ऐना अघि उभिएर सबिन शर्मा

गण्डकीपुत्र
आदि गजलकार मोतीराम भट्टबाट बि. सं १९४० देखि प्रारम्भ भएको गजल लेखन आजको समयसम्म विभिन्न चरणहरू पार गरेर आइपुगेको छ । गजल लेखन अब अगाडि कसरी बढ्दै जान्छ , विशेष गजल प्रेमीहरूको चासोको विषय पनि हो । यो चिन्ता र चासो स्वाभाविक पनि छ । मोतीरामबाट सुरु भएको गजल लेखन मोती मण्डली हुँदै भिमनिधी तिवारी सम्म आएर करिब विश्राम लिएको अवस्थामा थियो ।
फाट्टफुट्ट गजल लेख्नेहरू देखा परेपनी समर्पित भएर लाग्ने गजलकार जन्मिएका थिएनन् । भिमनिधी तिवारी पछि लामो समय वाङमय क्षेत्रमा गजल देखानै परेन भन्दा पनि हुन्छ । २०३५ साल सम्म गजलको त्यति प्रसङ्ग आउँदैन थियो । ज्ञानुवाकर पौडेल , ललिजन रावल , बुँद राना, वियोगी बुढाथोकी, डा. राममान तृषित ,जस्ता गजलकार २०३५ देखि देखा परे । गजलले बिस्तारै परिचय स्थापित गर्दै गयो । ५० को दशकमा गजलमा एक प्रकारको उभार नै आयो ।
रेडियो सगरमाथा सङ्ग जोडिएर भावक अभियान नेपालले गजललाई उजिल्याउन ठुलो भूमिका खेल्यो । यसको नेतृत्व त्यस बेला अजम्बरी गीत सङ्गीतका प्रस्तोता प्रकाश सामयीले गरेका थिए । अभियानका अन्य सदस्यहरूमा दीप अधिकारी, गण्डकीपुत्र, मनोज शर्मा, आरजु विष्ट सल्यानी, दिवाकर बाशिष्ठ, सृजना दाहाल आदिले गरेका थिए । नेपालमा पहिलो गजल प्रतियोगिता भावक अभियान नेपालले भक्तपुरको कटुन्जेमा गरेको थियो । रेडियोमा प्रकाश सामयीले गजल सप्ताह नै चलाएका थिए । केही युवाहरू दाहालको दैलोमा भेला भएर बहरमा गजल सुन्ने सुनाउने गर्न थाले थिए । जो पछि अनाम मण्डली भयो ।
भावक अभियानले वातावरण पत्रकार समूहको भवनमा बत्तिस जना नवोदित गजल लेख्न रहर गर्ने युवाहरूलाई गजल संरचनाको विषयमा सात दिनको प्रशिक्षण दिने काम गर्यो । यिनै अभियानका बिच कृशु क्षेत्री, गोवर्धन पूजा लगायत युवाहरूले गजल मञ्च नेपाल स्थापना गरे । यो मञ्च स्थापना भएपछि जिल्ला जिल्लामा गजल मञ्च निर्माण हुने लहर चल्यो । त्यसै मेसोमा प्रकाश आङ्दम्बेले पुर्वान्चल गजल मञ्च को रूपरेखा तयार गरे ।
गण्डकीपुत्र, धनकुटे कान्छा, माया मितु न्यौपाने, विवश बलिभद्र कोइराला, लोकेन्द्र बन्जरा, लगायतको सहभागिता थियो । गजल लेखन शिविर तिर पनि व्यापक हुँदै थियो । विभिन्न समयमा शिविरका युवाहरू गजल गोष्ठीमा भेटिन्थे । यही समयमा दमकमा गजल गोष्ठीको आयोजना भएको थियो । यही गजल गोष्ठीमा भेटिएका थिए गजलकार सविन शर्मा । मलाई लाग्छ उनी सङ्ग अर्का गजलकार त्रिविक्रम न्यौपाने पनि थिए । यी दुवै युवा गजलकार गोल धाप शिविरमा बस्थे ।

