पहिचानको आधार के ?
गण्डकीपुत्र
आदिकाल देखि संसारका बौद्धिकहरूको टाउको दुखाइको एउटा विषय छ पहिचान । मानिस कबिला युग देखिनै अथवा ढुङ्गे युग देखि नै एक अर्का समूहसँग लड्दै आएको विषय नै यो हाम्रो जाती वा समूहको होइन भनेरै हो । जहाँ बहुसङ्ख्यकले अल्पसंख्यक माथि थिचोमिचो गर्छ त्यहाँ झन् बढी यो विषयले प्रवेश पाउँछ ।
एउटै जाती भित्र पनि तँ र म को स्थिति उत्पन्न हुन्छ र भएको छ । एउटै पुस्ताको सन्तान अलि पछिल्लो पीढीमा झरेपछि हामी जेठाका सन्तान ती माइला र साइँलाका सन्तान भनेर विभाजित भएका उदाहरण प्रसस्त भेटिन्छन् । राज्य नै अलग, परिवेश नै अलग भएपछि यो विभाजन स्वाभाविक रूपमा गहिरो हुने नै भयो । चाहे बर्मा होस, चाहे भुटान होस चाहे मेघालय, आसाम र देहरादुन होस, चाहे दार्जिलिङ या सिक्किम यहाँ नेपाली जातीको बाक्लो बसोबास छ । जहाँ बसे पनि पहिचानको आगो आफ्नै हिसाबले बलि रहेको छ, र यो पहिचानको आगो युरोप र अमेरिका सम्म फैलिएको छ ।
पहिचानको लडाई फरक फरक किसिमले भएको पाइन्छ । देशभित्र अस्तित्वको पहिचान, जाती, भाषा र संस्कृतिको पहिचानलाई लिएर देशभित्रै आन्दोलनहरू भएका छन् । नेपालमा ६२/६३ को आन्दोलन पछि तराईमा फैलिएको मधेसवादी आन्दोलन, यसले खोजेको निष्कर्ष पनि भाषा र संस्कृतिकै लागि थियो । अहिले पनि प्रदेशको नामा करणमा आफ्नो जातिको पहिचान भएन भनेर नेपालमा कहिलेकाहीँ आन्दोलन हुने गरेको छ ।
तराईमा बर्सौँ देखि बसोबास गर्दै आएका तराइवासीले आफूहरू भाषिक हिसाबले र सामाजिक हिसाबले अपमानित भएको महसुस गरे । राष्ट्रभाषाको नाममा जबरजस्त नेपाली भाषा लादियो । राष्ट्रिय पोसाकको नाममा दौरा सुरुवाल अनिवार्य गरियो । फलस्वरूप तराई आन्दोलनको बेला पहाडी मूलका नागरिक तराईबाट भाग्न बाध्य पारिए । शासकले जहिले पनि आफूलाई केन्द्रमा राखेर शासन गर्ने भएकोले उनीहरूले आफ्नो प्रतिकुल हुने कुनै पनि काम गर्न चाहँदैनन् ।
नेपाल आउँदा र जाँदा कति डलर बोक्न पाइन्छ?
