नेपाली जातीको शरणार्थी नियति !
गण्डकीपुत्र
भर्खरै प्रकाशित पत्रकार एवम् साहित्यकार मित्र भक्त घिमिरेको अन्तर्वार्ता हेरेँ । समाज टाइम्समा प्रकाशित उक्त अन्तर्वार्तामा आएका कुराहरू पढेपछि मनमा लागेका केही जिज्ञासा र केही आफ्नो बिचार राख्न मन लाग्यो।
अन्तर्वार्ता केही समय अघि त्रिवेणी साहित्य मञ्चले आयोजना गरेको बिचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमै केन्द्रित छ । कार्यक्रममा समय अभावले कुराहरू राख्ने, प्रति प्रश्न गर्ने वातावरण बनेन । यस विषयमा फेरि बसौँ र बहस गरौँ भनेर, हामी दुई भाइ भक्तजी र म प्रयासरत छौँ । हेरौँ कस्तो हुन्छ । यहाँ भक्तजी को सुरुवाती भनाई छ, केही संस्था या समूहले भाषा र साहित्यमा अब एक भएर जानू पर्छ भन्ने कुरा आएपछि।
भुटानीहरू को हुन भनेर स्पष्ट झलक दिनु आवश्यक थियो र त्यही उद्देश्य पूरा गर्न यो कार्यपत्र तयार गरिएको हो भनेर उल्लेख गरेका छन् । भाषा र संस्कृति समान भएका नेपाली भाषी एक भएर जाने कुरा राज्यका तर्फबाट आधिकारिक हिसाबले आएको होइन । त्यस्तो कुरा आएको मलाई जानकारी छैन ।
जनस्तरबाट अब हामी आफ्नो भूगोल भन्दा पर अर्कैको भनिएको भूगोलमा छौँ । तसर्थ भुटानबाट आएको होस या बर्मा र नेपालबाट यहाँनेर आफ्नो नेपाली भाषा संरक्षण मिलेर गरौँ भन्ने कुरा हो। आफ्नो साहित्य र संस्कृतिलाई जोगाइ राखौँ भन्ने कुरा मात्र हो । अब भुटानी नेपाली को हुन, बर्मेली नेपाली को हुन, भारतीय वा नेपालबाट आएका नेपाली को हुन ती कुरा आफ्नो इतिहास निर्माण गर्दा प्रष्ट्याउने कुरो हुँदै जालान् । पहिले नै हामी चैँ यस कारण विशिष्ट हौँ है भन्नू पर्ला जस्तो मलाई लाग्दैन र लाग्नु पनि हुँदैन ।
नेपाली मातृ भाषी वा नेपाली भाषी सबैको चिन्ता र चासो भाषा र संस्कृतिको संरक्षणमा भएको हुनाले एउटै उद्देश्य लिएर हिडेकाहरु एक भएरै हिँड्दा प्रभावकारी होला । यसै पनि हामी नेपाली भाषीहरू कुनै न कुनै साहित्यका संस्था खोलेर यो समाजमा काम गरिरहेका छौँ ।
त्यस्तै एक अर्काको ऐतिहासिक अस्तित्व मासेर एकता गर्नु दुवै पक्षको हितमा छैन भन्ने वाक्यांश प्रयोग भएको छ । यो नेपाल र भुटान सन्धि गर्न लागेको हो कि ? जस्तो अर्थ लाग्ने कुरा आयो। यो त संसारको जुनसुकै मुलुकमा बसेको नेपाली भाषी होस, उसको अस्तित्व लाई स्विकार्दै र सम्मान गर्दै, उनीहरू आपसमा एक भएर जाने कुरा न हो । यहाँ त बरु नेपाली शब्द कोषमा तत तत क्षेत्रमा नेपालीहरूले बोल्ने आगन्तुक शब्द के के हुन । व्याकरणको व्यवस्थापनमा के के समस्या होलान्, भाषाको संरक्षणको प्राविधिक जटिलता के के होलान् भन्ने विषयमा बहस र लेखको आवश्यक पर्ला।
