एनआरएनए विवादमा सरकार हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उत्पन्न विवादमा सरकारको कुनै हस्तक्षेप नहुने स्पष्ट गरेका छन् । बद्री केसी समूहले काठमाडौंमा आयोजना गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्रीले गैरआवासीय नेपाली संघको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, बरु सकेसम्म सहयोग गर्ने सरकारको नीति रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु कि हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौँ, सकेको सहयोग पुर्याउँछौँ। तपाईँहरू एकताबद्ध भएर अघि बढ्नुस्, जुन कार्य हामीबाट गर्न सकिन्छ, त्यो हामी गर्छौं।” प्रधानमन्त्रीको यो वक्तव्यले एनआरएनएको आन्तरिक मुद्दामा सरकार तटस्थ रहन चाहन्छ भन्ने स्पष्ट संकेत गरेको छ।
गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने व्यवस्था संविधानमै गरिएको भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसको कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताए। उनले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी संवैधानिक प्रावधान कार्यान्वयन गर्न सरकारले आवश्यक तयारी गरिरहेको उल्लेख गरे। उहाँका अनुसार गैरआवासीय नेपालीहरूको नागरिकता र अधिकारलाई बलियो बनाउँदै नेपाल र विदेशमा रहेका नेपालीहरूको सम्बन्धलाई थप मजबुत बनाउन सरकार प्रतिवद्ध छ।
“संविधानमा हामीले गैरआवासीय नेपालीहरूको नागरिकताका लागि विशेष प्रावधान राखेका छौं, र त्यसलाई प्रभावकारी बनाउँदै गैरआवासीय नेपालीहरूको हितलाई सुनिश्चित गर्न हामी तयार छौं,” प्रधानमन्त्रीले भने। उनले यो व्यवस्थाले नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बलियो बनाउन र नेपालसँगको सम्बन्ध अझ घनिष्ठ राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले गैरआवासीय नेपाली संघलाई एकताबद्ध र संगठित गराउनका लागि सरकारकाे भूमिका सधैं सकारात्मक र सहयोगी रहने बताए। उनले एनआरएनएले गर्ने महत्वपूर्ण कार्यमा सरकारले सधैं साथ दिने र आवश्यक सहजीकरण गर्ने वचनबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीका अनुसार सरकारले गैरआवासीय नेपालीहरूलाई आफ्ना अनुभव र सीपमार्फत नेपालमा योगदान पुर्याउन उत्प्रेरित गर्ने वातावरण बनाइरहेको छ।
यो वक्तव्यपछि प्रधानमन्त्री ओलीले एनआरएनएलाई आन्तरिक विवाद हल गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। एनआरएनएको एकता र संगठनात्मक सुदृढता नेपाल र नेपालीहरूको सामूहिक हितका लागि महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा व्यक्त गरे। उनले विदेशमा बसेर समेत नेपालप्रति अगाध माया राख्दै आएकोमा खुशी व्यक्त गर्दै, गैरआवासीय नेपालीहरूको योगदानलाई उच्च सम्मान गर्ने सरकारको नीति रहेको बताए।
प्रधानमन्त्रीले एनआरएनएले गर्ने पहल र यसका गतिविधिहरूले नेपाल र नेपालीहरूको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा सुदृढ बनाउने विश्वास व्यक्त गरे।