सरकारलाई प्रश्न: ‘भूटानी शरणार्थी काण्ड कहाँ पुग्यो?’
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी प्रकरण लगायतका विभिन्न विवादित मुद्दाहरूको अवस्थाबारे सरकारसँग जवाफ माग गरेका छन्।
माओवादी केन्द्रको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभामा बोल्दै प्रचण्डले यी मुद्दाहरू खोतल्न वर्तमान सरकारलाई सामर्थ्य नभएको आरोप लगाए।
प्रचण्डले भने, “यो सरकार यी काण्डहरू समाधान गर्न होइन, मिलाउन बनेको हो। मेरो नेतृत्वको सरकारले थालेको सुशासन अभियानलाई यस सरकारले अवरोध गरेको छ। संसद र सडकमा प्रतिरोध देखाउन हामी तयार छौं।”
उनले सरकारले संकट समाधानमा भन्दा दल विभाजन गर्ने अध्यादेश ल्याउन र राजनीतिक फाइदा लिन बढी ध्यान दिएको आरोप लगाए। “यो सरकारको यो हर्कत महँगो पर्न सक्छ,” प्रचण्डले चेतावनी दिए। कांग्रेस र एमालेको गठबन्धनप्रति पनि आक्रोश व्यक्त गर्दै प्रचण्डले भने, “यो सरकार दुई प्रमुख दलहरूको आदर्श वा राजनीतिक उद्देश्यले होइन, सुशासनको डरले बनेको हो।”
सरकारले ७० नम्बर ल्याएको दाबीलाई खण्डन गर्दै प्रचण्डले भने, “सत्तरीमा यस्तै अवस्था छ भने, सय आएपछि के होला? संसदमा शान्तिपूर्वक जवाफ मागिएको छ। यदि सरकारले जवाफ दिएन भने सडकबाट पनि जवाफ मागिनेछ।”
उनले संसद विघटन गरेर प्रतिगमन गरेका नेताहरू अहिले बहुमतको घमण्ड गर्दै सुशासन र जनताको मर्मलाई बेवास्ता गरेको आरोप लगाए।