वाइट हाउस काउन्सिलको रूपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले वातावरण संरक्षण एजेन्सी (ईपीए) को पुनर्संरचना गर्ने जिम्मेवारी आफ्ना ली गेल्डिनलाई दिएका छन् । ट्रम्पले चुनावी अभियानमा यो एजेन्सीको कडा नियम अन्त्य गर्ने प्रतिवद्धता जनाएका थिए ।
अमेरिकामा भएको राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ५०.३ प्रतिशत मतका साथ कुल ३१२ इलेक्टोरल कलेज भोट पाएका छन् । उनका प्रतिद्वन्द्वी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले मात्र २२६ इलेक्टोरल कलेज भोट (४८.१ प्रतिशत मत) पाइन् । भोट संख्याको हिसाबले ट्रम्पले कुल ७.५१ करोड भन्दा बढी मत प्राप्त गरेका छन् । कमला ह्यारिसले ७.१८ करोड भन्दा बढी भोट पाएकी छिन् ।