भूटानले ‘नेपाली लखेटेको होइन, स्वतन्त्रता चाहनेहरुलाई धपाएको हो’ : श्रीभक्त
नेपालीभाषी मात्र त्यो बक्रदृष्टिको शिकार बनेका भए ओम ढुङ्गेल (हरु) निर्वासित हुँदा दिननाथ ढुंगेल (हरु) भूटानमा परराष्ट्र दूत (मन्त्रीसमेत) बनिरहन सक्ने थिएनन् । डा.भम्पा राई, बलराम पौडेलहरु शरणार्थी बनिरहँदा नन्जलाल राई, ठाकुरसिङ पौडेलहरु भूटानमा मन्त्री बनिरहने थिएनन् ।
झण्डै छमहिना अघि यानिकि मई ११, २०२४ को दिन त्रिवेणी साहित्य मञ्चको आयोजनामा अमेरिकाको पेन्सिल्भेनियामा सम्पन्न कार्यक्रममा यहाँले प्रस्तुत गर्नुभएको ‘पहिचानबोधको प्रश्न’ शीर्षकीय अवधारणापत्रबारे केही कुरा गरौं ।
जुन अपेक्षाले कार्यक्रम गरिएको थियो, त्यो पूरा भयो ?
एउटा मञ्चीय कार्यक्रमको हिसाबले त पूरा भयो नै भन्नुपर्छ । तर, लक्षित अपेक्षाको हिसाबले यकिन गर्न सकिन्न । किनभने समूहको अपेक्षा एउटा हुँदैन । त्यहाँ संस्थागत अपेक्षाहरु हुनसक्छन्, व्यक्तिनिहित अपेक्षाहरु हुनसक्छन् । सबैको अपेक्षा एउटा अवधारणा-पत्रले पूरा गर्नसक्ने कुरै भएन । अनेकौं चरणमा छलफल, बहसपैरवी गरेर बनाएका दस्तावेजहरु, देशका संविधानहरु त कालान्तरमा अपेक्षा पूरा नभएर खारेज हुन्छन् भने एउटा विषयको, एउटा निश्चित कालखण्डलाई उजागर गर्ने प्रकृतिको वैचारिक आधारशिलाले सबै पक्षको अपेक्षा एकमुष्टरूपमा पूरा गर्न सम्भवै छैन । यद्यपि, त्यो दिनको कार्यक्रमको मुख्य आकर्षणचाहिं सो कार्यपत्र नै थियो । विषयमा खुलेर विमति राख्ने मानिसहरु अघि बढेनन् । शायद समयको चापले गर्दा भनौं वा कार्यतालिकामा धेरै कार्यक्रम रहेकाले विषयमा यथेष्ट एकाग्रता कायम भएन । यद्यपि, आदरणीय कृष्ण धरावासीजीले ‘अर्धकट्टी’को सन्दर्भ जोडेर त्यो दिनको चर्चालाई चित्तबुझ्दो निष्कर्ष दिनुभएको थियो ।
कार्यपत्रको मुख्य उद्देश्य के थियो त?
केही संस्था चलाउने र केही लेख्ने कवि-लेखकहरु समेतले भूटानबाट छरिएका नेपालीहरुप्रति सद्भावना, निकटता दर्शाउन वा नश्लीय नाताको आभास दिलाउन अथवा कोही यसै भावनात्मक उद्वेगमा बगेर ‘तपाइँ र हामीहरु एकै हौं, तपाइँहरु पनि नेपाली’, ‘अब भुगोलका कुरा गर्न छोडेर भाषिक जातीयताको कुरा गर्नुपर्छ’ भन्न थाले । यो कुरो केही हदमा ठिकै पनि हो । तर, केही वस्तुगत आधारहरु फरक छन् । त्यसो हुनाले भूटानीहरु को हुन् भनेर समूहिक अस्तित्वको झलकबारे प्रष्ट जानकारी दिन यो विषयको प्रस्तुति आवश्यक थियो । त्यही उद्देश्य हो ।
त्यो कार्यपत्रको प्रस्तुतिपश्चात धेरै मान्छेले ‘नेपाली’ र ‘भूटानी’ अलग हुन्; जबरजस्ती एक ठाउँ मिसाउनु हुँदैन भन्ने बुझेको भान भइरहेको छ ! के त्यही सत्य हो?
कुरा त्यस्तो होइन । त्यो पूर्णतः अपव्याख्या हो । संसारमा भएका अनेक आवरण र पृष्ठभूमिका मान्छेहरुमध्ये भूटानीहरुका लागि सबैभन्दा निकट र सहोदर भनेका नेपालीहरु नै हुन् । हामीले केही गर्नुपर्दा झट्टै मिल्नसक्ने र त्यो मिलनलाई दीर्घकालसम्म टिकाउने मान्छे नेपालीहरु नै हुन् । तर, एक अर्काको ऐतिहासिक अस्तित्वलाई मासेर त्यसो गरिनु दुवैपक्षका लागि हानिकारक छ । जेठमा बीउ छरेर, असारमा रोपाइँ गरिहाल्ने ऋतुपरक खेती होइन यो । आ-आफ्नै तहमा इतिहासलाई दस्तावेजीकरण गरेर भविष्यका लागि कसरी जाने भन्ने नीतिगत कुरा समेत तय भएपछि मात्र हामी पूर्ण समझदारीमा सँगसँगै अघि बढ्न सक्छौं । अथवा निश्चित नीति र योजना बनेपछि सहकार्यमा अघि बढ्न सकिन्छ । तर, योजना केही छैन, यसै ‘एकता’ ‘एकता’ भनेर त्यस्तो सम्भव छैन । रेखाचित्र वा तस्वीर झैं स्पष्ट देखिने योजनाको नीतिगत एकताका लागि हामी सधैं तत्पर छौं ।
मलाई आशा छः यहाँहरुले बुझिदिनुहुनेछः एकताको नाममा ‘बहुमूल्य पौरख’हरु त्यागेर एउटै गादो भिर्नुपर्ने, एउटै भाषामात्र बोल्न पाइने, एउटै आहार-बिहार गर्नुपर्ने आदेशको पालन गर्न नमान्दा हामी देशविहीन भएका हौं ! त्यसर्थ, यो ‘एकता’ वाक्यले हामीलाई बारम्बार तर्साइरहन्छ ! त्यसो भन्दैमा हामी एकता नचाहने मान्छे होइनौं । कहिलेकाहीँ हामीलाई ‘एकताविरोधी’ भनिएको पाइएको छ । त्यो गलत कुरा हो । एकता के उदेश्य र लक्ष्यमा ? भन्ने प्रतिप्रश्न राखेर त्यसको वृत्तान्त बहसपछि आएको निष्कर्षले तय गरेको एकता हामी पनि चाहन्छौं । मैले अहिले बुझेको एकताचाहिं परिभाषा र व्याख्यामा एक शब्दले सम्बोधन गर्ने एकताभन्दा निर्दिष्ट योजनामुखी कार्यमा एकता प्राथमिक कुरा हो । जस्तैः विश्वभरि छरिएका नेपालीहरुलाई सम्बोधन गर्नलायक नेपाल सरकारको आधिकारिक दृष्टिकोण निर्माण गर्ने/गराउने उद्देश्यमा सहकार्य गर्नसकिन्छ । कुनै देशले नेपालीहरुको विरासतमाथि हानि पुग्नेगरी गरेका पहलहरूविरुद्ध अन्तरराष्ट्रिय मञ्चहरुमा चर्चा उठाउन प्रयत्नहरु गर्न सकिन्छ । भाषा-साहित्यको कुरा त छँदैछ । यसका केही प्राविधिक पक्षहरु पर्गेलेर अघि बढ्न सकिन्छ ।
तर, बिडम्बना नै मान्नुपर्छ; नेपालीहरु एकजुट भएर स्वविवेकले आफ्नै समुदायको हितमा केन्द्रित हुँदैनन् । यिनीहरुलाई कामदार बनाउन अरु नै नेतृत्व हाँजिर हुनुपर्छ ! गोराको अधीनमा यान्त्रिक बनेका ‘विश्वविजेता गोर्खा सिपाही’ को मनोवृत्ति अझै पनि गएको छैन शायद ! यो मनोवृत्ति फेर्नलाई विश्वका नेपालीहरुको आस्थाकेन्द्रमा विद्यमान द्रव्यपैशाची चेतना हट्नुपर्छ । भ्रष्टाचार घटे नेपाल बौरिन्छ । त्यसपछि दीर्घकालीन कुटनीतिक पहल गर्दै नेपाली अस्तित्वलाई संसारमा प्रशंसायोग्य साबित गराउन सकिन्छ !