संस्कृतिका सुन्दरतम धरोहर कसरी जोगाइ राख्ने भन्ने कुरा होलान् । साहित्य र संस्कृति राजनीतिक विषय होइन र हुनु पनि हुँदैन। हामीले एकताबद्ध भएर काम गरौँ भनेको चैँ नेपाली भाषी या नेपाली मातृ भाषी भएका कारणले मात्र हो । संस्कृति एक भएका कारणले मात्र हो। अनि यसको नेतृत्वमा वा चर्चा गर्नलाई नेपालकै या भुटानकै हुनुपर्छ पनि होइन । जसले पार लगाउने हिम्मत राख्छ उसले गर्ने हो । त्यो भारत , म्यानमार वा तेश्रो मुलुकको होस ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जसले विश्वका विभिन्न देशमा शाखा बिस्तार गरेको छ । जहाँ जहाँ नेपाली भाषीहरू छन् जस्तो म्यानमार, सिक्किम, थाइल्यान्ड लगायत चालीस भन्दा बढी देशमा । भुटानमा यसको शाखा खोलिएको थाह छैन। हुनसक्छ त्यहाँ साहित्यको क्षेत्रमा काम गर्नेहरू त्यति सक्रिय छैनन् । नेपाली भाषा त म्यानमारमा पनि भुटानमै जस्तो प्रतिबन्धित होला। तर त्यहाँ अनेसासले काम गरिरहेको छ। अरू यस प्रकृतिका संस्थाले पनि काम गरिरहेका छन् कि, खोज्न आवश्यक छ। भाषा परिषद् भुटान र विश्व भुटानी साहित्यिक संगठनको प्रभाव क्षेत्रका बारेमा पनि खोजविन हुँदै जान जरुरी छ । यो संस्थाले पनि फरक फरक मुलुकमा आफ्नो अभियान बिस्तार गर्दै छ ।
कार्यपत्रले उठाएको एउटा महत्त्वपूर्ण विषय भने शतप्रतिशत सही छ त्यो भनेको साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्ने भएपनी यस्ता संघ संस्थाहरू मार्फत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई सम्बोधन गर्ने नेपाल सरकारको आधिकारिक दृष्टिकोण प्रष्ट पार्न भूमिका खेल्नु पर्छ । नेपाली भाषा माथि कसैले या कुनै पक्षले गलत गर्न खोजे नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा त्यसका विरुद्ध बोलोस् भनेर अनुरोध गर्नु पर्छ । यो बोल्ने कुरामा अनेसासको मात्र होइन । आफ्नो क्षमता अनुसार भाषा परिषद् भुटान, विश्व भुटानी साहित्यिक संगठन लगायत नेपाल बाहिर बनेका र नेपालभित्रै बनेका संस्थाहरूको साझा आवाज हुनुपर्छ । यो नेपाल सरकारको दाइत्वभित्र पर्छ । यो विषयमा विमति जनाउनु पर्ने कुनै कारण नै छैन ।
कार्यपत्रको विषयमा नेपालको अन्तर्राष्ट्रिय अवधारणाका बारेमा प्रश्न छ । यो विषय कार्यपत्रले बोल्नु पर्ने विषय हो जस्तो लाग्दैन मलाई । हामीले कार्यपत्रले भाषा र संस्कृतिको एकताबद्ध अभियान जनस्तरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा बहस गरौँ भन्ने सोच बनाएका थियौँ । तथापि यो विषयमा यति भन्न सकिन्छ । राजा त्रिभुवन मात्र होइन राजा महेन्द्र र जनकवि केशरी धर्मराज थापा, जनकवि गोकुल जोशीले पनि मुङ्लान गएका नेपालीलाई आफ्नो देश फर्कन आव्हान गरेर गलत गरे भन्ने लाग्दैन।
