बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो
काठमाडौँ । असोज १० गतेदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुगेको छ।
नेपाल प्रहरीका अनुसार सोमबार साँझ ३:३० बजेसम्मको विवरणअनुसार, २०० जनाले ज्यान गुमाएका छन् भने २६ जना अझै बेपत्ता छन्।
बाढी र पहिरोबाट १२७ जना घाइते भएका छन्, जसलाई विभिन्न स्थानबाट उद्धार गरी उपचार गराइँदैछ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ। काभ्रे, ललितपुर, सिन्धुलीलगायतका जिल्लाबाट हेलिकप्टरको सहयोगमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
प्रहरी, सेना, र अन्य उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा निरन्तर खटिएका छन्।
उद्धार कार्य कठिन भूगोल र मौसमका कारण चुनौतीपूर्ण भए पनि प्रयास जारी राखिएको छ।
सरकारले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न र राहत वितरण गर्न थप सहायता जुटाइरहेको छ। बाढीपहिरोले सडक, पुल, र आवासीय संरचनामा ठूलो क्षति पुर्याएको छ, जसका कारण कतिपय स्थानहरूमा यातायातसमेत अवरुद्ध भएको छ।
मौसमविद्हरूले आगामी दिनहरूमा मौसममा सुधार आउने संकेत गरे पनि जोखिम अझै पूर्ण रूपमा हटिसकेको छैन।