नयाँ अन्तरराष्ट्रिय नेपाली अवधारणा निर्माणका सन्दर्भमा एउटा प्रसंग उल्लेख गरौं- सन् १९३० ताका नेपालका राजा त्रिभुवन र प्रधानमन्त्री भीम शमशेरको कार्यकालमा सैनिक जेनरल तेजबहादुर बस्नेतलाई एकभारी पर्चा बोकाएर सिक्किम दार्जीलिङ, भूटान, आसामसम्म छर्न पठाइएको थियो । सो पर्चामा “सबै नेपालीहरुलाई फर्किएर आफ्नै देशमा आउन” भनिएको थियो । आउन चाहनेहरुलाई मोरङ मधेशमा प्रशस्त जग्गा, स्वास्थ्य-सुविधा, शिक्षा र आर्थिक राहतका कार्यक्रमसमेत तयार भएको कुरा सो पर्चामा उल्लेख थियो । यदि अहिले पनि नेपाल बाहिर रहने नेपालीहरुप्रति नेपालको शासकीय अवधारणा उही छ कि फेरियो? फेरियो भने वर्तमान राष्ट्रिय नीति के हो? मूल प्रश्न यी हुन् । यी कुरामा खोज, अनुसन्धान, विमर्शका योजनाहरु बनाउन सकिन्छ । अहिले बजारमा चलेको ‘एकता’ शब्दावलीको प्रकृति राजा त्रिभुवन र भीमशमशेरकै पालाको अवधारणा हो । नेपालका शासकहरुलाई इतिहासमा यस्तो पनि भएको थियो भन्ने शायद जानकारी नै छैन । त्यसर्थ, हरेक पाइलामा कुनै पनि विचारको लक्षित प्रयोजन र ऐतिहासिक मूल्यबोध गर्नु जरुरी हुन्छ ।
लक्षित प्रयोजन र ऐतिहासिक मूल्यबोध गरिनुको तात्पर्य विगतका कथा-कहानीमै डुबुल्की मारेर बसौं भन्ने होइन । अब हामीले बाँच्ने समय भविष्य हो । त्यसर्थ मौजुदा दैनिकीमा बाँचेर हामी लामो अन्तरालसम्म व्यवहारिक रूपले भूटानी वा नेपाली भइरहन सजिलो छैन । रहन्छौं त केवल भावनाले मात्र । जो जहाँ जहाँ छौं, त्यहीँको राष्ट्रियताले हामीलाई समेट्छ । त्यसर्थ हाम्रो चिन्तन भविष्यमुखी हुनुपर्दछ । जहाँ जहाँबाट अमेरिका आएका भए पनि सबैले आ-आफ्नो इतिहासको मौलो गाडेर त्यसलाई संरक्षण गर्दै सहज भविष्यको यात्रामा लम्किनु पर्दछ । तर, अस्तित्वरक्षाको सरोकारमा सम्झौताको कुनै गुञ्जायस छैन भन्ने बुझेरमात्र त्यसो गर्नुको विकल्प छैन । इतिहासको सन्दर्भमा नेपालीहरूबाट केही दृष्टिकोणमा भूटानीहरु अलग हुन् भन्ने तथ्यलाई सहजरूपमा सकार्नुपर्छ । भाषा र संस्कृति एक भएपछि फरक पहिचानको आधार के? भनेर मच्ची मच्ची प्रश्न गर्ने साथीहरुले अध्ययनको दायरा बढाउनुपर्छ । एउटै भाषा, जाति, एउटै धर्म-संस्कृति, एउटै खानपान र सामाजिक परम्परा समेत एउटै भएका तिब्बत, सिक्किम र भूटानबीच अनेकौं युद्धका गाथाहरु बुझेर, भोगेर आएका भूटानीहरुसित भाषा र सांस्कृतिक एकरूपताबाहेक फरकपनका तुलनात्मक अन्य कुनै आधार छैनन् भन्नु भूटानीहरुको भोगाइ र अनुभूतिप्रतिको अवमूल्यन हो कि ?
भाषाको सन्दर्भका अन्य चर्चा पनि गरौं । हिन्दी नबोल्ने-नबुझ्ने भारतीय, नेपाली नबोल्ने-नबुझ्ने नेपाली, जोङ्खा नबोल्ने-नबुझ्ने भूटानीहरु पनि हुन्छन् र, त्यो उनीहरुको देशप्रतिको समपर्णमा खोट लाग्ने कमजोरी होइन भन्ने कुरा सबैले बुझ्नुपर्दछ । यदि कसैले यति कुरा बुझ्दैन वा बुझेर पनि बुझपचाउँछ भने त्यस्तो सोच ‘हिटलर मनोवृत्ति’ हो । नेपालमा उपराष्ट्रपति पद प्राप्त परमानन्द झाले हिन्दी भाषामा शपथ लिँदा कडा विरोध भएको थियो । भारतमा रक्षामन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीसमेत बनेका राजनाथ सिंहले बारम्बार ‘नेपालमा एक करोड भारतीय मूलका मानिसहरु छन्’ भनिरहँदा नेपालका झा, यादव, कुशवाहा, महतोहरुले हिन्दी भाषाको प्रयोग गर्नपाउनु ठूलै अपराध नहुनुपर्ने हो । भारतमा नेपाली भाषाले सम्मानपूर्वक संवैधानिक मान्यता प्राप्त गरेको सन्दर्भमा मधेशीहरुले नेपालमा चल्तीको नेपाली राष्ट्रियभाषा बाहेक अन्य भाषाको माग गर्नु र भूटानका नेपालीभाषीले नेपाली भाषा-संस्कृतिमाथि प्रतिबन्धको विरोध गर्नु समान कुरा हुन् ।
भाषा-संस्कृतिको पनि इतिहास हुन्छ । र, हरेक इतिहास तत्कालका राजनीतिक घटनाक्रमसित सम्बन्धित हुन्छन् । र, तपाइँ पनि मान्नुहुन्छ-हरेक ठाउँका इतिहास फरक-फरक हुन्छन् । यस्तो निर्विकल्प अलगपनालाई बेमेल वा फुटको अर्थमा लिइनु नै अहिले भ्रान्ति निर्माण हुनुको मूल कारण हो । हरेक मानिस एउटा रुखजस्तै हो जो सतहमा देखिने भागमा आधामात्र हुन्छ । रूखको नदेखिने भाग जमिनमुनि भएजस्तै मानिसको सामाजिक र ऐतिहासिक पृष्ठभूमि पनि हुन्छ । त्यो अर्थमा राष्ट्रविहीनताको मार खेपेर, टाउकोमा ‘अश्वत्थामा घाउ’ बोकी दुइदशक बिताएपछि ‘पूर्ण अमेरिकी’ बनेका भूटानीहरु ‘अमेरिकावासी नेपाली’हरुभन्दा अलग नै हुन् । नेपालीहरुको भोलि कुनै परिबन्द आइलागे ‘घर फिर्ने’ आधार छ । भूटानीहरुको घर फिर्ने आधार छैन । यसै पनि फरकपन सबैले देख्ने कुरा हो । देशको सिमाना नाघ्दै गर्दाको घडीमा नेपाली (नागरिक) हरुका लागि अमेरिका ‘सपनाको गन्तव्य’ थियो भने भूटानीहरुका लागि सास फेर्ने हावा, ओत लाग्ने छानो र टेक्ने धर्तीमात्र गन्तव्य थियो । दक्षिण एशियाको राजनीतिक परिबन्दमा क्षेत्रीय शासकहरुले नागरिक उन्मूलनको मूल मुद्दाबाट थिम्पूलाई निकासा दिने लक्ष्यका योजना परिचालन गरेपछि मात्र अन्तिम विकल्पमा भूटानीहरुले अमेरिकालगायतका देश पस्ने निर्णय गरेका हुन् । यो उनीहरुको रहरको गन्तव्य हुँदै होइन ।
तर, पुनः दोहोऱ्याउँ- त्यसको तात्पर्य वर्तमान र भविष्यको यात्रामा हामी नेपालबाट आएका साथीहरूसित एकठाउँ जुट्न सक्तैनौं भन्ने होइन । यदि कसैले यस्तो कुरा गर्दैछ भने त्यो झूटो अफवा हो । कार्यपत्रले केमात्र प्रष्ट गराउन खोजेको हो भने भूटानीहरु बहुआयामिक पहिचानका कुनै अंशमा नेपाली भए पनि उनीहरुको भूटानसँग जोडिएको साइनो बलियो छ । “भूटानका नेपालीहरु भाषा, संस्कृति र नश्लको आधारले ‘नेपाली’ भएर पनि भोटियाहरुको मुलुकमा बसेका कारण लखेटिएका हुन् ! त्यो देशमा बस्नु नै उनीहरुको अपराध थियो- नेपाली भएकै कारण उनीहरु लेखिटिनै पर्थ्यो”- भनेजस्ता आशय कसैले बोक्तैछ भने त्यो जान-अन्जानको अपराध हो । त्यहाँको शासकले आफ्नो समुदायबाहेक अलग भाषा, संस्कृति र परम्परा भएका मान्छेहरुलाई लखेटेर जघन्य अपराध गरेको थिएन-ठिकै त हो नि, थिम्पूको राजाले आफ्नो राष्ट्रको भलो गऱ्यो ! भन्ने खाले मनोगत विचारहरु धेरैतिर छरिनथालेपछि त्यो भ्रान्तिलाई चिर्नु सचेत मानिसहरुको दायित्व थियो-त्यही दायित्व पूरा गर्न कार्यपत्र प्रस्तुत भएको हो । पूर्व भूटानीहरुलाई ‘नेपाली’ मात्र प्रधान परिचय दिइनुपर्ने अहिले चलिरहेको भाष्यनिर्माणको प्रयासले थिम्पूका शासकहरुलाई जान-अन्जान सहयोग पुग्नेछ । यस कुरामा नेपाल, नेपाली र अन्य सरोकारवाला सबै पक्ष सचेत हुनुपर्दछ ।
माथि सोधिएको प्रश्नको एकवाक्यमा जवाफ दिँदा के भन्नसकिन्छ भने तपाइँ यदि नेपाल भन्ने भूमिको, पौरखको कुनै आधिकारिकता बोकी आउनुभएको हो भने निर्धक्कसँग आफूलाई नेपाली भन्नुहोस् ! हामी (हाम्रा पुर्खाहरु) भूटान भन्ने राज्यका निर्माता समेत भएकाले निर्धक्कसँग भूटानी भन्छौं अनि नेपाली र भूटानी-हामी दुवै नामधारीबीच एउटै भाषा र संस्कृतिको अभ्यास छ भनेर गर्वानुभूति पनि गर्दछौं । भाषा र संस्कृति भूगोलको सिमानाले बनेको देशभित्र कुँजिएर बस्तैनन् अथवा, भूगोलको सिमानाले भाषा-संस्कृतिको फैलावटलाई छेक्न सम्भव छैन भन्ने कुराको यथार्थ चित्रण पनि यही हो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका एकजना प्रतिनिधिले नेपाली भाषा-जाति विगत हजारवर्षदेखि स्थापित भएको हो; यस तथ्यलाई सबैले मान्नुपर्दछः भन्ने विचार राख्नुभएको थियो । अर्का प्रतिनिधिले ‘हामी अमेरिकन नभएर अमेरिकावासी मात्र हौं’ भन्नुभएको थियो । यी दुइ कुरामा यहाँको टिप्पणी ?