‘नजाउ छोडी यो देश आमालाई रुवाएर। नबिर्स जन्मेको माटो देशलाई छकाएर।‘ म बि बि शाह।
देश बनाउने युवा शक्ति देशबाट पलायन भएर अर्को देश गएपछि राज्यले गर्ने कामपनी थियो। ठान्यो होला र गर्यो । अर्को प्रसङ्गमा बर्माबाट विस्थापित भएर आएका बर्मेलीहरूलाई नेपालका दक्षिणी भागतिर पुनर्वास गराइएको कुरा । त्यो समय देशमा बस्न नागरिकताको अहिले जस्तो चासो गर्ने , पर्गेल्ने चलन थिएन । जनसंख्या थोरै थियो , नेपाली मूलको जो कोही पनि जग्गाजमिन किनेर बस्न सक्थ्यो । अर्को कुरा नेपालको आन्तरिक राजनीतिमा राजाको एकलौटी चल्थ्यो । र त्यो समय हुनसक्छ तत्कालीन राजा महेन्द्रलाई बर्माबाट विस्थापित भएका नेपाली मूलका बर्मेलीहरूलाई आफ्नै मुकुलमा संरक्षण गरेर राखौँ भन्ने सोच आयो होला र उनैले प्रति परिवार डेढ वा दुई बिगाहा जग्गा सीमा छुट्टाएर बाँड्न लगाएका थिए । यसरी बसेका नेपालका विभिन्न गाउँ टोलको नाम नै बर्मेली टोल छ । यसो गरेर राजा महेन्द्रले त्यो समयमा गलत गरे भन्ने लाग्दैन ।
नागरिकताको प्रावधान सुरु नभएको बेला थुप्रै भुटानी नेपाली परिवार भुटानबाट आएर नेपालमा व्यवस्थित भएर बसेका छन् । पछि नीति नियम र कानुनमा कडाइ हुन थाल्यो । जसले गर्दा अहिले चाहेर पनि कसैलाई सजिलै नागरिक बनाउन सकिन्न । किर्ते गरी नागरिकता बनाए जेल जान्छ । कतिपय देशमा त प्रवेश नै निषेध छ। यस्ता कुरा त्यो देशको संविधान र कानुनले निर्देशित गर्छ ।
दार्जिलिङबाट अमर गुरुङ, रञ्जित गजमेर जति बेला नेपाल आए नागरिकताको चलन थिएन । भएपनी अहिले जस्तो जटिलता थिएन । उनीहरू एकेडेमीका कर्मचारी भए, पछि नागरिकता पाए । त्यस्तै भुटानबाट विस्थापित गराइएका शरणार्थी , त्यस्तै दार्जिलिङ तिरबाट कलाकार तुलसी घिमिरे, गोपाल भुटानी पछि आए त्यस बेला नागरिकता लिएर मात्र सरकारी सेवामा जागिर पाउने व्यवस्था आयो । नागरिकता नभए नेपालको नागरिक होइन्नथ्यो । नागरिकता दिनुस् भन्दा पनि उनीहरूले पाएनन् । समय समयमा राज्यको नीति नागरिकताका विषयमा बदली रहन्छ । त्यसमा राजनीतिक परिवर्तन र अन्तर्राष्ट्रिय घटनाक्रमले पनि प्रभावित गरेको हुन्छ । त्यही भएर पनि उनीहरूको नागरिकता प्राप्त गर्ने प्रक्रिया पुगेन ।देशको संविधान र कानुनले जे निर्देशन गर्छ त्यो त लागू हुन्छ नै ।
