रास्वपाले आन्दोलनलाई नागरिक समाजसम्म विस्तार गर्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शनलाई थप व्यापक बनाउँदै नागरिक समाजतर्फ आन्दोलन विस्तार गर्ने निर्णय गरेको छ।
शनिबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधको आधारमा हिरासतमा राखेर बयान लम्ब्याइएको भन्दै अन्य राजनीतिक दल र नागरिक समाजसँग संवाद गर्ने निर्णय गरेको हो।
गत कात्तिक २ गते सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध आरोपमा प्रहरीले पक्राउ गरी पोखरा लगेपछि रास्वपाले लगातार प्रदर्शन गर्दै आएको छ। सभापतिलाई हिरासतमा राख्ने र लामो समयसम्म बयान चलाइराख्न सत्तापक्षले प्रतिशोधपूर्ण व्यवहार देखाएको आरोप रास्वपाले लगाएको छ।
पार्टीको केन्द्रीय समिति बैठकले राजनीतिक दल र नागरिक समाजसँग संवाद गर्न उपसभापति स्वर्णिम वाग्लेलाई जिम्मा दिएको छ भने सडक आन्दोलनको नेतृत्व उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले गर्ने निर्णय भएको छ। अर्यालको नेतृत्वमा सातै प्रदेशका सभापतिहरू रहने गरी आन्दोलन सञ्चालन समिति गठन गरिएको छ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले अब बुद्धिजीवी, सम्पादक, नागरिक समाज र अन्य दलहरूसँग पनि निरन्तर संवाद र अन्तरक्रिया गर्नेछ। ‘हामीले राजनीतिक प्रतिशोधका कारण सभापतिलाई हिरासतमा राखिएको भनी विभिन्न समूहसँग छलफल गर्नेछौं,’ उनले भने।
लामिछानेमाथिको अनुसन्धान लम्बिन थालेपछि रास्वपाले जनमत पार्टीका नेता सिके राउत, नागरिक उन्मुक्ति पार्टीलगायत साना दलहरूसँग पनि छलफल गर्ने योजना बनाएको छ। बुर्लाकोटीले भने, ‘विपक्षी दलहरूसँग छलफल गरी उहाँहरूका धारणा बुझ्न चाहन्छौं। तर, सत्तापक्षसँग संवादको सम्भावना छैन। उनीहरू रवि लामिछानेमाथि प्रतिशोध साँध्न उद्दत छन्।’
रास्वपाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गर्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।