पहिलो भनाइबाट शुरु गरौं । माटो र मानवोत्पतिको हिसाबले कुरा गर्ने हो नेपाल एक हजार वर्षमात्र होइन, लाखौं वर्षदेखि अस्तित्वमा थियो भन्न सकिन्छ । उहाँको भनाइप्रति मेरो कुनै आपत्ति छैन । तर, इतिहासले प्रामाणिकता उल्लेख गर्ने कुरामा हामी थानकोट र धुलीखेलबीचको इतिहासलाई आधुनिक नेपालको सम्पूर्ण इतिहास मान्न कसरी सक्छौं ? प्राचीनकालदेखि चिनिएर आएको ‘नेपाल मण्डल’ त भक्तपुर, कीर्तिपुर, ललितपुर, पाटन अथवा एकमुष्टमा अहिले चिनिने काठमाडौं उपत्यका मात्र हो ।
प्राचीनकालमा अहिलेको नेपाल भनिने भूभाग पश्चिममा खसान (खस) सम्भयता, दक्षिणमा मैथिली सभ्यता र पूर्वमा किराँत सभ्यतामा बाँडिएको थियो । पछिल्लो चरणमा पनि विश्वलाई अधीन गर्न दौडिएका ब्रिटिशहरुलाई सिमानामा रोक्न ‘नेपाली गौरव’ नभएर ‘गोर्खा गौरव’ हाँजिर थियो । अब जातिको प्रसंग जोडौं । कुनै पनि जातिको पृष्ठभूमि स्थापित सभ्यताको आधारमा निर्मित हुन्छ । कुन सभ्यता र संस्कृतिको आधारमा टेकेर ‘नेपाली जाति’ जन्मियो-मलाई ज्ञान प्राप्त भएको छैन । यद्यपि, वर्तमान नेपाल र नेपालीहरुले यो शब्दमा स्वाभिमानको गौरव देखेका छन् भने हामी पनि उहाँहरुको भावनालाई सम्मान गर्दछौं । नाम जुनसुकै भए पनि हाम्रो भाषा र संस्कृतिमा एकरूपता भएकाले उहाँहरुले साँच्ने गौरवगाथालाई हामी पनि सगौरव अंगिकार गर्दछौं ।
आज होइन, हामीले यो सम्मान साढे-चारसयवर्षदेखि गर्दै आएका हौं । सन् १८८७ देखि त औपचारिक सरकारी तहबाटै नेपाली गौरवलाई भूटानीहरुले अँगालेरै आएका छन् । कुनै कालखण्डमा भूटानले हाम्रो भाषालाई ल्होत्साम-खा भन्यो । दार्जीलिङतिर सुवास घिसिङ र डा. मणिकुमार शर्माले यसलाई गोर्खाभाषा भन्नुपर्छ भनेर अभियान नै चलाए । तर, यस्ता परिवर्तित नामहरुलाई हामीले कहिल्यै मानेनौं र, सधैं नेपाली भनिरह्यौं, विद्यालयहरुमा पढिरह्यौं । वास्तवमा, वर्तमान नेपालले भाषालाई नेपाली नाम दिएको सय वर्ष पनि पुगेको छैन । विसं १९९० सम्म औपचारिक रूपमा अहिलेको नेपाली भाषालाई गोर्खाभाषा भनेर चिनिन्थ्यो ! गोर्खाभाषा प्रकाशिनी समितिलाई बालकृष्ण शमलगायतको पहलमा नेपालीभाषा प्रकाशिनी समिति बनाएपछि यसको गोर्खा गौरव नेपाली रूपान्तरणमा अवतरित हुँदै आएको हो । पछि राजा महेन्द्रले यसलाई बलियो गरी संस्थागत रूप दिएका हुन् ।
अब को ‘अमेरिकाबासी’ मात्र हुन् र कोचाहिं ‘अमेरिकी’ हुन् भन्ने भिन्नताको सन्दर्भमा धेरै कुरा गर्न नपर्ला । माथिका प्रसंगहरुले प्रष्ट पारिसके भन्ने मैले आशा लिएको छु । अमेरिकी भनेको अमेरिका भन्ने देशप्रति पूर्णरुपेण समर्पित अथवा अन्य देशमा जाने विकल्प नरहेको नागरिक भन्ने अर्थ लाग्दछ भने मूलरूपले मनभित्र अर्कै देश बोकेर भौतिकरूपमा मात्र अमेरिकामा बास गर्दै गरेको मानिस अमेरिकाबासी हुन्छ । उहाँहरुको हकमा त्यो कुरा सही हो । कसैको भौतिक देहमात्र अमेरिकामा छ, चैतन्यले ऊ नेपाल वा कुनै देशमा छ भने अरुले आपत्ति जनाउनुपर्ने नै के छ र! त्यो नैसर्गिक निजी अधिकारको कुरा हो । एउटा खुट्टा मात्र अमेरिकामा छ, अर्को उचालिएको छ र, भोलि केही भइपरी आएमा फुत्त उचालिएको खुट्टा नेपालमा टेक्न सकिन्छ भने उहाँहरु अमेरिकावासी मात्रै हुनुहुन्छ । उहाँहरुको तीनपुस्ते नागरिकताको प्रावधान कानुनी तहमै चालू छ । उहाँहरु अमेरिकावासी हुनु एकदम मुनासिब कुरा हो । तर, भूटानीहरुका लागि त्यो विकल्प छैन ।
भूटानीहरु नेपालमा गएर स्थापित हुने भनेको झूट बोलेर, भोजपुर, तेह्रथुम, पाँचथरतिरबाट झरेको फरेवी बयान जारी गर्दै पेटीका पेटी घुस दिएर नागरिकता बनाउने एउटा विकल्प हो । त्यसपछि नेपालमा आफन्तको नाता-साइनोमा जमीन किन्ने, सम्पत्ति जोड्ने र केही वर्षपछि नातेदारले सम्पत्ति हड्पेको गुनासो गर्दै रुवाबासी मच्चाउने हो विकल्प पनि छ । अनि त्योबेला उजुरी-आपत्ति गर्न गएमा गैर-कानुनी हिसाबले नागरिकता बनाएको अभियोगमा आफैं थुना पर्ने अर्को बाटो पनि खुल्लै छ । ९० वर्ष पुग्न लागेका नन्दुराम मोक्तानलाई नेपाली नागरिकता बनाएकै अपराधमा झापाको चन्द्रगढी जेलमा लगेर चिसो भुइँमा करङ सेकाएको कथा यहाँहरु कतिजनालाई सम्झना छ ? पश्चिमतिर निजी विद्यालयमा पढाउन लगिएका भूटानी शिक्षकहरुले ‘दार्जीलिङको’ भनेर परिचय लुकाउनुपर्दाका काण्डहरु कतिलाई याद छ ? भूटानी परिचय खुलेका कैयौं शिक्षकहरुलाई ट्रकमा उठाएर कोशी तारेका घटनाहरु कतिलाई थाहा छ ?
नेपाली नागरिकता र सम्पत्ति स्वामित्वका सम्बन्धमा यहाँहरुले रवि लामिछाने भन्ने मान्छेमाथिका घटनाक्रमहरु ताजा स्मरणमा राखेको हुनुपर्ने हो । त्योमात्र होइन, गैर-आवासीय नेपाली संघ (एनआरएन) को पछिल्लो चरणको चुनावताका नेपाली राजनीतिक नेतृ रामकुमारी झाँक्रीले व्यक्त गरेका विचारहरु शायद यहाँहरुले सुन्नुभएको छ । जीवनको आंशिक समयका लागि परदेशिए पनि नेपाल र नेपाली नागरिकताको पूर्णाधिकार कायम रहेका मानिसहरुमाथि त त्यो रवैया छ भने हामी चारसय वर्ष (थोरैमा पनि २ सयवर्ष) अघिदेखि नेपाल र नेपाली नागरिकताको अधिकार मासिएका मान्छेहरुले भोलि नेपालभित्र स्थापित हुने कुरा सहज छैन । कल्पना नगरे हुन्छ । यहाँनेर तपाइँले अर्को प्रश्न उठाउन सक्नुहुनेछ-त्यसो भए आफूलाई भूटानी भन्दाचाहिं तपाइँहरुलाई भूटानमा अधिकार प्राप्त हुन्छ त? हो, भूटानले पनि लखेटिएका मानिसहरुलाई पछि कानून बनाएर अनागरिक घोषणा गरेको छ । तर, त्यो सन् १९८५ पछि बनेको भूटानको मनोगत कानूनमा आधारित कुरामात्र हो । अन्य विश्वव्यापी मान्यताप्राप्त निकायबाट निर्क्योल भएको नियम होइन । थिम्पूले अनागरिक बनाएका, खेती, किसानी गर्ने साधारण नागरिकहरुलाई अनाहकमा आतङ्कवादी अभियोग लगाएको कुरालाई नेपालले औपचारिक तहमा अन्तरराष्ट्रिय मञ्चहरुमा पुऱ्याइदेवस् भन्ने निर्वासित भूटानीको आग्रहलाई बेवास्ता गर्दै थिम्पूकै प्रस्तावहरुमा सिफारिशको लालमोहर ठोकेर नेपाली शासकहरुले पनि हाम्रो अस्तित्वमाथि अक्षम्य कुटनीतिक/राजनीतिक अपराध गरेका छन् । त्यसको समेत क्रमबद्ध सम्बोधन हुनु जरुरी छ । यी सबै कुरालाई सम्भव बनाउन पनि भूटानीहरुले अकंटक रूपमा आफ्नो पहिचानलाई भूटानसित जोडेर साँच्नुपर्दछ ।
यदि नेपाली दाजु-भाइहरुले हामीलाई सँगै मिलेर जाउँ भन्नुभएको भए हामी मिलेरै जानुपर्छ, त्यो राम्रो कुरा हो-भन्ने एकजना वक्ताबाट कुरो आएको थियो । कार्यपत्रले कसैसँग मिल्नु हुँदैन भनेको थियो ?
