बेलायतमा विश्वविद्यालयमा ट्युशन शुल्कमा वृद्धि
काठमाडौं । बेलायतको लेबर पार्टीका नेता तथा प्रधानमन्त्री सर केइर स्टार्मरले विश्वविद्यालय ट्युसन शुल्कमा वृद्धि गर्ने योजना अघि सारेका छन्। यस वृद्धि योजना अन्तर्गत, २०२५ को सेप्टेम्बरदेखि शुल्कलाई खुद्रा मूल्य सूचकांक ( आरपीआई) मुद्रास्फीतिसँग सम्बन्धित गरेर बढाइनेछ। यस योजनाले अहिले विश्वविद्यालयमा भर्ना हुन तयार भएका ए-लेवलका विद्यार्थीहरूलाई प्रभाव पार्नेछ।
हाल बेलायतमा विश्वविद्यालय शुल्क २०१७ देखि £९,२५० मा स्थिर छ। मुद्रास्फीतिका कारण यसमा वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको भन्दै लेबर पार्टीको शिक्षामन्त्री ब्रिजेट फिलिप्सनले सोमवार यसबारे घोषणा गर्ने अपेक्षा गरिएको छ। यद्यपि, सरकारलाई कुन महिनाको मुद्रास्फीतिको आधारमा शुल्क समायोजन गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको छ।
यस योजना अनुसार, यदि हालको मुद्रास्फीति दर (२.७%) मा शुल्क वृद्धि गरियो भने आगामी वर्षबाट ट्युसन शुल्क £९,५०० सम्म पुग्न सक्छ। तर, दीर्घकालीन रूपमा शुल्क £१०,५०० सम्म पुर्याउने सम्भावना रहेको बताइएको छ।
बेलायतका विश्वविद्यालयहरू आर्थिक संकटको सामना गरिरहेका छन्, जसअनुसार ४० प्रतिशत विश्वविद्यालय घाटामा जानसक्ने प्रक्षेपण गरिएको छ। शुल्क वृद्धि विश्वविद्यालयहरूको आर्थिक स्थायित्व सुनिश्चित गर्नको लागि आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
यसअघि, सन् २०२० मा सर केइर स्टार्मरले विश्वविद्यालय शुल्क पूर्ण रूपमा हटाउने वाचा गरेका थिए। तर, लेबर पार्टीको वित्तीय अवस्थाका कारण यो नीति हाल लागू नगर्ने र शुल्क प्रणालीलाई सुधार गर्ने नयाँ दृष्टिकोण अपनाउने उनको भनाइ छ।
यो परिवर्तनले विशेष गरी नेपालबाट अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरूलाई थप चुनौती दिनेछ, किनकि शुल्क वृद्धि र विद्यार्थी भिसामा कडाइका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा गिरावट आउने सम्भावना छ।