माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक सम्पन्न
काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा आज सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकलाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरेपछि बैठक समापन भयो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरे।
बैठकमा हिजो ४६ जना सहभागी भएका थिए भने आज थप दुई जना गरी कुल ४८ जनाले आफ्नो धारणा राखे। बैठकमा केन्द्रीय पदाधिकारीहरू, प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो। माओवादी केन्द्रले आगामी केन्द्रीय समितिको बैठकको तयारीस्वरूप विभिन्न प्रदेशहरूमा परामर्श बैठक आयोजना गरिरहेको छ।
आरके समूह सर्वोच्चमा, केसी र घले विपक्षी
मधेश प्रदेशको बैठक सम्पन्न गरेसँगै माओवादी केन्द्रले सातवटै भूगोलका प्रदेशहरूको बैठक पूरा गरेको छ। यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेशका साथै केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका परामर्श बैठकहरू सम्पन्न भएका थिए।
‘हिंसा’ शब्दबारे सभामुखको रुलिङपछि माओवादी आक्रोशित, बैठक स्थगित
अब पार्टी सल्लाहकार समिति, ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास प्रदेशको बैठक सम्पन्न गरी, केन्द्रीय समितिको बैठकको तयारीमा जुट्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रमहरू तय गर्ने तयारीमा पार्टी रहेको छ।