यो पनि अर्को भ्रान्ति हो । कार्यपत्रले कहाँनेर मिलेर अघि बढ्न हुँदैन भनेको छ र ? कसैसँग नमिल्ने होइन, सबैसँग मिल्नुपर्छ भनेको हो । सतही कुरा गरेर पुग्दैन । माथि नै उल्लेख भइसकेको छः भूटानीहरुका लागि यस ब्रह्माण्डमा नेपालीहरुजति निकट अरु कोही पनि छैन । तर, यो काम सचेततापूर्वक गरिनुपऱ्यो । भावनामा बरालिएर, उरालिएर गर्नभएन ! अमेरिकामा ‘भाषिक एकता’ को कुरा गरिरहँदा अमेरिका बाहिर, नेपाल बाहिर-सबैतिरका नेपालीभाषीहरुको अवस्थासमेत ध्यानमा राख्नुपऱ्यो । यस्ता विषयमा सरोकार राख्ने व्यक्ति-संस्थाहरु संवेदनशील बन्नुपऱ्यो । कसैप्रति विश्वास नरहेको वर्तमान परिस्थितिमा सबैका लागि विश्वसनीय काम गर्नु लरतरो चुनौतीको कुरा होइन । भोलि दुइचार प्रयासहरु असफल हुँदैमा हरेस खाएर ‘खुट्टा झिक्ने’, बाटो छोड्ने, कमजोर मनोबल बोकेकाहरुले यस्तो गहन जिम्मेवारी वहन गर्न सक्तैनन् ।
त्यसमाथि अहिले नेपालको प्रशासनिक, न्यायिक, कुटनीतिक औपचारिकता बोकेकाहरुले विश्वव्यापीरूपमा विश्वास गुमाएको अवस्था छ । तिनीहरुकै अर्दली बनेर अमेरिकातिर रहने केही नेपालीहरुले ‘भूटानीहरुलाई देखाएर सामुदायिक प्रतिनिधित्वको अख्तियार दुरुपयोग’ समेत गरिरहेका छन् । नश्लीय राजनीतिबाट अभिप्रेरित दृष्टिकोण संसारभरि व्याप्त भइरहेको वर्तमान समयमा उनीहरुसित रगतको साइनो जोडेर नेपालीहरुलाई दुरुयोग गरी भूटानका शासकहरुले निर्वासित भूटानीहरुको इतिहास धमिल्याउन खोज्नु असम्भव कुरो पनि होइन । यस्ता गम्भीर विषयहरु पर्गेलेर गम्भीर बहस-पैरवी नभईकन हचुवामा कुनै निर्णय गरिहाल्नु हुँदैन । होशियार रहनुपर्दछ । भावनात्मक उद्वेगमा दूरगामी सरोकार रहने विषयहरुको निष्कर्ष निकाल्नु गलत काम हुन्छ, त्यसैले अलि संवेदनशील बनौं भन्ने सन्देश दिएको हो कार्यपत्रले ।
भूटानबाट निर्वासितमध्ये ९५ प्रतिशत नेपाली मूलका, नेपाली भाषा-साहित्य र संस्कृतिका साधकहरु हुन् । यस अर्थमा उनीहरुलाई ‘नेपाली’ मान्न केही गाह्रो छैन । उनीहरुलाई शरण दिने त्यो देशको नाम नेपाल र समुदायको नाम नेपाली इतिहासमा रहेसम्म भूटानका नेपालीभाषी पनि नेपाली भाषा-साहित्य र संस्कृतिकै साधना गरिरहने छन् । यद्यपि, हरेक इतिहासका अध्येताहरुले कुनै पनि देशको भूगोल र भाषाको नाम कालान्तरमा फेरिन पनि सक्छ भन्ने कुरालाई समेत मस्तिष्कको एक कुनामा राखिराख्नु पर्दछ । भूटानबाट आएकाहरु ‘नेपाली’ वा ‘अनेपाली’ भन्ने कुरा विवादको विषय हुँदै होइन । मुख्य कुराचाहिं उनीहरुको अस्तित्व र न्यायको लागि अपेक्षाकृत इतिहास संरक्षणको कुरा गर्दैगर्दा रोङथोङ क्युन्ले, ठिन्ले पेञ्जोर, रिञ्जिन वाङ्दी, केजाङ दोर्जी, तेञ्जिन जाङ्पोहरु त्यसभित्र अँटाइनुपर्छ भन्ने हो । हामीले ‘नेपाली’ ‘नेपाली’ भनेर चिच्याइरहँदा उनीहरु कहाँनेर अँट्छन् भन्ने सवालको जवाफ पहिले नै तयार हुनुपर्दछ ।
अहिले भ्रान्तिपूर्ण ढंगमा फिँजिएको कुरो के भने भूटान पृष्ठभूमि लिएर पुनर्वाशपछि विभिन्न देशमा छरिएकाहरुलाई उनीहरुको पहिचानको ऐतिहासिक पाटो मासेर ‘पूर्ण नेपाली’ (नेपाली नागरिकसरह) का रूपमा विलय गराउन केही शक्तिहरु लागिपरेका छन् । यो विषयले धेरैको ध्यान तानिरहेको छ । झापामा रहेको भूटानी शरणार्थी शिविरलाई ‘बस्ती’ मा अघोषित रूपान्तरण गरेर नेपालको सरकारले नै शंकास्पद कुटनीतिक भ्रष्टाचारमा अनुमोदनको लालमोहर ठोकिसकेको छ । यदि भूटानबाट लखेटिएकाहरु मात्र ‘नेपाली’ हुन्, उनीहरुको पहिचानको अन्य पाटो छैन भने; झापाका शिविरहरुमा रहेका भूटानीलाई बोलाएर ‘नेपालमै जीवन बिताउने इच्छा छ भने लैजाऊ नेपाली नागरिकता, आधिकारिक नेपाली बन’ भनेर किन सार्वजनिक घोषणा गर्दैन नेपालको सरकार ? यो सम्भव किन छैन भने यस्तो नजीर बसाएर नेपाल बाहिर रहेका ५ करोड विदेशी नेपालीहरुलाई स्वागत गर्नसक्ने नेपालको ल्याकत छैन । यदि कसैले त्यस्तो सम्भावनाको कुरा गर्दैछ भने त्यो स्यालको सिङ उमार्ने कथा हो ।
भूटानमा हुँदा यो समुदायले आफ्नो पुर्ख्यौली इतिहासको लेखाजोखा गर्नसकेन । केवल आदेशको पालना गर्ने बानी परेका कारण यो समुदायले तिब्बतबाट शरणार्थी बनेर आएको एउटा शासकीय वंशद्वारा ‘तिमी विदेशी हौ’ भन्दै बन्दुक ताकिएपछि भयपूर्ण त्रासदीमा चुपचाप देश छोड्यो । अहिले आएर नेपालबाहिर पूर्वभूटानीहरुलाई कुनै उपसर्ग-प्रत्ययबिना ‘नेपाली’ रटाइँदैछ भने नेपालभित्र एउटा गिरोह नेपालकै नागरिकहरुलाई छद्म भूटानी बनाएर विदेशतिर धपाउन सक्रिय छ । यसरी नेपालभित्र ‘नागरिक बेचेर’ भूटानी बनाउने अनि नेपाल बाहिर ‘राष्ट्रियता बेचेर’ नेपाली बनाउने नौटंकी निक्कै व्यापक रूपमा चलिरहेको यो सन्दर्भ नेपालको हितचिन्तन गर्नेहरुका लागि चिन्ताको विषय हुनुपर्ने हो । यो काण्ड ‘केही व्यक्तिविशेषले गरे होलान्’ भनेर बिलाउने विषय होइन । यसभित्र सर्वोच्च पदका सरकारी कर्मचारी, मन्त्री र नेताहरुसमेत सामेल भएकाले यसको कलंक एकपटक नेपालको शासकीय संरचनामा पसेका हरेक व्यक्तिहरुले व्योहोर्नुपर्नेछ । सो कालखण्डका हरेक राजनीतिक दलहरुले पनि यसको दायित्व वहन गर्नुपर्ने हुन्छ । ‘छद्म शरणार्थी काण्ड’लाई इतिहासले नेपालका शासकहरुद्वारा निर्वासित भूटानीहरुको राष्ट्रविहीनताको पीडामाथि उपहास गरेको अर्थमा कालान्तरसम्म लिइरहने छ ।
फेरि पनि दोहोऱ्याउँ- त्यसो भनिरहँदा तात्पर्यमा अमेरिका, केनाडा, अष्ट्रेलिया, यूरोपतिर रहेका पूर्वभूटानीहरुले नेपालमा थातथलो भएका आप्रवासी नेपालीहरुसित एकाकार हुनै हुँदैन भन्ने अर्थ नलगाइयोस् । ‘नेपाली’ शब्द यो विवादको विन्दु किन भइरहेको छ भने जाति, राष्ट्रियता र भाषाको नाम एउटै ‘नेपाली’ शब्दमा लपेटिएको छ । इतिहास मानवीय अस्तित्वको जरा हो । यस अर्थमा नेपाल र नेपालीको इतिहासबारे पनि यथेष्ट अनुसन्धान गरिनु आवश्यक छ ।
इतिहास हराएका मानिसहरु जरा काटिएको बिरुवाजस्तै हुन्छन् । त्यसकारण हाम्रो समुदायले आफ्नो न्यायिक इतिहासको हिसाबले ‘भूटान’ र पुर्ख्यौली नाताको हिसाबले ‘नेपाल’ सित जोडिने सहायक ऐतिहासिक पहिचानहरुलाई पनि कहिल्यै नछुट्ने गरी जतनले राख्नु पर्दछ । यसको अर्थ वर्तमान र भविष्य सोच्न छोडी इतिहासमा मात्रै अल्झिएर हराउनु भनेको होइन । कुरो कतिमात्र हो भने भूटानको शासकवर्गले हामीलाई भौतिक रूपमा राज्यबाट विस्थापन गरेर चुप लागेको छैन । इतिहासबाटै हाम्रो समुदायलाई निर्मूलन गर्ने अभियानमा क्रियाशील छ । कहिले हाम्रो समुदाय भूटानमा दास-दासीका रूपमा रहेका थिए भन्छ त कहिले यौनदासीहरुले जन्माएका, बेवारिसे सडकमानवहरुको संज्ञा दिन्छ । अनि हाम्रो सांस्कृतिक पौरख भएको एउटा देश, जहाँ हामी सभक्ति शिर निहुराउँछौं, त्यहाँका नाइकेहरु हाम्रो हितमा बोल्नभन्दा पहिले दिल्लीतिर कान थाप्छन्; कहिलेकाहीँ हात पनि थाप्छन् ! अनि थिम्पूले आयोजना गर्ने राक्षसी भोज-भतेरमा सामेल भएर डकार्दै फर्किन्छन् !
थिम्पू र काठमाडौं मिलेर हाम्रो सरोकारमा ठूल्ठूला सौदाबाजी गरेका छन्-गरिरहेका छन् अनि दिल्ली सधैं त्यसलाई अनुमोदन गरिरहेको छ । यसर्थ हाम्रो समुदायले हडबड नगरीकन हामीमाथिको अन्यायको इतिहासलाई जोगाइराख्नु पनि त्यो अन्यायका विरुद्धको चुनौती हो भन्ने कुरो सबैले बुझ्नु आवश्यक छ । समूलरूपमा नेपाली बनेर हाम्रो त्यो न्यायिक अस्तित्व बाँकी रहँदैन । हाम्रो आञ्चलिकता कुनै हालतमा बाँच्नुपर्छ । फेरि पनि प्रष्ट पारौं, ठोस नीति तर्जुमा गरी औपचारिक सम्झौता गरिकन सो बमोजिम नेपालीहरुसित मिलेर भूटानीहरुले ठुल्ठूला सहकार्य गर्न सक्छन् ! तर, त्यो सहकार्यको आधारभूत जग अनुहार मिल्ने, भाषा-संस्कृति मिल्ने र कतिपय अवस्थामा पारिवारिक नाता-साइनोसमेत लाग्ने कुरामा नभएर स्पष्ट बुझाइ- प्रष्ट नीतिले निर्धारण गरेको हुनुपर्दछ । यस सन्दर्भमा अझै अर्को एउटा बलियो सवाल छ । फरक पहिचानको आधारबारे जिज्ञासा भएका मित्रहरुतर्फ म यो प्रश्न राख्नचाहन्छु । नेपाली हुनुको एकमुष्ट मानकचाहिं के हो त?
