नेपाली भाषाको कथा
गण्डकीपुत्र
नेपाली भाषाको विकास चरणबद्ध रूपमा भएको पाइन्छ । भाषाले मानिसका मनोभाव, उद्वेग, प्रेम, घृणा, आक्रोसलाई प्रकट गर्ने र अर्कालाई मनमा लागेका कुरा बुझाउने काम गर्छ । विश्वमा अनेक थरी भाषा बोलिन्छन् । तिनको आ-आफ्नै महत्त्व छ । कहिलेकाहीँ शक्तिशाली भाषाले कमजोर भाषालाई लोप गराउने काम पनि गर्दछ । कुनै कुनै राष्ट्रले एउटा मात्र भाषाको संरक्षण गर्दा अन्य भाषा बिस्तारै लोप भएर गएका पनि छन् । एउटै भाषा पनि स्थान विशेषले गर्दा फरक लवजमा बोलिन्छ । नेपालको पूर्वी भागमा बोलिने , मध्य भागमा बोलिने र पश्चिम भागमा बोलिने नेपाली भाषाको लवज फरक पाइन्छ । त्यस्तै नेपालमा बोलिने , पश्चिम बङ्गालको दार्जिलिङ , सिक्किम तिर बोलिने, आषाम तिर बोलिने र भुटान तिर बोलिने नेपाली भाषा एउटै भए पनि लवज फरक फरक पाइन्छ । यसरी जन बोली फरक फरक भए पनि लेख्यमा भने एकरूपता नै छ ।
विभिन्न देशमा भाषाको संरक्षणमा धेरै कामहरू भएका छन् । त्यस्तै नेपालमा नेपाली भाषाको विकास र संरक्षण गर्ने उद्देश्य राखेर सरकारी स्तरबाटै प्रज्ञाप्रतिष्ठान जस्तो संस्था स्थापना गरेर काम भई रहेको छ । भाषा देश र जातिको पहिचान दिलाउने माध्यम पनि हो । पहिले नेपालमा नेपाली भाषालाई राष्ट्रभाषा भनेर यही भाषाको विकासमा मात्र जोड दिइयो । गणतन्त्र नेपालको घोषणा पछि मात्र अन्य भाषालाई राष्ट्रिय भाषाको दर्जा दिएर ती भाषाको पठनपाठन नेपालमा सुरु गरिएको छ । यसरी भाषाको विकास र बिस्तारमा कामहरू हुने गरेका छन् । भारतमा पनि लामो संघर्ष र प्रयासपछि नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिइएको छ ।
सार्क मुलुकका नेपाल, भारत, भुटान, बर्मा लगायत अमेरिका, क्यानडा, थाइल्यान्ड, बेलायतमा नेपाली भाषीको सङ्ख्या उल्लेखनीय रूपमा पाइन्छ । नेपाली भाषाले भारत बाहेकका देशमा राष्ट्रिय भाषाको मान्यता पाएको छैन । खाडी मुलुक कतार, मलेसिया, साउदी अरब, जस्ता देशहरूमा नेपालबाट अत्यधिक मानिस रोजगारीका लागि जाने भएकाले ती देशमा नेपाली भाषा बोल्नेको सङ्ख्या प्रशस्त रहेको छ । यसरी नेपाली भाषा विश्वव्यापी भई रहेको छ ।
नेपाली भाषा बोल्ने मानिस जहाँ जहाँ पुगे त्यहीँ उनीहरूले नेपाली भाषा संरक्षण गर्ने अभियानका साथ आफ्ना बालबालिकाहरूलाई नेपाली कक्षा सञ्चालन गरी आफ्नो भाषामा पठनपाठन सुरु गरे । भारतका विभिन्न युनिभर्सिटी मा नेपाली भाषाको उच्च शिक्षा अध्ययन गर्ने सुविधा छ । आफ्नै तरिकाले कक्षाहरू सञ्चालन गरी अध्यापन गर्ने नेपालीहरूको बसोबास भएका देशहरूमा भुटान, बर्मा, थाइल्यान्ड, बेलायत, अमेरिका, क्यानडा, जर्मन, अष्ट्रेलिया लगायतका देशहरू पर्छन् । नेपाली भाषाको विकास र बिस्तारमा भुटान र बर्माका नेपाली जातिको ठुलो योगदान छ । अन्य देशका विद्यार्थीहरू पनि नेपाली भाषाको सोध र अनुसन्धान गर्न लागेको पाइन्छ । यति भएर पनि नेपाली भाषा बिस्तारै सङ्कटमा पर्दै गै रहेको छ ।
