सीमा सुरक्षा अधिकारीको नाममा फोन ठगीबाट सचेत रहन आग्रह
ह्युस्टन । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) अधिकारीको नाममा ठगहरूले अमेरिकाभरका नागरिकलाई नक्कली फोन कलमार्फत व्यक्तिगत जानकारी माग गर्दै ठगीको प्रयास गरिरहेका छन्। यस किसिमको फोन कलबाट कुनै पनि प्रकारको व्यक्तिगत जानकारी उपलब्ध नगराउन सीबीपीले आग्रह गरेको छ।
सीबीपी ह्युस्टनका कार्यवाहक निर्देशक रोड हडसनका अनुसार, “सीबीपीका नक्कली अधिकारी बनेर व्यक्तिगत जानकारी माग्ने फोन कलको संख्या बढेको छ। सीबीपीले कुनै पनि आपराधिक गतिविधिमा शंका लागेमा पैसा वा सामाजिक सुरक्षा नम्बर माग्दै फोन गर्दैन। यदि कसैले सीबीपीको नाममा ड्रग्स वा पैसाको शङ्कास्पद ढुवानी बारे जानकारी माग्दै फोन गर्छ भने त्यो ठगी हो।”
नागरिकहरूले ठगहरूबाट आएको फोनमा आफ्नो नाम र ठेगानासहितको अवैध सामान बरामद भएको भन्दै सहयोग गर्न अनुरोध गरेको, अन्यथा प्रहरी आउँदैछ भनेर धम्क्याउने गरेको बताएका छन्। ठगहरूले सीबीपीका वास्तविक कर्मचारीको नाम र फोन नम्बर इन्टरनेटमा खोजेर नक्कली केस नम्बर र ब्याज नम्बरसमेत दिएका छन्।
कसैले फोनमा ड्रग्स वा पैसाको शिपमेन्ट रहेको र त्यसलाई समाधान गर्नका लागि बैंक जानकारी आवश्यक रहेको बताउँछन्। यस्तो फोन प्राप्त हुने वित्तिकै व्यक्तिगत जानकारी नदिन र तुरुन्तै फोन राख्न सीबीपीले सुझाव दिएको छ।
सचेत रहन सुझाव
१. सीबीपीले कहिल्यै पनि नक्कली पुरस्कार वा धम्की दिँदै फोनमार्फत जानकारी माग्दैन।
२. यदि कुनै कलमा सामाजिक सुरक्षा, बैंक खाता नम्बर वा क्रेडिट कार्ड जानकारी माग्छ भने तुरुन्तै फोन राख्नुहोस्। यो ठगी हो।
३. सीबीपीले कहिल्यै पनि उपहार कार्ड, क्रिप्टोकरेन्सी वा बैंक ट्रान्सफरद्वारा भुक्तानीको माग गर्दैन।
४. फोनको नम्बरमा विश्वास नगर्नुहोस्। ठगहरूले फोन नम्बरलाई वास्तविक देखाउन सक्छन्।
५. यदि कलबारे शंका लागेमा, सीधा सीबीपीको आधिकारिक वेबसाइटमा गई संपर्क जानकारी हेर्नुहोस्।
सीबीपीले अमेरिकी नागरिकहरूलाई यस्ता ठगीबाट सतर्क रहन र व्यक्तिगत जानकारी जोगाउन आग्रह गरेको छ।