यस प्रसंगमा मैले एक मित्रको विचारस्तम्भ पढेको थिएँ । सो अनुसार नेपालीपनको मानक रातो टीका, काँधमा जनै, शिरमा भाद्गाउँले वा पाल्पाली ढाका टोपी, लवेदा-सुरुवाल आदि उल्लेख गर्नुभएको थियो । भूटानीहरु सांस्कृतिक नेपाली हुन् कि हैनन् भन्ने कुरामा कुनै द्विविधा र अल्झन छैन । तर, जटिलता कहाँनेर छ भने नेपाली जाति वा सांस्कृतिक चिनारीको मानक के रातो टीका, काँधमा जनै, शिरको टोपी, लवेदा-सुरुवाल मात्रै हो त? मूल प्रश्न यो हो । रातो टीका नलाएर, काँधमा जनै नराखेर, शिरमा महेन्द्र टोपी र वयमा लवेदा-सुरुवाल नभएर पनि कसैले नेपाली भावचेतना बोक्न सक्छ कि सक्तैन ? भन्ने मूलप्रश्न हो । मलाई यो प्रश्नको उत्तर कसले दिने हो ?
सम्बन्धित लेखकले ‘कुन भुगोलका भन्ने प्रश्नमा अल्झिएर अधिकांश भूटानीहरुले नेपालीहरुभन्दा अलग हुनचाहेको’ आशय पनि राख्नुभएको थियो । नेपाली मौलिकता र मानकको प्रसंगमा इतिहासका थुप्रै पक्षहरु छन् । इतिहासका केही झलकहरु यस संवादको शुरुदेखि नै कता कता उल्लेख हुँदै आएका छन् । तर, यहाँको मूलप्रसंग भूटानीहरुले नेपालीहरुबाट अलग रहने चाहना राखेको कुरामै केन्द्रित बनौं । यो ऐतिहासिक तथ्य हो, कसैको निजी चाहनामात्र होइन । इतिहासको न्यायिक सम्बोधनमा आवश्यक विषयविस्तुलाई आक्रोशको नतिजा वा निजी चाहनामा राखिएको विचार ठान्नु कि त अध्ययनको अभाव कि त अवमूल्यन हो । यद्यपि, म व्यक्तिगतरूपमा यस्ता कुरामा सरोकार राख्तिनँ । यसै त विश्वमा मौजुद मानिसका जतिवटा टाउका छन्, त्यति नै विचार पनि छन् भनिन्छ । तर, खासमा मूल रूपले मानिसका दुइ चिन्तनधारा छन् । एक खाले मानिसहरु विश्वलाई विभिन्न रङ्गमा सुन्दर देख्छन् र अर्का खाले एक रंङ्ग-रूपमा मात्र एकता देख्छन् । हामी आ-आफूलाई कुन वैचारिक कित्तामा राख्न उचित होला-आफैंले मूल्यांकन गरौं ।
नेपाली भाषा र संस्कृतिको आधारमा ‘एकता’को बयान गर्ने साथीहरुलाई भाषाको पनि इतिहास हुन्छ र संस्कृतिको निर्माण पनि इतिहासले नै गर्दछ भन्ने कुरो याद हुनुपर्दछ । त्यसो हुनाले इतिहासबाट अलग बाटो हिँडेर संस्कृतिको रक्षा हुँदैन । यो अर्थमा हामी सांस्कृतिक नेपाली हुनमा गर्वानुभूत गर्दछौं । हामी यसै स्वतःस्फूर्त एक छौं । बाझेर-जुझेर छुटेका भए पो एकता गर्नुपर्थ्यो । राजनीतिक दलहरुले सत्ताप्राप्तिका लागि गठजोड् गरेझैं साझेदारी त चाहिएको होइन नि हामीलाई ? यद्यपि, भइरहेको विद्यमान त्यो एकतालाई सम्बोधन गर्न, बाहिर सार्वजनिकीकरण गर्न स्पष्ट नीति र दृष्टिकोणचाहिं चाहिन्छ नै । ठोस कार्ययोजना पक्कै चाहिन्छ । त्यो कतिखेर सम्भव छ भने नेपालको राष्ट्रिय प्रतिनिधित्व गर्ने कुनै निकायको अगुवाइमा विश्वव्यापी नेपाली चेतनालाई प्रतिनिधित्व गर्नसक्ने प्राज्ञहरुको समूहद्वारा नेपालबाहिरका सार्क मुलुकमा रहने, सार्कभन्दा पनि बाहिर पुगेका नेपालीभाषी विदेशी नागरिकहरुलाई के आधारमा, कुन पूर्वशर्तमा, कुन योजना र अर्थ/परिभाषामा नेपाली मान्ने/ठान्ने? आदि विषयमा सर्वमान्य राष्ट्रिय अवधारणा नबनाएसम्म हामीले गर्ने एकताका तर्कहरु खास कामलाग्दा हुँदैनन् ।
व्यक्तिको परिचयमा जाति र भाषा जोडिनैपर्छ ?
पर्दैन । जस्तैः म फलानो, अमुक सडक वा शहरको वासिन्दा हुँ ! म फलानो गाउँ, भञ्ज्याङ वा उपत्यकाको निवासी हुँ । पहिलो प्रश्नको उत्तरमा आउने व्यक्तिको यो ‘प्राइमेरी इन्ट्रोडक्शन’ (प्राथमिक पहिचान) हो । त्यसपछि कुराकानीको सन्दर्भ विस्तार हुँदै गएमा मात्र उसको पूर्ववर्ती कथा जोडिन्छ जस्तैः ऊ कहाँबाट त्यहाँ आइपुगेको हो ? कस्तो परिवेश र पृष्ठभूमिमा ऊ त्यहाँ आइपुगेर स्थापित भएको हो, उसले कतिवटा भाषा बोल्छ, कतिवटा भाषा लेख्नसक्छ, कुन संस्कृति मान्छ भन्ने कुरा ‘सेकण्डेरी इन्ट्रोडक्शन’ अथवा खासगरी दक्षता/योग्यतामा समेटिन्छ । सो अनुसार हाम्रो समुदायका मानिसहरु (जसलाई भूटानबाट अन्यायपूर्वक देशनिकाला गरिएको हो) भूटानको ऐतिहासिक प्रसंगमा जोडिँदै क्रमशः पुर्ख्यौली विरासतको आधारले वृहत नेपाली सांस्कृतिक समुदायको रूपमा परिचित हुन्छन् । यही आधारमा उनीहरुको सामाजिक पहिचान स्थापित हुन्छ । भएको छैन भने पनि समाजलाई दिशानिर्देश गर्नेहरुले इतिहासको न्यायिक सम्बोधन हुनेगरी त्यो दिशामा समाजलाई डोऱ्याउनु आवश्यक छ ।
स्पष्ट भएन कि ! अझै कोशिश गरौं ! व्यक्तिका पहिचान वा परिचय प्रधान र अप्रधान हुन्छन् जो प्रयोजनको आधारमा फरक फरक हुने गर्दछन् । भौतिक तथा संवैधानिक-कानुनी पहिचानहरु आयामिक हुन्छन् । त्यसपछि भाषिक तथा सांस्कृतिक पहिचानहरु व्यक्तिको आस्था र विश्वासमा भरपर्ने कुरा हुन् । तर, नश्लीय आवरणबाहेकका पहिचानहरु अल्पकालीन, आयामिक, अथवा छिटो छिटो फेरिइरहने खाले हुन्छन् भने तुलनात्मक रूपमा भाषिक-सांस्कृतिक पहिचानचाहिं अलि स्थिर खाले हुन्छन् जो छिट्टै फेरिँदैनन् । र, यही सांस्कृतिक पहिचानको आधारशीलामा अडिएर मानिसले आफ्नो गाथा निर्माण गर्दछ । जातीय-अस्मिता, आत्मगौरव, सांस्कृतिक विरासत जे भने पनि यी अमूर्त भावनात्मक स्वाभिमानमा गौरवान्वित हुने राजनीतिक स्वैर्कल्पना हुन् । वास्तवमा हुनलाई त मनुष्य सबै मनुष्य नै हुन् । तर, संसारका सबै मानिसले एकमुष्टरूपमा ‘हामी सबै समानरूपले मानिस हौं’ भनेर सकार नगरेसम्मका लागि भए पनि हामीले अलग पहिचान साँचिराख्नु कुनै हिसाबले हाम्रो पनि बाध्यता हो ।
मानिसहरु ‘भाषिक जाति’ भनिरहेका छन् ! यो भनेको के हो ?
वास्तवमा भाषिक जातीयता भन्ने कुनै ठोस कुरा हुँदैन । यो छायाँजस्तै हो । छाँया पनि तै देख्नसकिन्छ । यो त देख्न पनि सम्भव छैन । यसको कुनै वस्तुगत रूप हुँदैन । भाषा अभिव्यक्ति र सञ्चारको माध्यम हो । भाषाका आधारमै सांस्कृतिक विरासत निर्माण भएका हुन्छन् । संस्कृतिले निर्माण गरेको सभ्यताका आधारमा जाति निर्माण हुन्छ । यी सबै मानिसको भावना र व्याख्याले निर्माण गर्ने अमूर्त परिभाषा हुन् । बुझ्ने/बुझाउने सहजताका लागि विभिन्न आधार गाँसेर विभिन्नरूप दिइए पनि त्यो स्थायी हुँदैन । जातीयता खासमा नश्लीय आवरण र जैविक गुणको अवतरण हो । निश्चित राजनीतिक भविष्यदृष्टि कायम छैन भने ‘जातीयता’ भन्ने शब्दावलीको खास औचित्य देखिँदैन । किनभने आजको विश्व नश्लीय आवरण र जैविक पुस्तान्तरणको हकदाबीबाट चल्न सक्तैन । यदि कसैले त्यसो गर्छ भने त्यो दारीपाला मुल्लाहहरुले दारीवाल एकताकै आडमा विश्वलाई अधीन गर्ने नायकत्वको अख्तियारी लिन ‘जिहाद’ चलाएझैं सुनिन्छ । त्यसैले हाम्रा सामाजिक, ऐतिहासिक पहिचानलाई निरपेक्ष मानवीय विकासक्रमको दृष्टिले हेर्न सक्नुपर्दछ । वास्तवमा भाषा-संस्कृति, नश्ल र परम्परागत ईश्वरीय आस्था आधारित चिन्तनलाई ‘आत्मगौरवׄ’ अथवा ‘स्वाभिमान’-को परिभाषा अन्तरगत राखेर व्यक्ति स्वतन्त्रतालाई पूर्ण मान्यता प्रदान गर्नुपर्छ । तबमात्र ‘विभिन्नतामा एकता’ र सामाजिक शान्ति सम्भव हुन्छ !