दमकमा गजल या कविताको कार्यक्रम हुँदा हाम्रो चिनजान र परिचय भएको थियो । उनै सबिन शर्माको गजल सङ्ग्रह ऐना अघि उभिएर अहिले मेरो हातमा छ । र त्यसैको पाठकिय धारणा राख्ने सानो प्रयास हो यो लेख । त्यस बेला सम्म भुटानमै बसेर गजल लेख्ने गजलकार मैले भेटिन । मेरो अल्प ज्ञान पनि हुन सक्छ । शिविरमा आएपछि नेपाली मूलका भुटानी गजलकारले गजल लेख्न थालेको हो भन्ने गरिन्छ । सबिन शर्मा सङ्ग मेरो पहिलो भेट साहित्य चौतारीको कार्यक्रम बिर्तामोडमा र पछि दमकमा भएको थियो ।
सविन शर्माका गजल का बान्की रहर लाग्दा छन् । गजललाई लामो समय शृङ्गार को विषय भनियो । अहिले पनि त्यसो भनेर पण्डित्याइँ छाँट्नेको कमी छैन । मोतीराम भट्टले केही शृङ्गार र केही भक्ति धाराका गजल लेखेका छन् । अलि पछि सम्म यो मान्यता रहेपनी गजलले आफ्नो परम्परागत परिभाषालाई आफै द्वारा काटिदियो । आजको मानिस नारीका सौन्दर्य र हाउभाउ भन्दा बढी स्खलित भएको मानवीय संवेदनाले पीडित छ ।
नारी अबको दुनियाँमा रूपले मापन गर्ने बस्तु रहिन । उसलाई यो समयको दौडादौडमा पाइला नबिसाई दौडनु पर्ने बाध्यता छ । विज्ञानले हिजोका कैयौँ परिभाषा उलटफेर गरिदिएको छ । नारी अब सिँगारिएर बस्ने नभै पुरुष सङ्ग सङसङै प्रतिस्पर्धामा उत्रने भए । अब सिँगार पनि गजलमा नम्र र विनयशील भएर प्रकट हुने गरेको छ । पुरुष पनि अब नारीका अस्मितालाई सम्मान गर्ने ठाउँमा आइपुगेको भान हुन्छ, सबिनका गजलका यी पंङ्ती ले ।
जस्तै ;-
मेरो मनमा छ कोही म जरुर हुँ कसैको !
म सुहाग हुँ कसैको म शृङ्गार हुँ कसैको !!
गजलकार सबिनको बाल्यकाल सुखद रहेन । आफू जन्मिएको थातथलो बाट आफ्ना आफन्त सङ्गै उनी देश निकालामा परे ।
हुरीले अत्त्याएको चरीजस्तो बिचल्ली भएको जीवन सानैमा अनुभव गरे । कति आधी , हरि र घाम पानी सहेर बसे । जस्तो भएपनी उनलाई आफू उभिएको जमिनको असाध्य माया लाग्छ । मनमा अमिट भएर बसेको माटोको प्रेमले उद्वेलित बनाउँछ । मानिस धेरै कुरा भुल्न सक्छ तर बालापनमा खेलेको माटो भुल्न सक्दैन । सबिनको गजलले माटोलाई यसरी सम्झिएको छ ।
“लेखिएथ्यो अलिकति तक्दिर मेरो
कस्तो भयो होला ऐले प्यारो शिविर मेरो ´´
सबिनले बालखैमा आफ्ना अग्रजबाट निर्वासन हुनुपरेको कुरा सुने । त्यो केटाकेटी उमेरमा किन यसरी आफ्नो घर छोड्नु परेको होला भन्ने लाग्थ्यो होला उनलाई । समय सङ्गै परिपक्व हुँदै गएपछि बुझे होलान् कुराहरू । त्यो मनमा कतै गाडिएर बसेको थियो । उनी सचेत भएर गजल लेख्दा ती कुरा प्रकट भए सायद र त समाजका बेथिति र विकृतिका विरुद्धमा सबिनका गजल कतै शालीन र कतै आक्रामक विद्रोह हुङ्कार गर्छन् । उनले आफ्ना गजलका माध्यमबाट भ्रष्ट शासक र प्रशासकलाई मात्र होइन न्यायालयलाई पनि कटाक्ष गरेका छन् । उनी न्यायपूर्ण समाजको कल्पना डुबेका मात्र छैनन् त्यो प्राप्तिका लागि कठोर हुन आव्हान पनि गर्छन् !
