एसईई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार ल्याउन सरकारद्वारा नीतिगत पहलहरू सुरु भइसकेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एसईईको उत्तीर्ण प्रतिशतलाई ७० प्रतिशतसम्म पुर्याउने लक्ष्य राखिएको जनाए।
हाल एसईईमा लगभग ५० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भइरहेका छन्। प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा रहेको पछौटेपनलाई हटाउँदै अनलाइन कक्षामार्फत प्रमुख विषयहरूको शिक्षणलाई सशक्त बनाउने प्रयास भइरहेको उल्लेख गरे।
उनले भने, “एसईईको नतिजामा उल्लेख्य सुधार गर्न नीतिगत पहल भइसकेको छ। हामीसँग अब कुरा मात्रै गर्ने समय छैन। हाम्रो भूमिमा रहेको शिक्षा, ज्ञान र सभ्यता अब पछाडि रहन सक्दैन।” उनले इतिहासमा राणा र राजाहरूले शासनमा ध्यान दिएर शिक्षा विकासलाई पछि पारेको तर गणतन्त्र आइसकेपछि शिक्षालाई प्राथमिकता दिनुपर्ने सबैको दायित्व भएको बताए।
प्रधानमन्त्री ओलीले शिक्षाकर्मीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्षम नागरिक उत्पादन गर्न प्रेरित गर्दै उच्च शिक्षा, विद्यालय तह, र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने संस्थाहरूलाई पुरस्कार वितरण गरे।
यस वर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यसहित शिक्षा दिवस मनाइएको छ।