विश्व शान्तिमा थप योगदान गर्न तयार : प्रधानमन्त्री ओली
न्यू योर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा योगदान गर्दै आएको नेपालले विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न तयार रहेको बताएका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले महासभालाई सम्बोधन गर्दा सेना र प्रहरीको ठूलो योगदानकर्ताको रूपमा नेपालले आफ्नो भूमिका अझ सशक्त बनाउने प्रतिवद्धता ब्यक्त गरे।
प्रधानमन्त्रीले विश्व समुदायलाई सबैलाई समेटेर शान्ति, दिगो विकास, र मानव मर्यादाको उन्नतिको लागि एकजुट हुन आह्वान गरे । उनले नेपालको शान्ति प्रक्रियामा आएका आरोह-अवरोहलाई व्याख्या गर्दै आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट पारित गरेको जानकारी दिए।
उनले वर्तमान सरकार दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रूपान्तरणलाई अघि बढाउने र स्थायित्व कायम गर्न प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीले “सबैसँग मित्रता, कसैसँग शत्रुता छैन” भन्ने विश्वासमा आधारित नेपालको विदेश नीति सञ्चालन भइरहेको बताए। उनले पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, आन्तरिक मामिलामा अहस्तक्षेप, र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित भएर छिमेकी तथा अन्य राष्ट्रहरूसँग घनिष्ठ र रचनात्मक सम्बन्धलाई सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीले इजरायल–प्यालेस्टाइन द्वन्द्व शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा जोड दिए। साथै, उनले नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको जानकारी दिए। उनले नेपाल जलवायु परिवर्तनबाट प्रभावित भएकोले जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग राखे।
महासभामा प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, र राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत सहभागी छन्।