“ उसलाई मालिक बनाउनु बेवारिसबाट !
आदेश भएको छ माथि न्यायाधीशबाट ´´!!
“घुस मागी खानेप्रति दया गर ए जनता हो !
दयापूर्ण ठोक गोली निकालेर अफिसबाट ´´!!
मानव जीवन आँसु हाँसो , दुख सुख , मिलन बिछोड , उत्साह बिरक्ती यिनै कुराको संयोजन न हो । गजलमा उत्साह जस्तै बिरक्तिएका भावहरू पनि समेटिएका छन् । आखिर मान्छेकै मन हो सधैँ एकनास रहने कुरा पनि भएन । सानो मसिनो कुराले पनि कहिले काहीँ मानिसलाई आहत बनाऊ छ । प्रेमको जवाफमा धोका पाएकाहरूको मर्ममै छुने गरी लेखे उनले ।
“ कस्लाई राख्यौ त्यो मनमा मलाई हटाएर !
पर्खँदै छु जवाफ अन्तिम सन्देश पठाएर ´´!!
जब कुनै मानिस मन पर्छ नि उसको हरेक कुरा मन पर्छ । सायद माया नै यस्तो बस्तु हो त्यो मन परेपछि त्यसले रूप , धन , जात धर्म सबैमाथि विजय हासिल गर्छ । ती चिज बस्तु छन् छैनन् वास्ता गर्दैन । जता पनि उसको मनमा सौन्दर्य पल्लवित हुन्छ । जता पनि मायाको , प्रेम र उमङ्गको आभास पाउँछ । सायद माया नभए मानव समाज यसरी एकीकृत भएर बस्ने थिएन । सबिनको गजल एक ठाउँमा यी सेरबाट यस्तो बोल्छ ।
“ सुनेर तिम्रो बोली सितार छैन मिठो !
साँच्चै तिमी बिनाको संसार छैन मीठो ´´!!
सुललित शब्द संयोजन , गेयात्मकता , सरल भाषा शैली , तर ओजपूर्ण अभिव्यक्ति सबिन शर्माका गजलका विशेषता हुन ।
जीवनले भोगेका सजिला , अप्ठ्यारा हिँडाइका फेहरिस्त गजलमा प्रशस्त पाइन्छ । प्रेम र जीवनका यथार्थमा आधारित प्रत्येक गजलले फरक फरक सुगन्ध दिएको प्रस्ट थाह पाइन्छ । कतिपय गजल पढ्दा पाठकले आफ्नै कथा पढेको अनुभूति गर्छ । कसरी मेरो पीडालाई आफूमा समाहित गरेर लेखेका होलान् जस्तो लाग्छ । गजलकारको सफलता त्यही नै हो । जब पाठक या श्रोता त्यसैमा हराउँछ । उनका गजलमा पाठकले आफ्नो कथा पढ्छ । केही समय अगाडि कोलम्बामा उनको गजलको एकल वाचन कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । उनको गजल वाचनमा श्रोताबाट पाएको वाहवाही ले प्रमाणित गरेको थियो सबिन शर्माको गजलको शक्ति । यिनै सदा सम्झना आइरहने र एक पटक पढ्ने बित्तिकै दिमागले टिपी हाल्ने गजलको एकमुष्ट सङ्ग्रह हो ऐना अघि उभिएर । यो गजल सङ्ग्रह गजल प्रेमीहरूका लागि उपयुक्त खुराक बन्ने कुरामा दुई मत नहोला । बधाई छ ऐना अघि उभिएर गजलका स्रष्टा सबिनजी । लेखनले विश्राम नलेओस् शुभकामना !
गण्डकीपुत्र
झोराहाट – मोरङ
हाल :- अमेरिका
र यो पनि…