भाषासँग जोडिएर स्थापित जातिको प्रसंग अस्तित्वरक्षाको सरोकारमा केही हदले बलियो तर्क भए पनि यो वास्तवमा संस्कृतिको अभ्यासबिना सार्थक हुँदैन । अनि सांस्कृतिक अभ्यास भनेको अल्पकालीन वा दीर्घकालीन कुनै निर्दिष्ट राजनीतिक औचित्यमै निर्माण भएको हुन्छ । यसर्थ खस्रो शब्दमा यथार्थ कुरा बोल्दा तटस्थ राजनीतिक पहिचानबिनाको जातीयता काम लाग्दैन । राजनीतिक पहिचान भनेको संवैधानिक सम्बोधनमार्फत प्राप्त कानुनी मान्यता पनि हो । पहिचान भावनात्मक उद्वेगमात्र होइन; समय, विषय-सन्दर्भ र संवैधानिक अधिकार, नागरिक सुरक्षा र स्वतन्त्रतासित सन्तुलित हुनुपर्ने आधारभूत नियम पनि हो । यति कुरा प्रष्ट बुझे पहिचानको सरोकारमा कोही अल्मलिनु पर्दैन । पहिचानका बहुआयामिक पक्ष, तह र निश्चित प्रयोजन तथा विषय-सन्दर्भका आधारमा चिन्तन गर्न सक्नेहरुमा यो अल्मल कदापि रहने छैन ।
‘म अमेरिकन हुँ, मेरो परिचय यहीँबाट शुरु हुन्छ ।’ विद्वान माधव शर्माको यो वाक्यमा तपाइँ के भन्नुहुन्छ ?
कुरो एकदम सही हो । हो, राजनीतिक पहिचानको प्रसंग यहीँनेर आएर जोडिन्छ । हामीलाई अमेरिकाले भाषा र संस्कृति मिलेको देखेर स्वागत गरेको होइन । यसका कारण र उद्देश्यमा केन्द्रित अनेक पक्षहरु छन् । तर, यस संवादको सिलसिला पहिचानको सरोकारलक्षित प्रश्न इतिहासतर्फ पनि सोझिन्छ कि भाषा र संस्कृतिमै मात्र स्थिर रहन्छ भन्ने सवालको सेरोफेरोमा रहेकोले त्यसैमा केन्द्रित रहुँ । सवारी साधन चलाउनेहरुलाई माध्यम बनाएर पहिचानको विश्लेषण गर्ने हो भने यो प्रसंग अझ सहज रूपमा टुंगिएला । सबैका गाडीमा पछाडि देख्ने सिसा, ‘ब्याकभ्यू मिरर’ हुन्छ । आवश्यकता अनुसार गाडी पछि सार्दा होस् वा कुनै विशेष परिस्थितिमा त्यो सिसा हेरिन्छ । बीच सडकमा गाडी गुडिरहेको बेला अगाडिको सिसाबाट गन्तव्यको सडकमात्र हेरिन्छ । अगाडिको सिसाबाट देखिने गन्तव्य भनेको हाम्रो वर्तमान हो । पछाडी हेर्नलाई राखिएको ब्याकभ्यू मिरर विगत हो, हाम्रो इतिहास जस्तै । बीच सडकमा वर्तमान बिर्सिएर घरी घरी ब्याकभ्यू मिररमात्र हेरिरहने चालकको के गति हुन्छ, मैले यहाँहरुलाई भनिरहनु पर्दैन । ऐतिहासिक तथा कानुनी प्रयोजनको चिह्नारीका सन्दर्भहरुमा निश्चित बहस हुँदा, दस्तावेजहरु बनिँदा, निश्चित न्यायिक गतिविधि सञ्चालनमा हामीले गुडेको गाडी लगेर पार्किङलटमा राखेझैं ‘ब्याकभ्यू मिरर’ पनि हेर्नुपर्ने हुन्छ । जो जसरी आएको होस्, अमेरिकी कानुनको पालना गर्ने शर्तसहित यहाँको नागरिक बनिसकेपछि म, उनी, तिनीहरु सबै अमेरिकी हुन् । हामी यी तमाम कुरा इतिहासको सन्दर्भमा गरिरहेका छौं । इतिहासभित्र भाषा, संस्कृति, सामाजिक मान्यताका उतार-चढावहरु धेरै हुन्छन् । माधवजीले आफू अमेरिकन हुँ भन्दै गर्दा ‘भूटानी समुदायले नेपाली भाषा र नेपालीहरुले मान्ने संस्कृतिलाई घृणा गर्छ’ भन्नुभएको त होइन नि ? त्यसो हुनाले उहाँको वाक्य शतप्रतिशत प्रशंसा योग्य छ । कुरा कतिमात्र हो भने, उहाँले प्राइमेरी इन्ट्रोडक्शन र सेकण्डेरी इन्ट्रोडक्शनलाई एकै ठाउँ मिसाउनु हुँदैन-परिस्थितिले नमागेसम्म एकैचोटि पोखिनु हुँदैन भन्नुभएको हो । यति कुरा मान्न कसैलाई आपत्ति छ र ?
भूटानीहरु नेपालमा शरणार्थी बनेर बस्ता त्यहाँको सरकारले नेपाली नागरिकसरह मान्यता नदिएको गुनासो धेरै सुनिन्छ ! यसमा तपाइँको विचार?
यो कुरामा म प्रष्ट छुः भूटानीहरुले नेपालमा ‘हामीलाई नेपाली नागरिकता चाहियो’ भनेर माग गरेका थिएनन् । उनीहरुले अस्थायी बास बस्ने स्थान र स्वदेश फर्कने वातावरण मिलादिन नेपालको सरकारसित अनुरोध गरेका थिए । सो अनुसार नेपाल भूमिमा भूटानीहरुले बास पनि पाए । तर, स्वदेशफिर्तीको वातावरण मिलाउने सन्दर्भमा चाहिं नेपालले आफ्नो कुटनीतिक दुर्बलताको प्रदर्शन गर्दै निर्वासित भूटानीहरुलाई सधैं बन्धक बनाउने सम्झौताहरुमा हस्ताक्षर गर्दै गयो । यसकै नतिजाले भूटानीहरु स्वदेश फिर्न सकेनन् । अर्को कुरा निर्वासित भूटानीहरुले आपसी फुट र बेमेलका कारण भूटानभित्रको जनमानसलाई आन्दोलित बनाउन पनि सकेनन् । समष्टिको कुरा यति नै हो ।
आज आएर नेपालले नागरिकसरह मान्यता नदिएको गुनासो गर्नेहरुले घुसपेशमै भए पनि नेपाली नागरिकता लिएर उतै बसेका भए हुन्थ्यो ! किन उनीहरु ‘भूटानी शरणार्थी’ पहिचानमार्फत अमेरिकालगायतका देशमा आएका हुन् ? कि तपाइँहरुमध्ये कसैले नेपाली नागरिक भएरै पनि नेपाल सरकारलाई घुस बुझाएर राहदानी लिनुभएको हो ? उहाँहरुलाई यो मेरो प्रश्न हो । अझ अर्को सम्भावनाको कुरा पनि गरौं । यदि नेपालले त्यो बेला भूटानीहरुलाई नागरिकता दिएर होस् वा नागरिकताबिना पनि नेपाली नागरिकसरह मान्यतामा स्थापित गरेको भए भूटानबाट निर्वासित हुनेहरुको संख्या एकलाख नभएर चारलाख हुनसक्थ्यो । त्यतिमात्र होइन, भारतबाट कति नेपालीभाषी लखेटिन्थे ! नेपालको असली जनसंख्यामा ३० प्रतिशत बोझ थपिन्थ्यो । यस्तो नतिजा भोग्न नेपाल तयार थिएन । आन्तरिक सरोकारमा नेपालले जो गऱ्यो, ठीक गऱ्यो भन्छु म । तर, शरणार्थीको सरोकारमा बेठीक गऱ्यो । त्यसो त नेपालले टेकनाथ रिजाललाई भूटानमा सुपुर्दगी गर्दादेखि नै बारम्बार गलत कुटनीतिक निर्णयहरु गर्दै आएको हो । यस्ता धेरै सन्दर्भहरु छन् । यही संवादमा सबै कुरा उल्लेख गर्न सम्भव छैन ।
अब आ-आफ्ना पृष्ठभूमिका पुराना कुरा जतनले थन्क्याएर नयाँ कुरा गर्न सिक्नुपर्छ । भूटानमा नेपाली पुर्खा कहाँबाट कहिले भूटान पुगेका थिए भन्ने कुरा गौण हो, यसलाई थाँती राखेर ड्रूक रालुङस्थित धार्मिक मठको उत्तराधिकार विवादमा परेपछि शरणार्थीको रूपमा भूटान पसेका शाब्ड्रुङ नावाङ नाम्गेल सँगसँगै (आठ वर्षपछि) भूटान पुगेको पहाडे समुदायचाहिं आधुनिक भूटान राज्यस्थापनामा के कुराले चुक्यो ? नेपाली बोल्ने समुदायले देशको उन्नतिपथका कस्ता योजनामा बाधा गऱ्यो? देशको उन्नतिमा साँच्चै बाधा गऱ्यो कि रक्षा गऱ्यो ? बाधा गरेन भने किन त्यस्तो भाष्य निर्माण गरियो? यस्ता सारा वृत्तान्तको लेखाजोखा गर्नतिर लाग्नु जरुरी छ । हाम्रो सामाजिक विश्वास परम्परा अनुसार वर-पिपल रोप्नेहरुको नाम ती बोट रहेसम्म रहिरहन्छ । वर-पिपल उखेल्ने र फाँड्नेको पनि नाम त रहन्छ तर, कुन अर्थमा रहन्छ, त्यो तपाइँलाई पनि ज्ञान छ । कुन अर्थको नाम राख्ने तपाइँ-हाम्रो हातमा छ । समाजको अस्तित्वका लागि कुन नाम हितकर छ- कुन कित्तामा समाजको इतिहासलाई स्थापित गर्ने भन्ने जिम्मा निर्वासित समूहमा परेका सबैको दायित्व हो ।
भूटानका नेपालीहरु मात्र बाहिर (नेपाल) बाट गएका भन्ने आरोप थियो ! अरुचाहिं सबै त्यहीँ उत्पति भएका हुन् ?
