कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउँने
काठमाडौं। नेपालले विश्व बैङ्कसँगको सम्झौताअनुसार कार्बन बिक्रीबाट अबको एक महिनाभित्र १ अर्ब ६० करोड रुपैयाँ प्राप्त गर्नेछ। सन् २०१८ देखि २०२४ सम्म तराईका १३ जिल्लाका वनजङ्गलबाट कार्बनडाइअक्साइड घटाएको क्षतिपूर्ति स्वरूप यो रकम प्राप्त गर्न लागेको हो।
नेपालले उक्त १३ जिल्लामा २.४ मिलियन टन कार्बन सञ्चिति गरेको छ र यसका लागि प्रति टन कार्बनको पाँच अमेरिकी डलरको दरले यो रकम आउन लागेको हो। यो रकम स्थानीय लाभग्राहीहरू, विशेषगरी आदिवासी र जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान रहेको छ।
नेपालले आगामी जलवायु सम्मेलनमा ‘लिफ कोलिजन’को अन्तर्गत नयाँ सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ, जसले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कार्बन सञ्चिति गर्न मद्दत गर्नेछ। यसका लागि कार्बनको मूल्य निजी क्षेत्रका लागि प्रति टन २५ डलर र सार्वभौम मुलुकहरूको लागि १० डलर निर्धारण हुनेछ।