कार्यपत्रले नेपालतिर बाट आएका नेपालीहरूलाई प्रतिपक्षी जस्तो धेरै ठाउँमा अनावश्यक प्रश्न गरेर तिमिहरुनै दोषी हौ भनेझैँ गरेको छ । भोलि परि आए घर फिर्ने आधार छ भनेर एक ठाउँमा उल्लेख गरिएको छ । अस्ति केही समय अगाडि पूर्व राजा ज्ञानेन्द्रका भाइ धीरेन्द्रकी छोरी जो अमेरिका जन्मिएकी थिइन । उनले नागरिकता पाउँ भनेर भोगेको भुक्तमानको व्यापक चर्चा थियो। छोरो अमेरिकामा जन्मिएर यतै बिहे गरेर सन्तान भए उस्का सन्तानले नागरिकता पाउँदैनन् । अनि कुन घर फिर्ने हो ? अनि अबको समयमा नेपाल जत्रै नेपाल संसार भरी छरिएर बसेको छ । अब यो सम्भव छ ? जटिलता भुटानबाट विस्थापित नेपालीको मात्रै हो र ? आषामबाट नेपाली लखेटिएका छन् । बर्मा बाट लखेटिएका छन् । नेपालबाटै यता र उता लखेटिएका छन् । आन्तरिक शरणार्थी भएर । जटिलताहरू जस्तो भएपनी अब यो जाती जहाँ जहाँ छ त्यहीबाट भाषिक र सांस्कृतिक एकताको अभियान चलाउने हो ।
नेपालबाट बाहिरिएकाहरू रहरले बाहिरिएका हुन भनेर कार्यपत्रले बोलेको छ । राम शाहका पालामा बाहिरिएका नेपाली हुन अथवा आजको मितिमा नेपाल छोड्दै गरेको नेपाली होस । हर एक नेपालीले बाध्यताले जन्मभूमि छोडेका छन्,चाहे राज आज्ञा पालन गर्नुपर्ने बाध्यता होस या भोको पेटको उत्प्रेरणाले होस ।
कुन देशको मानिस रहरले देश छोड्छ र ? उसको जीवनमा जब जीवन चलाउने आधार भत्किँदै जान्छ । मान्छे आफैँ बाहिरिँदै जान्छ । भुटानमा नेपालबाट राम शाहका पालामा मात्र होइन, हाम्रा हजुरबा पुस्ता सम्मका नेपाली सुख र कामको खोजी गर्दै भुटान गएको कुरालाई कम्तीमा हामी बिच लुकाई रहन आवश्यक छैन । एक थरीलाई शासकले आफ्नो स्वार्थ देखे पठाए अबको अवस्थामा भुटानी शासकले माग गर्दैमा कोही राज्यको आदेश भनेर बाटो लाग्ला र ? अनि अर्का थरी नेपालमा दुख भयो, सुख खोज्दै भुटान गए, त्यहाँको शासकले नेपालीहरूको चेतना उन्नत हुँदै गएको बुझ्यो । प्रजातन्त्र र मानव अधिकारका लागि अलि जागरूक हुँदै गएको बुझ्यो । सेना लगाएर लखेट्यो । उसलाई आवश्यक ठानुन्जेल ठिकै थियो । नागरिकले आफूलाई चाहिएको कुरा माग गर्दा शासक रिसायो ।
संसारमा कुन शासकले किस्तीमा सजाएर जनताका हक अधिकार बहाली गरेको छ र ? कुन शासकले मानव अधिकार र प्रजातन्त्र जन्मदिनमा कसैले फूलको गुच्छा सप्रेम दिए जस्तो दिएको छ र ?नेपालमा लोकतन्त्र सम्मको यात्रा गर्दा कतिले ज्यान गुमाउनु पर्यो । गन्ती गर्न सक्ने आँकडा छ र ? अझ दस वर्षको जनयुद्धको बेला लागेका गोली र बमका टुक्रा शरीरमा बोकेर कति हिँडिरहेका छन् । अहिले बिस लाख भन्दा बढी नेपालका नागरिक भनिएका मानिस देश बाहिर छन् । जाने ठाउँ पाएका भए जनयुद्ध कालमा दशौंलाख मानिस बाहिरिन्थे होला । जाने ठाउँ थिएन देशमै मरे सेना र विद्रोहीको यातना बाट । त्यसैले कोही पनि रहरले आफू जन्मिएको धर्ती छोड्न चाहँदैन । बरु भन्न सकिन्छ , अमेरिका या अन्यत्र हामी नेपाली भाषी आ-आफ्नै पीडा बोकेर आएका छौ । अब नितान्त बिरानो परिवेशमा राजनीति नमिले पनि भाषा र संस्कृति एकै भएका हामी अगाडि को यात्रा मिलेर तय गरौँ ।