आधुनिक भूटानका संस्थापक शाब्ड्रुङ नावाङ नाम्गेल पनि सन् १६१६ मा मात्र भूटान पसेका हुन् । उनी भूटान प्रवेश गरेको ८ वर्षपछि, यानिकि सन् १६२४ मा भूटान पुगेका गोर्खाली (नेपाली)-हरुलाई आज ‘विदेशी घुसपैठी’ को अभियोग लगाएर देशबाट हटाउँदा यसका विरुद्ध बलियो अठोटमा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा वकालत गर्न नसकेकै कारणले निर्वासित भूटानीहरुको मुद्दा कमजोर भएको हो ।
आधुनिक भूटान राज्यको संस्थापक शाब्ड्रुङले लगभग आफूसँगै (आठ वर्षपछि) तत्कालीन गोर्खा र नेपाल मण्डलबाट देशरक्षाको लागि मागेर लगेका रैतीहरु कसरी ‘राजद्रोही’ भए? भन्ने न्यायिक प्रश्नको उत्तर खोजी गर्न अबका दिनमा सबै जुटेर एकमुष्ट पहल गर्नु अत्यावश्यक छ । अब निर्वासित समुदायले आफ्ना पुर्खाहरु कहाँबाट कहिले गए भन्ने कुराको खोजी गर्नुभन्दा बढी उनीहरुले भूटानमा राज्यलाई कर तिरे कि तिरेनन् ? देशको उन्नतिमा भूमिका खेले कि खेलेनन् ? अथवा के कुरामा उनीहरुले देशलाई हानी पुऱ्याउने काम गरे? राष्ट्रसंघलाई साक्षी राखेर यी प्रश्नहरु सोधिनु जरुरी छ । सन् १९३० को मई ९ तारिख राजा सोनाम तोब्गे दोर्जीले ब्रिटिश प्रतिनिधिलाई सम्बोधन गर्दै लेखेको एउटा पत्रमा भूटानमा निवास गरेको, जमीनको स्वामित्व लिएको र सरकारलाई कर तिरेको आधार नै भूटानी हुनुको यथेष्ट आधार बताएका थिए । ठूलो आर्थिक घोटाला गरेको अभियोग लागेका चेङमारी भूटानका अकलसिंह तामाङ (कसैले लिम्बू पनि लेखेका छन्)-लाई ब्रिटिशले सुपुर्गदी गर्नुपर्ने माग गर्दै राजा दोर्जीले त्यस्तो आग्रह गरेपछि खरसाङमा जन्मिएका अकलसिंह भूटानी हुन् कि ब्रिटिश भारतका रैती हुन्? भनेर राष्ट्रियता तोक्ने आधारबारे ब्रिटिश प्रतिनिधिले उल्टो प्रश्नात्मक पत्र पठाएका थिए । सिक्किमस्थित ब्रिटिश प्रतिनिधिलाई उत्तर दिँदै राजा दोर्जीले अकलसिंह भूटानमा जमीनको धनी भएको, कर तिरेको र सरकारी कर्मचारीसमेत रहेकाले भूटानकै रैती भएको ठोकुवा गर्दै ब्रिटिशले उनलाई पक्रेर भूटानको हातमा बुझाउनुपर्ने अनुरोध गरेका थिए । यहाँहरुले अवधेशकुमार सिन्हाको ‘हिमालयन किङ्डम-भूटान’, पृसं १३३ हेर्नसक्नुहुनेछ । अंग्रेज लेखक माइकल हट्को ‘अनबिकमिङ सिटिजन्स’मा पनि यो कुरा स्पष्ट उल्लेख छ ।
इतिहासका यस्ता तमाम तथ्यहरुको खोजी गर्दै आफ्नो समुदायमाथि लागेको कलंकविरुद्ध न्यायिक पहल गर्नुको सट्टा अनेक तरहका बहानामा अल्झिनु कमसे कम मेरो बुझाइमा मुर्खता हो । आफ्नो कर्तव्यप्रति उदासीन भएर आफैंमाथि अन्याय गरिरहने अनि विगतमा भए-गरेका हानि-नोक्सानीजति अरुकै दोषभागमा पस्किने निर्वासित भूटानीहरुको सामाजिक मनोवृत्तिमा धेरैपक्षले भूमिका खेलेका छन् । यो क्रम अत्यन्त घातक छ । मानिस सधैं भोलिको कल्पनामा बाँच्छ । तर, कहिल्यै नभेटिने समय भनेकै भोलिमात्र हो । भेटिएको समय आज हो भने भेटिएर छुटेको समय हिँजो हो । हिँजोबिनाको आज र आजबिनाको भोलि कल्पना गर्नै सकिँदैन । यसर्थ हिँजोको सम्झना र भोलिको कल्पनाबीच तरुलझैं चेप्टिएको आजलाई सहज रूपमा उपभोग गर्न ‘फर्गिभ बट् नेभर फर्गेट’ भन्ने विचार पाल्नु सबैका लागि श्रेयस्कर हुनेछ ।
भूटानका शासकहरुले नेपालीभाषीहरुलाई किन कोल्टे नजर राखेका हुन् ?
यसमा धेरै दृष्टिकोणहरु छन् । पहिलो कुरो त भूटानका शासकहरुले नेपालीभाषीमाथि मात्र कोल्टे नजर लगाएका होइनन् । उनीहरुले खासमा देशको सार्वभौकिता र नागरिक हक-अधिकारसहितको स्वतन्त्रता चाहनेहरुलाई कुदृष्टि राखेका हुन् । नेपालीभाषी मात्र त्यो बक्रदृष्टिको शिकार बनेका भए ओम ढुङ्गेल (हरु) निर्वासित हुँदा दिननाथ ढुंगेल (हरु) भूटानमा परराष्ट्र दूत (मन्त्रीसमेत) बनिरहन सक्ने थिएनन् । डा.भम्पा राई, बलराम पौडेलहरु शरणार्थी बनिरहँदा नन्जलाल राई, ठाकुरसिङ पौडेलहरु भूटानमा मन्त्री बनिरहने थिएनन् ।
अँ…कतिमात्र हो भने अकंटक राजसत्ता टिकाउन स्वतन्त्रताको आवाजलाई निर्मूल गराउने उद्देश्यमा सकेसम्म धेरै नेपालीभाषीमाथि दमन गर्नुथ्यो, शासकहरुले भाषा, संस्कृतिनी प्रतिबन्ध लगाएर त्यो काम गरे । कतिको ज्यान-धनमाथि धावा बोले । यस कदमले धेरै नेपालीभाषी भूटानीहरु आतंकित भए र देश छोडे । तर, स्वतन्त्रताको आवाज फैलिँदै पूर्वीभूटानसम्म पनि पुग्यो । नागरिक हकको लागि आवाज उठाएकै कारण सयौं पूर्वेली सार्छोपहरु ३० वर्षदेखि कैदमा छन् । केही निर्वासित सार्छोप अगुवाहरुको दमन र यातनाकै दीर्घम्यादी असरले निधन भयो । केहीले हामीसँगै पुनर्वाश योजनामा सामेल भएर अमेरिका, बेलायत, अष्ट्रेलियाको वास रोजे । अर्थात् उनीहरु हामीसँगै छन् ।
यसबारेमा कसैको ध्यान गएझैं लाग्दैन । केही समयदेखि निर्वासनबाट मित्रहरु भूटानका जेलहरूमा रहेका राजबन्दी रिहाई अभियान चलाएको बताइरहेका छन् । तर, यो अभियान पनि दक्षिण भूटानका नेपालीभाषी भूटानीहरुको कैदमुक्तिका लागिमात्र केन्द्रित भएको देखिन्छ । अहिले आएर पुनर्वाशमा विभिन्न देश पुगेका पूर्वभूटानीहरु आफू ‘भूटानी’ कि ‘नेपाली?’ भन्ने प्रश्नमा धेरै अल्मलिएका देखिन्छन् । उनीहरू बारम्बार अनावश्यक विवादित बहसमा अल्झिइरहेको अवस्था छ । पहिचानका बहुआयामिक पक्षलाई नबुझी, मानवीय संवेदनाका अनेक तरङ्गलाई एकैचोटि अभिव्यक्त गर्नखोज्ने अथवा सबैखाले पहिचानलाई एकै ठाउँ मिसाएर, अथवा नवपुस्ताले बुझ्ने शब्दावलीमा भनौं ‘प्राइमेरी इन्ट्रोडक्शन’ मै सबैथोक घोलेर ओखलीमा अचार कुटेझैं गर्नथालेपछि, वा रोगीलाई खुवाउने ओखती बनाउन लागेझैं गरेपछि यो अवस्था आएको हो । अमेरिकामा ठिन्ले पेञ्जोर, श्रीमती रोङ्थोङ, हिसे पेल्जोमलगायतको अस्तित्वबारे जानकारी हुने र स्वतन्त्रताको चाहनामा उनीहरुले भूटानमा गुमाएको पौरखबारे लेखाजोखा गर्नसक्ने चैतन्य भएका मान्छेहरुले पहिचानको सवालमा आफूलाई ‘नेपाली’ ‘नेपाली’ मात्र भनेर चिच्याइरहँदैनन् । अर्थात् ‘भूटानमा नेपालीमाथि मात्र अन्याय भयो’ ‘हामी त बेचिएका नेपाली पो रहेछौं’ भन्दैनन् अनि ‘तेस्रो राजाले भूटान लग्यो र चौथो राजाले धपायो’ पनि भन्दैनन् । यो प्रश्न निक्कै गम्भीरजस्तो लागे पनि उत्तर शालीन छ, सुगम छ ।
संवादका क्रममा यहाँले माथि धेरै जटिल कुराहरु उठाउनु भो । कतै एउटै धर्म, भाषा, भेष-एउटै जाति र सामाजिक-सांस्कृतिक परम्पराका तिब्बत, सिक्किम र भूटान छुट्टा-छुट्टै देश बनेका, तिनीहरुबीच अनेक युद्ध भएका कुरा गर्नुभयो । कतै भूटान राज्यस्थापनाका नायक शाब्ड्रुङ स्वयं शरणार्थीको रूपमा भूटान आएका र अन्त्यमा एक शरणार्थी समुदायले अर्को समुदायलाई शरणार्थी बनाएको प्रसंगमा चाखलाग्दो इतिहास झल्काउनुभयो । यस्ता ऐतिहासिक कुराहरु बुझ्न कुन कुन पुस्तक पढ्नुपर्छ?
