नेपालविरुद्ध टी-२० सिरिजका लागि अमेरिकन टिम घोषणा

पेन्सिल्भेनिया । नेपालविरुद्धको तीन खेलको टी-२० सिरिजका लागि अमेरिकाले टिम घोषणा गरेको छ। नेपाल र अमेरिकाबीचको पहिलो टी-२० खेल १७ अक्टोबरमा डालासमा हुने छ। नेपालविरुद्धको टी-२० मा पूर्व कप्तान स्टेभन टेलरलाई यस पटकको टोलीमा समावेश गरिएको छैन।
३१ वर्षीय टेलरले विश्वकप र नेदरल्याण्ड्समा भएको ५० ओभरको सिरिजमा खराब प्रदर्शन गरेको कारण टिमबाट बाहिर राखिएका हुन्। टेलरले टी-२० टोलीमा स्थान पाएका भए पनि चोटका कारण ‘आराम’ गराइएको थियो।
टेलर नेदरल्याण्ड्स भ्रमणको समयमा चोटबाट ‘सञ्चो’ भइरहेका थिए। जसका कारण उनलाई नामिबिया टुरमा सामेल गरिएको थिएन। उनले माइनर लिग टी-२० मा लगातार दुई शतक हानेर आफ्नो फिटनेस प्रमाणित गरे पनि यस पटक पनि टिममा समावेश गरिएन।
त्यसैगरी, नितिश कुमारलाई पनि कमजोर प्रदर्शनका कारण टिमबाट हटाइएको छ। उनले विश्वकपपछि खेलेका ७ इनिङ्समा १३ को औसतमा मात्र रन बनाएका थिए। भारतविरुद्धको २७ रनको इनिङ्सपछि उनको प्रदर्शनमा गिरावट आएको थियो। स्मित पटेललाई ग्रोनको चोटका कारण ६ हप्तासम्म टिमबाट बाहिर रहनुपर्नेछ, जसका कारण उनी ५० ओभरको त्रिकोणात्मक सिरिजमा पनि अनुपस्थित हुनेछन्।
अमेरिकी टोलीका प्रमुख बलर अली खान टिममा फर्किएका छन्। ३३ वर्षीय अली खानले विश्वकपपछि नेदरल्याण्ड्स टुर गुमाएका थिए र त्यसपछि लागेको चोटका कारण उनी सीपीएल (क्यारेबियन प्रिमियर लिग) पनि खेल्न सकेनन्। एरोन जोन्स पनि टिममा पुनः फर्किएका छन्। जोन्सले नामिबिया टुरमा सहभागी हुनुभन्दा सीपीएल खेल्न रोजेका थिए। उनले सीपीएलको फाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि पुनः टोलीमा स्थान सुरक्षित गरेका हुन्।
मोनांक पटेलले कप्तानीको जिम्मेवारी सम्हाल्नेछन्। उनी काधको चोटका कारण नामिबियामा टी-२० खेल्नबाट बञ्चित भएका थिए। उत्कर्ष श्रीवास्तव पनि लगातार तेस्रो पटक टिममा रहेका छन्। १७ वर्षीय श्रीवास्तवले १५ खेलमध्ये एक खेलमा मात्र अवसर पाएका छन्।
टोली: मोनांक पटेल (कप्तान), एन्ड्रीज गस, अभिषेक पाराडकर, अयान देसाई, हर्मित सिंह, जुनोय ड्रायडेल, मिलिन्द कुमार, अली खान, नोस्थुसा केन्जिगे, जसदीप सिंह, एरोन जोन्स, साईतेजा मुक्कामल्ला, शयान जाहान्गिर, उत्कर्ष श्रीवास्तव, यासिर मोहम्मद।