भुटानबाट विस्थापित गराइएकाहरूको पक्षबाट नेपाल सरकारले उचित समन्वय गर्न सकेन । यस कुराको सामान्य ज्ञान क ख रा पढेको हर कोही नेपालीले बोल्न सक्छ । यो कुरामा सम्पुर्णरुपमा नेपाल सरकार मात्र दोषी हो जस्तो लाग्दैन । ( यो कुरा नेपाल सरकारको आधिकारिक धारणा भन्दा पनि मेरो बिचारमा लागेको कुरा ) यो सार्क मुलुकको विडम्बना जस्तो लाग्छ । बडाले जो गर्यो काम , हुन्छ त्यो सर्वसम्मत । त्यसमा नेपाली जनताको कुनै भूमिका हुने कुरा भएन । बरु भुटानी प्रजातन्त्रको बहालीका लागि लड्नुपर्ने नेपाली मूलका भुटानी आपसमै गुटगत स्वार्थ र नेता हुने होडमा आफ्नै स्वजातिय बन्धुमाथि आक्रमण गर्न तिर लाग्यो । जसले प्रजातान्त्रिक आन्दोलन शिथिल भयो ।
दन्किदो भुटान , भम्पा , वासदेखी पुनर्वास जस्ता भुटानको इतिहास र वर्तमान पर्गेलेर लेखिएका पुस्तकमा पनि लोभी , लालची , चाटुककार नेपाली मूलका भुटानीले भुटानको प्रजातान्त्रिक आन्दोलन निस्तेज पार्न राजाको भक्तिमा जय गान गाएको चर्चा छ । आफ्ना कमी कमजोरी लाई नदेखे जस्तो गरेर अगाडि बढ्दा हात लाग्यो शून्य नै हुने हो ।
जनता गणतान्त्रिक भनिएको नेपालमा अहिले पनि शिर ठाडो पारेर हिँड्न सक्ने अवस्थामा छैन । नेपालीलाई सम्बोधन गरेर भन्दा पनि नेपाल सरकारलाई सम्बोधन गरेर जति गुनासो गर्न मिल्छ गरौँ । तर यसरी नेपाली नेपाली भनिरहँदा सामान्य मानिस नेपालका नेपालीलाई अपराधी हुन कि जसरी व्यवहार गर्ने दिन नआउला भन्न सकिन्न । एउटा भ्रमलाई धेरै पटक दोहोर्यायो भने हो कि हो कि लाग्न थाल्छ रे । यो पनि एक खाले शासकको फर्मुला हो भन्छन् । आम मानिसलाई फुटाऊ र आफू सत्तामा रमाई रहु । यस्तो सम्बोधन सचेत भएरै गर्नु राम्रो होला कि ? यस किसिमको सम्बोधनले कति नेपाली र नेपाली मूलका भुटानीहरूका घरमा विग्रह ल्याउन सक्ने कुरा तर्फबाट पनि ध्यान दिने हो कि ?
अहिलेको नेपाली सहजै काम पाइन्छ खर्च नगरी भन्यो भने गुन्टा कसेर तुरुन्त देश छोडेर बाहिरिन तयार छ । पीडा सबैमा छ , नेपाली मूलका भुटानी जसरी रुँदै जहाजका भर्याङ्ग उक्लिएका थिए , त्यो भन्दा धेरै वर्ष अघि देखि आज सम्म नेपालबाट नेपाली त्यस्तै अश्रु धारा बगाउँदै जहाजको भर्याङ्ग उक्लँदै छन् । हामी एउटै पीडाबाट प्रताडित जाती हैनौ र ? कहिले देखि देश छोड्न बाध्य भएका हौ हामीले थाह छैन र ? सबै नेपाली जातीको पीडा एकै हुँदाहुँदै हामी राजनीति र इतिहासको घारो तेर्स्याएर आपसमै भिड्दै छौ । यो भिडन्तको अन्त्य नेपाली जातीको विनाश बाहेक केही होला र ? त्यो जुनसुकै भूगोलमा जन्मेको होस । नेपालबाट कामको खोजीमा बिदेशिन बाध्य भएकाहरूको जीवन कसरी बित्दै छ । हामीले देखेका छौँ , सुनेका छौ , एउटा सानो कोठामा भेडा बाख्रा खाँदेर राखेझैँ भएर विदेशमा श्रम गर्न गएका मान्छे कोचिएर बसेका छन् ।अहिले काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा दिनमा दस बाह्र वटा बाकसमा लास भित्री रहेका छन् । यस्तो दर्दनाक पीडा भोगिरहेको कसैलाई रहरले देश छोडेको भन्दा कति अपमानित भएको महसुस गर्दो हो ।