भुटानबाट नेपालीमुलका नागरिक धपाइनु शासकले आफ्नो हाँक हैकम कमजोर हुने देखेर नै हो । एक्काइसौ शताब्दीको यो समयमा मानव अधिकार र स्वतन्त्रताको चाहना राख्नु नाजायज माग थिएन तर शासक आफ्ना नागरिकलाई देश निकाला गर्न तयार भयो तर जनताका मौलिक हक अधिकार दिन तयार भएन र भुटानबाट त्यत्रो सङ्ख्यामा नागरिकहरू विस्थापित हुन पुगे ।
अर्को तर्फ भारत भुटानमा आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ । भुटानलाई आफ्नो पन्जाबाट बाहिर गएर चीनको नजिक भए उसलाई अर्को झन्झट आइपर्ने र आफ्नो स्थिति या हैकम बादी चरित्र सार्क मुलुकमा कमजोर बन्ने भय सधैँ रहने डर छ । भारत भुटानको हरेक कदमको पक्षमा सधैँ नजानिँदो हिसाबले साथ दिइरहेको हुन्छ । त्यसको ज्वलन्त उदाहरण भुटानबाट निर्वासित भएका जनतालाई भुटान फर्काउन पहल गर्नुको साटो नेपाल भारत सीमा स्थित मेची पुलमा ल्याएर अलपत्र छोडिदिनु पनि हो । नेपाल सरकारले डटेर त्यसको प्रतिवाद गर्न सकेन । नेपालका शासकहरूको आफ्नै राजनीतिक स्वार्थ वा भारतले नेपाल माथि हेपाहा र बल मिचाई गर्नु अर्को कारण थियो । यसरी कतिपय मानिसहरूको चाहना हुँदाहुँदै पनि नेपालले आफ्ना सहोदर बन्धुलाई स्विकारेर नागरिक सरह हकअधिकार दिन नसक्नु पनि राजनैतिक कारण थियो ।
भारतले भुटानबाट निर्वासित भएका नेपाली मूलका मानिसलाई मेची पुलमा ल्याएर छोड्नु पनि उसको राजनैतिक स्वार्थ नै थियो । भारत चाहन्थ्यो यी मानिस नेपाल पसुन् र त्यहाँ उनीहरूको पक्षमा नेपालको नागरिकता दिलाउने जनमत बनोस् । यसो गर्दा झापा देखि कञ्चनपुर सम्मका तराई भागमा भारतबाट काम गर्न नेपाल छिरेको दशौं लाख भारतीयलाई नागरिकता दिलाउन सरकारलाई दबाब दिन सजिलो हुने थियो ।
अस्ति आएका नेपाली भाषी भुटानीलाई नेपाली भनेर नागरिकता दिने बर्षौ देखि बसोबास गरेका तराई मूलका मानिसलाई विदेशी भनेर नागरिकता नदिने । यो मामलामा भारतको चालबाजी सफल हुन सकेन । भुटानबाट निर्वासित भएका मानिसले नेपालको नागरिकता लिनुमा भन्दा भुटान पुनः फर्कने कुरालाई महत्त्व दिए । त्यो राष्ट्रियता प्रतिको उनीहरूको अटुट आस्था र देश प्रेम थियो । यता नेपाल भित्र पनि यो आवाज जब्बर रूपमा उठ्न सकेन । अहिले पनि भुटान फर्कन पाउने आशामा शिविरमा बस्नेको सङ्ख्या ७/८ हजारको हाराहारीमा कायम छ ।
शेष घलेको अकर्मण्यताले झनै अचकल्टिएको एनआरएनए
जनस्तरमा नेपाली जाती एक आपसमा सम्बन्ध र साइनोले बाँधिएका छन् । कुनै न कुनै रूपमा पारिवारिक सम्बन्ध स्थापित गरेर बसेका छन् । उनीहरू बिचको हार्दिकता अटुट छ । यो सम्बन्धका बिचमा नचाहिँदो किचलो झिक्नु मूर्खता बाहेक केही होइन । धर्म, संस्कृति, चाडबाड, विवाह, व्रतबन्ध, ल्होछार, साकेला, देखि पितृ कार्य सम्म सबैको आ-आफ्नो जाती अनुसार एउटै भएपछि फरक चैँ के ? यो या त्यो भूगोल भनेर एक आपसमा फाटो र विभाजन ल्याउनु भन्दा जडमा पुगेर एकताबद्ध रूपमा अघि बढ्नु राम्रो हुने कुरामा कसैको दुई मत नरहला ।
