नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु
जापानिज इन्सेफलाइटिसको सङ्क्रमणले यसपालि १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ६१ जनामा यो सङ्क्रमण पुष्टि भएको छ।
यसपालि सङ्क्रमणको दर घटेको भए पनि मृत्यु दर उच्च रहेको छ। अघिल्लो वर्ष एक सय सात जनामा सङ्क्रमण पुष्टि भएकोमा सात जनाको मृत्यु भएको थियो।
नेपालमा भदौको मध्यदेखि असोजको मध्यसम्म जापानिज इन्सेफलाइटिसको उच्च जोखिम रहेको मानिन्छ। यो भाइरस क्युलेक्स लामखुट्टेबाट फैलिन्छ, जुन बिहान र बेलुका सक्रिय हुन्छ। सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टेले मानिसमा यो सङ्क्रमण फैलाउँछ। जापानिज इन्सेफलाइटिस भाइरस डेङ्गी, येलो फिभर, र वेस्ट नाइल भाइरसहरूको वर्गमा पर्छ।
यो रोगका सामान्य लक्षणमा उच्च ज्वरो, मुर्छा, घाँटी अर्रो हुनु, बोल्न नसक्ने अवस्था, अनियन्त्रित कामिना, मांसपेशी कमजोरी, र पक्षाघात सामेल छन्। यो रोगको विशेष उपचार छैन र लक्षण अनुसार उपचार गरिन्छ। प्रायः यो रोग १५ वर्षमुनिका बालबालिकामा देखिन्छ।
सरकारले सन् २०१६ देखि १२ महिना उमेरका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप निःशुल्क प्रदान गर्दै आएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार खोप लगाएमा इन्सेफलाइटिसको सङ्क्रमण भए पनि जटिलता र मृत्युको सम्भावना कम हुने बताइएको छ। उनले सबैलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरेका छन्।