एक ठाउँमा भक्तजीले भुटानीहरू सांस्कृतिक नेपाली हुन भन्नू भएको छ । म पनि त्यही कुरामा सहमत छु । र मेरो भनाई के मात्र हो भने हामी अमेरिकन यहाँको नागरिकता लिएर भएका हौँ । त्यही नागरिकताका आधारमा हाम्रो राजनैतिक यात्रा सुरु हुन सक्छ चाहेको खण्डमा । कुनै व्यक्तिको जातीय या भाषिक या सांस्कृतिक पहिचान नागरिकताले दिन सक्दैन ।
हामी सङ्ग अमेरिकाको संसद् भवन भित्र पस्न नागरिकता मात्र फेरे पुग्छ । हिजो म नेपालको नागरिक थिए अहिले मात्र नागरिकताले अमेरिकी भएको हुँ । सांस्कृतिक हिसाबले म नेपाली नै हुँ किन कि मेरो संस्कृति नागरिकता फेरेजस्तो फेरिँदैन । यो अर्थमा मैले कुनै एउटा लेखमा संस्कृतिका अनेक कुरा मध्ये , नेपाली जनजीवनका व्यावहारिक पहिरन र उपभोग्य बस्तुको उदाहरण दिएको थिए । ब्राह्मणले लगाउने जनै , विभिन्न जातीका नेपालीले लगाउने पहिरन आदि यति नै हाम्रो संस्कृतिको मुलकुरा हुन भनेको थिएन । एउटा कुरा त सत्य हो अमेरिकी संसद् हुन अरू देशको नागरिकता वर्जित छ । तर भाषा र संस्कृति वर्जित छैन । आफ्नो पुर्खाले मान्दै र सम्मान गर्दै आएको सांस्कृतिक पहिरन लिएरै पनि हामी अमेरिकी सांसदभित्र छिर्न सक्छौ । त्यसैले भाषा र संस्कृतिका विषयमा नागरिकता या राजनीतिको कालो दाग पर्नुहुन्न भनेको हुँ ।
माथि जे जति कुरा मलाई मेरो चेतनाले दियो त्यो राखेको हुँ । विमति हुनुहुन्न भन्ने कुरै आउँदैन । सबैले मेरो कुरामा लालमोहर लाई दिउन भन्ने पनि होइन । तर भक्त घिमिरे जस्तो पत्रकारितामा माझिएको , खारिएको , इतिहासको ज्ञान भएको विद्धान साहित्यकारले उठाउनु भएका अनेक प्रसङ्गमा म सहमत छु । उहाँको तथ्य तथ्याङ्कको, विषयको गाम्भिर्यतालाई प्रस्तुत गर्ने शैलीको भने जति तारिफ गरे पनि कन नै हुन्छ । मेरो कमी कमजोरी मा यहाँको सकारात्मक ध्यान जाने नै छ । मैले सबै कुरा उठाए भन्ने छैन , छुटेका कुरा गर्दै जाउला , यो गहन अन्तर्वार्ता जसले मलाई लेख्न प्रेरित गर्यो यस्का लागि मित्र भक्त घिमिरेलाई धन्यवाद । आगामी दिनमा यहाँबाट अरू विषयमा पनि बिचारहरू आइरहुन् ।
अस्तु ।।
नोट :- यो लेख पत्रकार एवम् साहित्यकार भक्त घिमिरेको अन्तर्वार्ताको आधारमा तयार भएकोले त्यो अन्तर्वार्ता हेर्नू भए यो लेख बुझ्न अझ सजिलो हुने छ ।
गण्डकीपुत्र
झोराहाट , मोरङ
हाल :- अमेरिका
र यो पनि…