नेपाल र अमेरिकाबीचको टी-२० सिरिजको टिकट विक्री खुला
टेक्सास। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अक्टोबर महिनामा अमेरिकाको भ्रमण गर्दै तीन खेलको टी–२० अन्तर्राष्ट्रिय (टी-२० ) सिरिज खेल्ने छ।
यो शृंखला अक्टोबर १७ देखि २० सम्म ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा आयोजना हुनेछ। यस सिरिजपछि आईसीसी क्रिकेट विश्वकप (सीडब्ल्युसी) लीग २ अन्तर्गत हुने एकदिवसीय (ओडीआई) खेलहरूमा अमेरिका, नेपाल, र स्कटल्याण्ड सहभागी हुनेछन्, जुन अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म चल्नेछ।
नेपाल र अमेरिकाबीच ग्रान्डपेरिमा हुने टी २० को टिकट विक्रि खुला गरिएको छ। टिकटको मूल्य १० र १५ अमेरिकी डलर राखिएको छ। पहिलो र तेस्रो खेलको टिकट मूल्य १० डलर छ भने दोस्रो खेलको मूल्य १५ डलर राखिएको हो।
हालै सम्पन्न २०२४ आईसीसी टी–२० विश्वकपमा अमेरिका र नेपालका खेलप्रति दर्शकहरूको उत्साहलाई ध्यानमा राख्दै आगामी महिनाको खेल तालिकाले थप रोमाञ्चक क्षणहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।
अमेरिकी टोली यस शृंखलामा आईसीसी क्रिकेट विश्वकप लीग २ को अंक तालिकामा दोस्रो स्थानमा रहँदै प्रवेश गर्दैछ। नामिबियामा भएको हालैको भ्रमणमा उनीहरूले चार वटै खेल जितेर राम्रो प्रदर्शन गरेका थिए।
यता नेपालले सेप्टेम्बर महिनामा क्यानडा र ओमानसँगका खेलहरूमा हार व्यहोरेपछि पुनरागमन गर्न प्रयास गर्नेछ। स्कटल्याण्डले पनि अस्ट्रेलियासँगको घरेलु शृंखला पछि विश्वकप लीग २ को अङ्क तालिकामा आफ्नो स्थान सुधार्ने लक्ष्य लिएको छ।
शृंखलाको तालिका:
यूएसए भर्सेज नेपाल, टी-२० द्विपक्षीय शृंखला
स्थल: ग्राण्ड प्रेरी क्रिकेट स्टेडियम, प्रारम्भ समय: साँझ ७ बजे (सीएसटी)
पहिलो टी-२० – बिहीबार, १७ अक्टोबर २०२४
दोस्रो टी-२० – शनिबार, १९ अक्टोबर २०२४
तेस्रो टी-२० – आइतबार, २० अक्टोबर २०२४
आईसीसी क्रिकेट विश्वकप लीग २ शृंखला तालिका
स्थल: ग्राण्ड प्रेरी क्रिकेट स्टेडियम, प्रारम्भ समय: बिहान १०:३० बजे (सीएसटी)
पहिलो ओडीआई – यूएसए भर्सेज स्कटल्याण्ड, शुक्रबार, २५ अक्टोबर २०२४
दोस्रो ओडीआई – यूएसए भर्सेज नेपाल, आइतबार, २७ अक्टोबर २०२४
तेस्रो ओडीआई – स्कटल्याण्ड भर्सेज नेपाल, मंगलबार, २९ अक्टोबर २०२४
चौथो ओडीआई – यूएसए भर्सेज स्कटल्याण्ड, बिहीबार, ३१ अक्टोबर २०२४
पाँचौं ओडीआई – यूएसए भर्सेज नेपाल, शनिबार, २ नोभेम्बर २०२४
छैटौं ओडीआई – स्कटल्याण्ड भर्सेज नेपाल, सोमबार, ४ नोभेम्बर २०२४