नेपालीमा सुशिला मानन्धरको ‘भूटानको अरुणोदय’ भन्ने पुस्तक देखेको थिएँ । अन्य पनि केही होलान् । डा. ध्रुव रिजालकृत द रोयल सेमी-अथोरिटरियन डेमोक्रेसी, डा. डिएनएस ढकाल हुँदै डा. लक्ष्मीनारायण ढकाल हुँदै केही गन्नसकिने निर्वासित भूटानीद्वारा लिखित पुस्तक पनि छन् । तर, अंग्रेजीमा गनेर नसकिने अनेकौं पुस्तकहरु छन् । धेरै मात्रामा थिम्पूको दरवारले नै भारतीय लेखकहरुलाई निम्ता गरेर लेखाएका अंग्रेजी पुस्तकहरु छन् । तिनलाई पढेरमात्र सबै कुरा जानिँदैन । बुझ्नु पनि पर्दछ । अंग्रेजीमा ‘रिड बिट्ह्वीन द लाइन्स’ भनिन्छ निः ! हो, त्यसो नगरी बुझिँदैन । धेरैमध्ये एउटा पुस्तकको कुरा गरौं । ‘तिब्बत, सिक्किम र भूटानका लागि राजनीतिक प्रतिनिधिकी श्रीमतीको संस्मरण’ (Memoirs of a Political Officer’s wife in Tibet, Sikkim and Bhutan) मा उल्लेख मार्गरेट डी.ह्विलियमशनको कथन अनुसार एउटा भीषण युद्धको अन्त्यसँगै मानसरोवर क्षेत्रको कैलास पर्वत छेउमा रहेको दार्चेन गुम्बामाथिको स्वामित्व तिब्बतले कब्जा गऱ्यो । यस विवादमा भूटानका द्वितीय महाराजा जिग्मे वाङ्चुकले तत्कालीन ब्रिटिश प्रतिनिधि फ्रेडरिक ह्वीलियमशनलाई तिब्बतबाट त्यो क्षेत्र फिर्ता गराइदिन अनुरोध गरे । मार्गरेटको कथनानुसार फ्रेडरिक ह्विलियमशनले तिब्बत र भूटानबीच सो विषयमा मध्यस्थता गरे । कैलास पर्वतसम्म भूटानले आफ्नो स्वामित्व फिर्ता पायो । तर, पछि सन् १९५९ को ह्लाशाविद्रोहपश्चात चीनले तिब्बतमाथि कब्जा गऱ्यो, तिब्बती शासक १४ औं दलाई लामा, तेञ्जिन ग्यात्सो निर्वासित भए अनि तिब्बतभित्र भूटानले चर्चिएका सबै क्षेत्रहरु सधैंका लागि चीनकै अधीनमा गए ।
आफ्ना श्रीमान फ्रेडरिकको स्मरणमा बेलायत निवासी मार्गरेट ह्वीलियम्शनले लेखेको यो पुस्तकमा अलि बढी भरोसा गर्न सकिन्छ । किनभने यो पुस्तक उनलाई भूटान दरवारले निम्ता गरेर लेखाएको थिएन । सन् १९३३ मा पोटाला दरबार पुगेर १३ औं दलाई लामा, थुप्तेन ग्यात्सोलाई भेटेका फ्रेडेरिक फ्रेडरिक ह्वीलियमशनले थुप्तेन ग्यात्सोको निधनपछि तिब्बतमा आएको राजनीतिक उतार-चढाव, चीनको नजानिँदो तिब्बत-हडप पहलकदमीको साक्षी पनि बन्न भ्याएका थिए । संयोग नै भनौं कि गुप्त प्रायोजनले हो, फ्रेडरिक ह्वीलियमशन क्रमशः थुप्तेन ग्यात्सोका सहयोगीहरुको बहिर्गमन र कालेबुङमा निर्वासित जीवनयापनका लागि पोरक्ष सहयोगी बनेका थिए । दलाई लामाको उत्तराधिकारमा हक जमाउन खोजिरहेका रुस समर्थित लुङत्सारको आँखा फुटाइ, जिब्रो काटेर निर्मम हत्या आदि घटनाको प्रत्यक्षदर्शी बनेका फ्रेडरिक ह्वीलियमशनको भूटान सम्बन्धबारे चाखलाग्दो कुरा त के छ भने मार्गरेट र फ्रेडरिक-ह्वीलियमशन दम्पत्तिले विवाहपछि भूटानको पारोमा पुगेर हनिमुन मनाएका थिए । सन् १९३४ भूटानका द्वितीय राजा जिग्मे दोर्जीको कलकत्ता भ्रमणलाई सफल पार्न ह्वीलियमशन दम्पत्ति (फ्रेडरिक-मार्गरेट) ले प्रभावकारी भूमिका पनि खेलेका थिए ।
अन्ततः सन् १९३५ मा फ्रेडरिकले तिब्बतको देकीलिङ्कामा शरणार्थी मृत्युवरण गरे । त्योबेलाको ‘कहिल्यै घाम नअस्ताउने’ बेलायती साम्राज्यको प्रतिनिधि भएर पनि ब्रिटिशले चर्चिन नसकेको पराई मुलुक तिब्बतमा उनले मृत्युवरण गर्नुपरेको इतिहासले के बताउँछ भने सीमाहरुको चौघेरामा बाँधिएको राष्ट्रियताले त्योबेला पनि मानिसलाई थाम्न सकेको थिएन रहेछ; आजको ग्लोबल भिलेज अवधारणामा झन् के बाँध्न सक्ला !
यसर्थ, भूटानबाट लखेटिन पऱ्यो, हामी शरणार्थी बन्नपऱ्यो भनेर कसैले हीनताबोध गर्नु पर्दैन । सधैं रोएर जीवन सहज हुँदैन । जे भएको छ, भोगाइलाई अनुभवको रूपमा लिई अभ्यास गर्दै जीवनको गति अघि बढाउने हो । तर, इतिहास नबिर्सीकन साँचेर पनि राख्ने हो । ‘भूटान टु ब्ल्याक टाउन’ का लेखक ओम ढुंगेलको कथनझैं सधैं खुम्चिएर, पीडाबोध गरेर, रोइकराइ गरेरमात्र आफूप्रति न्याय हुँदैन; जे भएको छ त्यसलाई सकार गरौं अनि अघि बढौं । त्यसैमा जीवनले खुशी पाउँछ; गति र उन्नतिको बाटो पाउँछ !
जाँदाजाँदै एउटा चाखिलो कुरा छुटाउन सकिएन । मार्गरेटले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन्,“सन् १९७४ मा चौथो राजा जिग्मेसिंगेको गद्दी आरोहण समारोहमा निम्ता आएकोले म थिम्पू पुगें । त्यहाँको कार्यक्रम सकेर म आफ्नो पुरानो बासस्थान गान्तोक पुगें । एक बिहान टासी नाम्गेलको दरवार अगाडिको उद्यानमा हिँडिरहँदा दरबारको एकजना लामा कर्मचारी मेरो नजिक आएर केही भन्न खोजे । उनले मेरो कुरा नबुझ्ने, मैले उनको कुरा नबुझ्ने भएपछि हामीलाई संवाद गर्न असम्भव भयो । पछि कसैको सहयोगमा कुरा बुझ्दा उनी त फ्रेडरिक र मैले सन् १९३३ मा तिब्बत भ्रमणताका आयोजना गरेको बालभोजमा सहभागि एकजना बालक रहेछन् ।”
मार्गरेटको यो कथनबाट हामीले के बुझ्न सकिन्छ भने सन् १९७० को दशकसम्म पनि तिब्बतबाट सिक्किम र भूटान पस्ने अनुप्रवेशकारीहरुको कमी थिएन । तिब्बतबाट आएर यसरी दरबारसम्म पहुँच बनाउन सक्नेहरु गाउँ-बस्तीहरुमा कति क्षेत्र ओगटेर बसे होलान् ! अनि सन् १६२४ मै गोर्खाका राजा रामशाहको पालामा सन्धि गरी भूटान लगिएका परिवारका सन्ततीहरु, तिनका आफन्त र विरादरीहरुचाहिं सन् १९९० मा आएर कसरी ‘देशद्रोही विदेशी’ भए?
भूटानका शासकहरुलाई कुर्सीमा राखेर यस्ता तमाम प्रश्न सोध्ने वातावरण बनाइदिन जसले भूमिका खेल्छन्, ती हाम्रा सहयोगी हितचिन्तक हुनसक्छन् । भूटान भन्ने भूगोल सम्झेर नाफा छैन, अब भूगोल बिर्सिएर जातीयस्पदालाई गोलबद्ध गरौं भन्नेहरु जान-अन्जानमा थिम्पूका सहयोगी हुन्छन् । यति कुरा राम्रोसँग बुझेकाहरुसित हरेक सम्भावित सहकार्यमा हाम्रो साझेदारी रहने छ । आउनुहोस्, अस्तित्व सरोकारमा नयाँ भाष्य बनाउने प्रयत्नका अनेक अल्झनहरु छोडेर भएकै भाष्यमा समझदारी गरौं । हात मिलाउँ, काँध मिलाउँ र ठुल्ठूला साहित्यिक दस्तावेजहरु निर्माण गरौं ।
नेपालीभाषी भूटानी समाजका अग्रज लेखक तथा बरिष्ठ पत्रकार श्रीभक्त घिमिरेसँग समाज टाइम्सले गरेको संवाद। घिमिरे हाल अमेरिकाको पेन्सिल्भेनिया बासिन्दा हुन।