संसारमा शासकहरू आफ्नो अनुकूलताको राजनीति गर्ने भएकोले यिनमा जन चाहना बुझ्ने इच्छा हुन्न। यिनीहरूले जन भावना बुझेका हुन्नन् जसरी नेपाल सरकार र अन्य देशका शासकले बुझेनन् र त्यस ठाउँमा जन चाहना विपरीत काम गरिरहे । निर्वासित हुनुपर्ने अवस्था सिर्जना गर्ने शासकको स्वार्थी मनोवृत्ति नै हो । निर्वासित भएर शरणमा आएका जन साधारणलाई सम्मानित नागरिकको दर्जा दिएर नराख्नु पनि शासकको नालायकी या लाचारी नै हो । नेपालमा लामो समय कष्टकर जीवन बिताएर जसरी भुटानबाट निर्वासित जन साधारणले समय बिताउनु पर्यो परोक्ष रूपमा त्यहाँ पनि कुनै न कुनै रूपले राजनीति र सत्ता नै बाधक थियो ।
सिक्किम कुनै समय स्वतन्त्र राज्य थियो । त्यहाँ बसोबास गर्नेहरूलाई सिक्किमे नागरिक भनिन्थ्यो। उनीहरूको मातृभूमि सिक्किम थियो । सन् १९७५ मा सिक्किम भारतमा विलय भयो । त्यसपछि सिक्किमका नागरिक भारतीय नागरिक भए । अब उनीहरूको मातृभूमि फेरिएर भारत भयो । तर सिक्किमले मान्दै आएका चाडबाड, संस्कृति र भाषा फेरिएन । एउटा कागतमा लेखिएको आधारमा राष्ट्रियता फेरिने रहेछ तर संस्कृति फेर्न त नसकिने रहेछ । भाषा फेर्न त नसकिने रहेछ । जसरी हामी अमेरिकाको नागरिकता लिएर अमेरिकन नागरिक भयौँ । तर हामी सांस्कृतिक रूपमा उहीँ छौ । जे हामीले मान्दै आएका छौँ ।
अबको नेपाली जातिले राष्ट्रियताको परिभाषा नयाँ कोण बाट परिभाषित गर्नु पर्ने अवस्था आएको छ । के नेपालबाट वा अन्यत्र बाट आएका नेपाली जातीले त्यही देशको राष्ट्रियता धानी रहन सक्लान् ? जस्तो एउटा प्रवासी नेपाली जो नेपाल बाट आएर अमेरिकामा बसेको छ । उ यो देशको सांसद भयो भने नेपालको झन्डा, नेपालको राष्ट्रिय गान लिएर भित्र पस्न सक्छ ? तर उ आफ्ना मौलिक सांस्कृतिक कुरा लिएर पस्न सक्छ, निधारको रातो टीका, काँधमा जनै, शिरको टोपी,आफ्नो जातीय भेषभुषा । आफ्ना चाडपर्व मान्ने कुरामा उ स्वतन्त्र छ । एकापसमा आफ्नो भाषा बोल्न स्वतन्त्र छ । कतिपय सन्दर्भमा आफ्नो कुरा प्रस्ट्याउन दोभासे राख्न पाउने अधिकार प्राप्त गर्न सक्छ ।
आफ्नो मातृभूमि या पितृभूमि उसले राख्न पाउने भनेको उसको भाषिक र सांस्कृतिक पहिचान मात्र हो । यस अर्थमा अबको राष्ट्रियता भनेको सांस्कृतिक राष्ट्रियता नै हो । म फलानो देशको या म फलानो भूमिको भनेर रेखा कोरेर विभाजित हुनेकी भाषा र संस्कृतिलाई एकताको मानक मानेर एकताबद्ध भै अगाडि बढ्ने ? अब प्रत्येक एकै भाषा र संस्कृति मान्नेहरूले सोच्ने बेला आएको छ । जब कुनै व्यक्ति कुनै देशको नागरिक हुन्छ पहिले ऊसँग देश जोडिएर आउँछ । जस्तो नेपाली नेपालमा भए नेपाली नागरिक हो भने नेपाल बाहिर नेपाली जाती हो । नेपालबाट अमेरिका आएर यहीँको नागरिकता लिएर बसेको नेपाली, नेपाली नागरिक होइन । उ नेपाली भाषी व्यक्ति हो । जस्तो बर्मेली, भारतीय, अमेरिकन, भुटानी आदि ।
संस्कृति र भाषाको सन्दर्भमा नेपाली भाषी भारतीय, नेपाली भाषी बर्मेली, नेपाली भाषी भुटानी, नेपाली भाषी नेपाली, भन्ने गरिन्छ। यसले पनि प्रस्ट पार्छ कि भाषा र संस्कृतिले अपनत्वको भावना पैदा गर्छ । तसर्थ अबको नेपाली जाति भाषा र संस्कृति सङ्ग जोडिएर एकताबद्ध रूपमा आउनु पर्छ ।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
हाल :- अमेरिका
र यो पनि…