‘पूर्ण बहादुरको सारङ्गी’ले भिडियो प्रतियोगिता गर्दै
काठमाडौं। अभिनेता बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले विशेष भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। चलचित्रको निर्माण टिमले ‘मेरो “बा” को संघर्ष’ शीर्षकमा प्रतियोगिता गर्ने घोषणा गरेको हो, जसमा सहभागीहरुले आफ्ना बुवाको संघर्ष र महत्वलाई प्रस्तुत गर्दै भिडियो तयार पार्नुपर्नेछ।
प्रतिस्पर्धामा सहभागी हुन इच्छुकहरूले बुवाको संघर्षबारे आफ्नै शैलीमा कथा, कविता, धन्यवाद ज्ञापन, चिठ्ठी, वा मनोवादको माध्यमबाट भिडियो बनाउन सक्नेछन्। भिडियो पठाउनको लागि सामाजिक सञ्जालमा पोस्ट गर्दा बुवा र परिवारलाई मेन्सन गर्नुपर्नेछ। प्रतियोगितामा समावेश गरिएका सबै नियम र सर्तहरू अन्तिम विजेता चयनका लागि लागू गरिनेछ।
प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रो स्थानमा आउनेले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसका अलावा, उत्कृष्ट भिडियो पठाउने २० जनाले चलचित्रको दुई/दुई वटा टिकट निःशुल्क पाउनेछन्। सहभागीहरूले भिडियो कात्तिक ८ गतेसम्म पठाइसक्नुपर्नेछ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा बिजय बराल र प्रकाश सपूतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल** लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने, चलचित्रलाई सेभेन सिज इन्टरटेनमेन्टले नेपाल र अन्तर्राष्ट्रिय रूपमा वितरण गर्नेछ।