अमेरिकामा यस वर्षको भाइटीकाको साइत: कति बजे?
प.कमल सापकोटा
मेरिल्याण्ड,अमेरिका/ यस वर्ष २०२४ सालको भाइटीकाको साइत अमेरिकामा आगामी नोभेम्बर ३, आइतवार का दिन परेको छ। यो पवित्र अवसर हिन्दु धर्ममा विशेष महत्त्वको दिन मानिन्छ, जहाँ दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको दीर्घायुको कामना गर्दै टीका लगाउने चलन छ।
साइत अनुसार, भाइटीका लगाउने उत्तम समय यस प्रकार रहेको छ:
– लाभ बेला: बिहान ९:१५ देखि १०:५५ सम्म।
– अमृत बेला: बिहान १०:५५ देखि ११:५७ सम्म।
– अभिजित् मुहूर्त: ११:४५ देखि १२:३५ सम्म।
ध्यान दिनुपर्ने कुरा, यस दिनको चन्द्रमा उत्तर दिशामा रहने भएकाले टीका थाप्दा पश्चिम मुख गरी टीका लगाउनु शुभ मानिन्छ।
यो पर्व केवल हिन्दु संस्कृतिमा मात्रै नभई, सम्पूर्ण नेपाली समाजमा आपसी माया, बन्धुत्व, र सम्मानको प्रतीकको रुपमा मनाइन्छ। दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने यस अवसरमा, घर-घरमा उल्लासमय वातावरण हुनेछ।
यस पर्वलाई अझ रमाइलो बनाउन, परम्परागत खाना, सेलरोटी, र विभिन्न मिठाइहरूको पनि विशेष महत्त्व रहेको छ। यसरी, भाइटीकाले पारिवारिक सम्बन्धलाई अझ सुदृढ गर्दै परम्परालाई जगेर्ना गर्न मद्दत गर्दछ।
यस्तै तिहारका अन्य पर्वहरु
यस्तै अक्टोबर २९ मंगलवार धन्तेरस ( धनत्रयोदशी )
अक्टोबर ३० बुधवार कागतिहार यमदिप दान
अक्टोबर ३१ बिहीबार लक्ष्मीपूजा दीपमालिका नरक चतुर्दशी . कुकुर तिहार .
नोभेम्बर २ गोवर्द्धन पूजा गाईगोरू पूजा म्ह पूजा
नोभेम्बर ३ आइतबार भाइटिका यम द्वितीया ।
तिहारको प्रसंग पनि बुझ्ने की?
राजा बलीको दानरूपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो । उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुपर्यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रूप धारण गरी अवतरित हुनुभयो । केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रूप धारण गरी राक्षस राजा बलीको यज्ञ स्थलमा भिक्षाम देही भन्दै जाने काम गर्नुभयो ।
दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररूपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको ? भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो । वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् ।
वामनले यति मात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरु शुक्राचार्यलाई सङ्कल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरु शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् । तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य सङ्कल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् ।
वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले पृथ्वी र पातल ढाकिन्छ । दोस्रो पाँउ स्वर्ग ढाकियो, अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन । सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सती अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् ।
बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपुण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् ।
त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ । यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ ।
काग तिहारको महत्त्व र धार्मिक मान्यता के छ ?
October 24, 2024 @ 10:51 am
[…] अमेरिकामा भाइ टिकाको साइत […]