भाषालाई अहिलेको समय सुहाउँदो प्रविधि मैत्री बनाउन नसके नेपाली भाषा कालान्तरमा लोप हुने सम्भावना रहन्छ । तसर्थ पनि भाषाको समुन्नत विकासका लागि संयुक्त प्रयास र प्रयत्नको आवश्यकता छ । नेपाली मातृ भाषी जो जहाँ भए पनि एकजुट हुन जरुरी छ । नेपाल, भारत , भुटान , बर्मा , अमेरिका , क्यानडा , अष्ट्रेलिया , जर्मनी या जुनसुकै मुलुकमा बसे पनि भाषामा एकरूपता ल्याउन आवश्यक काम गर्नु पर्ने छ । हामीले भाषालाई राजनीति भन्दा अलग राखेर काम गर्न सक्यौँ भने मात्र पनि धेरै काम गर्न सकिन्छ । राजनीतिले मानिस र समूहलाई विभाजित गर्छ भने भाषा र संस्कृतिले मानिसलाई नजिक ल्याउँछ । यस कारण पनि जातीय एकता कायम राख्न भाषाको विकास जरुरी छ ।
नेपाली भाषा नेपालको मुख्य र सरकारी भाषा भएकोले यो भाषाको विकास र बिस्तारमा पहिलो भूमिका नेपाल र नेपाल सरकारको हुनुपर्छ । यसको अर्थ अरूले चासो र चिन्ता गर्नु पर्दैन भनेको होइन । बढी दाइत्व नेपाल सरकार , नेपाल प्रज्ञा प्रतिष्ठान , नेपाली शिक्षा विकास समिति , पाठ्यक्रम विकास केन्द्र जस्ता संस्थाको हुनुपर्छ । कतिपय सन्दर्भमा नेपाली भाषाको पठनपाठन अन्य देशका शैक्षिक केन्द्रहरूमा गर्न गराउन कूटनीतिक भूमिकाको पनि महत्त्व हुन सक्छ ।
अर्को कुरा संसार भरी छरिएर रहेका नेपाली भाषी विद्यार्थीका लागि सबैलाई स्वीकार हुने पाठ्यक्रमको विकास गरी सम्बन्धित देशका दूतावास मार्फत पुस्तक उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ । र ती देशमा नेपाली विषयमा उत्तीर्ण भएका विद्यार्थीहरूलाई नेपालको शिक्षा विभागले जुन कक्षा उत्तीर्ण गरेका छन् तिनलाई त्यही कक्षाको आधिकारिक मान्यता दिने नियम बनाउनु पर्छ ।
यसरी एउटै पाठ्यक्रम निर्माण गर्दा विद्यार्थीहरू बिच सम्पर्क हुने, नेपाली भाषा थप अध्ययन गर्न इच्छुकहरू नेपालमा अध्ययन गर्न आउने । सांस्कृतिक पर्यटनको प्रवर्द्धन हुने , नेपालको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान हुने , नेपाल प्रति गौरव अनुभूति हुने , विभिन्न देशमा छरिएर रहेका नेपालीहरूको नेपालसँग सम्बन्ध स्थापित हुने र नेपालीहरूको अन्तर्राष्ट्रिय एकता कायम रहने जस्ता महत्त्वपूर्ण उपलब्धि हुनेछन् ।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
हाल :- अमेरिका
र यो पनि..