अमेरिकामा सम्पन्न इन्ट्रा कप भलिबल : पुरुष तर्फ रुकुम र महिला तर्फ बाल्टिमोरद्वारा उपाधि रक्षा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा सम्पन्न इन्ट्रा कप भलिबलमा पुरुष तर्फ रुकुम र महिला तर्फ बाल्टिमोरको बेलमन्ट मेरील्याण्डले उपाधि रक्षा गरेका छन्।
पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा पुरुष तर्फ साबिक विजेता रुकुमले सजानीलाई तीन दुई सेटले हरायो। रुकुम र सजानी दुवै टेक्ससका टिम हुन्।
बाह्र हजार अमेरिकी डलर नगद पुरस्कारको फाइनल भिडन्त रोचक बन्यो। शुरुवाती दुई सेट जितेको रुकुमले त्यस पछिका दुई सेटमा लय गुमाएको थियो।
पहिलो सेट २५-२२ ले जितेको रुकुमले दोस्रो सेटमा भने कडा मेहनत गर्नु परेको थियो। दोस्रो सेट रुकुमले ३४-३२ ले जित्दै खेलमा दुई शून्य सेटको अग्रता बनाएको थियो।
तर त्यस पछिका दुई सेट सजानीको पक्षमा गयो। सजानीले २५-१८ र २५-२२ ले जित्दै खेल बराबरी गरेको थियो।
नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान कैलाश दत्त भट्टको नेतृत्वमा रहेको सजानी पाँचौँ सेटमा भने निकै फितलो देखियो। प्रायशः खेलाडी थाकेका देखिन्थे। त्यसको फाइदा रुकुमले उठाउँदै फाइनल खेलको फाइनल सेट १५-८ ले जित्यो।
दोस्रो स्थानमा रोकिएको सजानीले आठ हजार अमेरिकी डलरमा चित्त बुझायो।
सहकारी छानबिन विशेष समितिको प्रतिवेदनमा रवि दोषी देखिए !
महिला तर्फको फाइनल खेल पनि प्रतिस्पर्धी बन्यो। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा बाल्टिमोरको बेलमन्टले बीवाईएससी मिनेसोटा विरुद्ध ३-२ सेटको नतिजा निकालेको थियो। गत संस्करणमा पनि बाल्टिमोरले बीवाईएससीलाई नै हराएको थियो।
उपाधि सँगै बाल्टिमोरले नौ हजार अमेरिकी डलर नगद पुरस्कार पायो। दोस्रो भएको बीवाईएससीले ६ हजार भयो।
रुकुम र बाल्टिमोर अब सुनको ट्रफी जित्न एक उपाधिबाट टाढा छन्। प्रतियोगिताको नियमावली अनुसार लगातार तीन पटक उपाधि जित्ने टिमले सुनको ट्रफी घर लैजान पाउने छन्।
इन्ट्रा फाउन्डेशनद्वारा आयोजित प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ आठ टिम रहेका थिए। प्रतियोगिता शुक्रवार देखि शुरु भएको थियो।
प्रतियोगिताका विजेतालाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए।
र यो पनि…