आजदेखि डिभी खुला
काठमाडौं। सन् २०२६ का लागि डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९:४५ (नेपाली समय) देखि आधिकारिक रूपमा खुल्दैछ। यो कार्यक्रम अन्तर्गत अमेरिकी सरकारले विविध राष्ट्रियताका व्यक्तिहरूलाई अमेरिकामा स्थायी आवासको अवसर प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष लटरी प्रणालीमार्फत छनोट गरिन्छ।
डिभी कार्यक्रममा सहभागी हुन इच्छुक योग्य आवेदकहरूले आफ्नो आवेदन अक्टोबर २, राति ९:४५ बजे (नेपाली समय) देखि नोभेम्बर ५, राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा बुझाउन सक्नेछन्। आवेदन बुझाउने आधिकारिक वेबसाइट https://dvprogram.state.gov/ मा उपलब्ध हुनेछ।
डिभी आवेदन प्रक्रियामा निष्पक्षताको सुनिश्चितता गर्दै आवेदकहरूलाई प्रति व्यक्तिले केवल एकपटक मात्र आवेदन बुझाउन अनुरोध गरिएको छ। एकभन्दा बढी आवेदन दिने आवेदकहरू स्वतः अयोग्य ठहरिने प्रावधान रहेकोले यसबारे सचेत रहन आवश्यक छ। अमेरिकी सरकारको यो कार्यक्रम पूर्ण रूपमा निष्पक्ष र पारदर्शी लटरी प्रणालीमा आधारित भएकाले सबै आवेदनहरू बराबरी आधारमा मूल्याङ्कन गरिनेछ।
डाइभर्सिटी भिसा कार्यक्रमले विविध राष्ट्रहरूका नागरिकलाई अमेरिकामा बसोबास गर्ने अवसर प्रदान गर्दछ। छनौट हुने आवेदकहरूले ग्रीन कार्ड प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न र काम गर्न अनुमति दिनेछ। कार्यक्रम अन्तर्गत सहभागी हुन इच्छुकले आवश्यक विवरण र कागजात सही ढंगले भरेर समयमै आवेदन बुझाउनु अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ।
डिभी आवेदनहरू केवल अनलाइनमार्फत बुझाउन सकिन्छ, र प्रक्रिया निशुल्क रहेको छ। इच्छुक आवेदकहरूलाई अनधिकृत व्यक्तिहरू वा सेवाहरूको प्रभावमा नपरी स्वयम् आवेदन गर्न भनिएको छ। आवेदन गर्नका लागि पासपोर्ट विवरण आवश्यक नपर्ने हुँदा यसपटक आवेदन प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।