अमेरिकामा इन्द्रदेव नरिसाएको इन्द्रजात्रा
मेरिल्यान्ड, अमेरिका/ नेपा अमेरिकाका महासचिव सुशान मानन्धरलाई आइतबार बिहान सम्म मन छटपटी थियो। येँया पुन्ही अर्थात् इन्द्रजात्राका सबै तयारी पुरा भएको थियो। दुई हजार भन्दा धेरैलाई पुग्ने गरी भोजको व्यवस्था पनि भइसकेको थियो। तर मुख्य समस्या पानीका देवता इन्द्रदेव बेखुसी हुने त होइनन्। मनमा कता कता डर त्यही थियो।
हुन पनि नेपालमा मध्य असोजमा भएको भारी वर्षाका कारण वितण्डा मच्चिएको छ। दशैको तयारी गर्नु पर्ने समयमा सयौँको निधन भएको छ हजारौँ घरबार विहीन भएका छन्।
अमेरिकाको फ्लोरिडामा पनि प्रकृतिले उत्पात मच्चाएको छ। त्यसको छिटा डिसी भर्जिनिया, मेरिल्यान्ड, पेन्सिल्भेनिया राज्यहरूमा पनि देखिको छ।
अझ भनौँ न यी राज्यमा केही दिन देखि घाम नै देखिएको छैन। मेरिल्यान्डको मौसम विभागले साता भरी नै पानी पर्ने पूर्व अनुमान गरिसकेको थियो। नेपा अमेरिकाले यस पटकको इन्द्र जात्रा सेप्टेम्बर २९ तारिख आइतबार मेरिल्यान्डको गन पाउडर पार्कमा आयोजना गर्ने टुङ्गो पहिले नै लगाइसकेको थियो।
‘जात्रा होला की नहोला’ यही अन्यौलता बिच सुशानले आइतबार बिहान विस्तारा छोडे, ११ बजे देखि त सबै जानलाई जात्रा भर्न आउन भनिसकिएको थियो। पूर्व योजना अनुसार नै नेपा अमेरिकाका सबै पदाधिकारी लागि परे।
इन्द्र रिसाएनन्। चुहियो चुहियो हुँदा हुँदै पानी परेन। नेपालमा इन्द्रलाई वर्षातका देवता मान्ने गरिन्छ र पानीको नियन्त्रण उनै इन्द्रदेवले गर्छन्।
‘मौषमका कारण जात्रा नै नहोला कि भन्ने थियो, दिन भरी पानी देखाएको थियो तर अहिले सम्म पनि पानी परेन राम्रो भयो।’ नेपाका महासचिव सुशानले समाज टाइम्स सँग भने।
इन्द्रजात्रा काठमाडौँको सबै भन्दा ठुलो धार्मिक सडक उत्सव हो। उत्सवमा इन्द्र जात्रा र कुमारी जात्रा गरी दुई वटा कार्यक्रम हुन्छन्। कुमारी जात्रा जीवित देवी कुमारीको रथयात्रा हो।
इन्द्रजात्राको मूल मर्मलाई गन पाउडर पार्कमा पनि जीवन्तता दिने प्रयास गरियो। कुमारी, गणेश र भैरवको रथयात्रा गरिएको थियो।
बालबालिका, महिला र पुरुष छुट्टा छुट्टै रथ तान्न सहभागी भए। रथ तान्दा बालबालिका रोमाञ्चित देखिन्थे।
त्यसो त परम्परागत बाजा र लाखे नाचले पनि जात्रा भर्न आएकाहरूमा आकर्षण थपेको थियो।
भैरवको मुख बाट निस्किएको ‘प्रसाद’ लिने ठाउँमा पनि ठुलै लाइन लागेको थियो। त्यो भन्दा ठुलो लाइन भोजमा थियो। आयोजकका अनुसार दुई हजार जना भन्दा बढीका लागि भोजको व्यवस्था गरिएको थियो। चार वटा लाइन बनाएर जात्रा भर्न आएका सबैलाई भोज खुवाइएको थियो।
नेपा अमेरिकामा मुस्किलले एक सय जना छन् तर उनीहरूले दुई हजार भन्दा बढीको व्यवस्थापन उत्कृष्ट रूपमा गरेका थिए।
महासचिव सुशान आफूहरू मात्र नभई बाल्टिमोरबासी सबैको सहयोगले जात्रा सफल भएको ठान्छन्।
इन्द्र जात्राले नयाँ र पुराना दुवै पुस्तालाई उत्तिकै जोडेको छ।
अमेरिकामा नेपालको कला र संस्कृतिलाई ब्रान्डिङ्ग गर्ने सजिलो उपाय पनि हुन सक्छ।
गन पाउडरमा छिटपुट रूपमा स्थानीय अमेरिकनहरू पनि सहभागी भएका थिए। यस्तो जात्रा बाल्टिमोर सिटीको सुनै स्टेटमा गर्न सके ? महासचिव सुशान भविष्यमा त्यसलाई नखार्न सक्दैनन्।
इन्द्रजात्राका तस्बिरहरु …